देउवालाई राजनीतिबाट रोक्नुपर्ने प्रस्तावप्रति ससंकित, भेटिएन चुनावी प्रक्रिया रोक्ने बिन्दु
काठमाडौं : नेपाली कांग्रेसमा सहमति जुटाउन मंगलबार दिनभरको प्रयास विफल भएको छ। सहमतिको गाँठो अन्तरिम नेतृत्व परिवर्तनमा गएर अडकएको छ।
विशेष महाधिवेशनको स्वामित्व लिने र त्यसले गरेका निर्णय कार्यान्वयन गर्ने विषयमा संस्थापन पक्ष केही लचक देखिएको छ। तत्काल नेतृत्व फेर्ने प्रस्तावमा सहमति हुन सकेको छैन। यो विषयलाई उसले विधानविपरीत र कोही व्यक्तिको ‘इन्ट्रेस’मा नेतृत्व परिवर्तन नहुने भनेको छ।
विशेष महाधिवेशनलाई भृकुटीमण्डपको भेला भनेर संस्थापन पक्षले एजेन्डा नै बनाउन नखोजे पनि पार्टी फुटको अवस्था सिर्जना भएको छ। दुई दिनमा सक्ने भनिएको विशेष महाधिवेशन विभाजनमा जान नदिनकै लागि लम्बिरहेको छ। विशेष महाधिवेशन पक्ष संस्थापन पक्षलाई गलाएर जाने रणनीतिमा छ।
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदन पारित गरेको छ। दुई महामन्त्रीद्वय थापा र शर्माले अभैm बलियो टिम बनेको संकेत दिएका छन्। महामन्त्री शर्माले अर्का महामन्त्री थापालाई महाधिवेशनको मञ्चबाट अबको पार्टी सभापति, अनि प्रधानमन्त्रीको उम्मेदवार भन्दै घोषणा गरिसकेका छन्। अब मंगलबार रातभरि र बुधबार पहिलो सत्रसम्ममा सहमति जुटेन भने पार्टीले फरकरूप लिने करिब तय छ। आगामी वैशाखसम्म १५औं महाधिवेशन नहुँदासम्मका लागि अन्तरिम नेतृत्व गठन गर्ने विषयमै सहमति जुट्न सकेको छैन। अन्तरिम नेतृत्वको विषयमा कुरा नमिल्दा अन्य विषय पनि अड्किएका छन्।
वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिने र त्यसले गरेका निर्णय कार्यान्वयन गर्ने विषयमा संस्थापन पक्ष स्पष्ट देखिएको छ। संस्थापन पक्षका एक नेता भन्छन्, ‘तत्काल नेतृत्व फेर्ने प्रस्तावमा भने सहमत भएको छैन। प्रयास गरेका छौं।’ संस्थापन पक्षका अनुसार आगामी
वैशाखसम्म १५औं महाधिवेशन नहुँदासम्मका लागि अन्तरिम नेतृत्व गठन गर्ने विषयमै सहमति जुट्न सकेको छैन।
अन्तरिम नेतृत्वको विषयमा कुरा नमिल्दा अन्य विषय पनि अड्किएका ती नेताले भने, ‘सभापतिजी उहाँको क्षेत्रमा चुनाव लड्न नपाउने र अब राजनीतिबाट निस्क्रिय बस्नुपर्ने भन्ने उहाँहरूको कुरा छ। यो कुरा कसरी मिल्छ ? निर्वाचन लड्ने नलड्ने भन्ने कुरा सभापतिजीले भन्ने कुरा हो। त्यो उहाँको व्यक्तिगत अधिकार र इच्छाको कुरा हो।’ सहमति भएन भने के हुन्छ ? भन्ने प्रश्नमा उनले भने ‘सहमति नभएको हकमा बाटो स्पष्ट छ। आआफ्नो बाटो तय हुन्छ।’
विशेष महाधिवेशन पक्षधर नेताहरूले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने पहिलो सर्त अघिसारेका छन्। विशेष महाधिवेशनले गरेका निर्णय तत्काल कार्यान्वयनमा लैजानुपर्ने, नियमित महाधिवेशन नहुँदासम्म नयाँ अन्तरिम कार्यसमिति बनाएर अघि बढ्ने र नेतृत्वका विषयमा खुला प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव उनीहरूको छ।
- विशेष महाधिवेशनको स्वामित्व लिने र त्यसले गरेका निर्णय कार्यान्वयन गर्ने विषयमा संस्थापन पक्षले केही लचकता देखाएको छ।
- दुई दिनमा सक्ने भनिएको विशेष महाधिवेशन पार्टी विभाजनमा जान नदिनकै लागि लम्बिरहेको छ। विशेष महाधिवेशन पक्ष संस्थापन पक्षलाई गलाएर जाने रणनीतिमा छ।
- अब सहमति जुटेन भने पार्टीले फरकरूप लिने करिब करिब तय देखिन्छ।
वार्ता सहमतिमा नपुगे नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने देखिएको छ भने संस्थापन पक्ष केन्द्रीय कार्यसमितिबाट कारबाहीको निर्णय गर्ने तयारीमा रहेको बताइएको छ। वार्तामा सहभागी अर्का नेता केन्द्रीय सदस्य प्रदीप पौडेलले सहमति अधिकांश मिलेको भन्दै अगाडि भने, ‘हामीले चाहेको मूल एजेन्डामा सहमति भएको छैन। हाम्रो तहमा कुरा मिलेन। संस्थापन पक्षका नेताहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग थप छलफल गर्न जानुभएको छ। उहाँहरूसँगको छलफलबाट निष्कर्ष निष्कन्छ। हाम्रो तहबाट वार्तामा बसिसक्यौं। अब महामन्त्रीजीहरूनै वार्तामा बस्नुहुन्छ।’
वार्ता सहमतिमा पुग्यो भने निर्वाचन प्रक्रिया स्थगित हुने विशेष पक्षधरले स्पष्ट पारिसकेको छ। रमेश लेखक, संस्थापन पक्षबाट वार्ता टोली सदस्य मिल्ने विन्दुमा छलफल भइरहेको छ। पार्टी नफुटोस् भन्ने चिन्ता हामीलाई मात्र हैन सबैलाई छ। अब महामन्त्रीजी र कार्यवाहक अभापति अनि सभापतिजी वार्तामा बस्नुहुन्छ। निकास निकाल्नुको विकल्प छैन। दुवै पक्षबाट लचकता अपनाउने प्रयास भइरहेको छ।
विशेष महाधिवेशन पक्षका तीन बटमलाइन
- पहिलो, सभापति शेरबहादुर देउवाले पार्टीको कार्यकारी भूमिका त्यागेर पूर्णबहादुर खड्कालाई जेठसम्म कार्यवाहक दिनुपर्नेछ।
- दोस्रो, प्रतिनिधिसभाको उम्मेदवारी दर्तादेखि पार्टीका अन्य काममा सभापति देउवाको हस्ताक्षर चलाउन पाइने छैन र उनले आगामी चुनाव पनि नलड्ने घोषणा गर्नुपर्नेछ।
- तेस्रो, विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्दै त्यहाँबाट पारित दस्तावेज कायार्न्वयन गर्नुपर्नेछ।
प्रतिवेदन पास गर्दै महामन्त्रीद्वयले भने : भागबन्डाको भ्रम छरियो
कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन्। पदको बार्गेनिङ गरियो भन्दै भ्रम छरियो तर पदका लागि विशेष महाधिवेशन आह्वान नगरिएको भन्दै उनले अगाडि भने, ‘हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन। पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो। यो विद्रोह हो। प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो। मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो।
कांग्रेसभित्र गिरोहका गुटहरू बनेका कारण कांग्रेस बदल्न जरुरी रहेको भन्दै उनले भने, ‘पार्टी केका लागि भन्दा समानताका लागि, देशको लागि र
बाहिर गाउँमा बसेका आम मानिसका लागि हो भन्ने बनाउनु अहिलेको आवश्यकता रहेको हो।’
उनले बाहिरको हल्लाको पछि आफू नलागेको र प्रतिनिधिहरूलाई पनि नलाग्न आग्रह गर्दै भने, ‘अहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही टिकटका लागि कोही भागबन्डाका लागि भनेका छन्। तर म हल्लाको पछि लागेको छैन। तपाईंहरू पनि नलाग्नुस्। हलले गरेको अनुमोदन मात्रै हामीले मान्छौं, बाहिरको होइन। विशेष अधिवेशनले विश्व गगनलाई सभापति चाहिएको छैन। तर, नीति र नेतृत्व परिवर्तन चाहिएको छ।’ उनले विशेष महाधिवेशनलाई उपलब्धिपूर्ण तरिकाले टुंग्याउनुपर्ने भन्दै ‘तपार्इं हामी यति धेरै टाढाबाट आएका छौं। अब हलले एउटा उपलब्धिपूर्ण तरिकाले आफ्नो अधिकार सुनिश्चित गर्न म आग्रह गर्छु।’
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले संस्थापन पक्षले भाग विशेष पक्षधरबाट भागको बार्गेनिङ गरेको भन्ने समाचारहरूमा देखिएको भन्दै अगाडि भने, ‘हाम्रो उद्देश्यमा हामी स्पष्ट छौं। हामी सुधारिएको सिंगो कांग्रेस लिएर अगाडि जान चाहान्छौं।’
शर्माले विशेष महाधिवेशनको मुलुकको प्रधानमन्त्री बन्ने गरी अर्का महामन्त्री गगनकुमार थापालाई अघि सार्ने बताएका छन्। बन्दसत्रमा बोल्दै शर्माले आगामी फागुन २१ गतेको निर्वाचनका लागि प्रधानमन्त्री बन्ने गरी थापालाई अघि सार्ने विषयलाई अगाडि सार्दै भने, ‘कांग्रेस एउटा नवीन ऊर्जा लिएर आउँदैछ। नेपाली कांग्रेस पार्टी बदलिएर आउँदैछ। बलियो नेतृत्व लिएर आउँदैछ। राम्रो दृष्टिकोण लिएर आउँदैछ। नेपाली कांग्रेस पार्टी फागुन २१ गते हार्दिक ढंगले लोकतान्त्रिक ढंगले स्वस्थ्य ढंगले प्रतिस्पर्धा गरौं भनेर आउँदैछ। र नेपाली कांग्रेस पार्र्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्ने गरी गगन थापालाई अघिल्लतिर लिएर आउँदै छौं।’
पार्टी एकतामै आशावादी संस्थापन पक्षका नेता
कांग्रेसका नेता श्यामकुमार घिमिरेले संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीचको वार्ता सहमति उन्मुख रहेको बताए। उनले बुधबार बिहानी सँगै सिंगो पार्टी सहमतिको बिन्दुमा पुग्ने दाबी गरे। वार्ता चलिरहेकाले मंगलबारको केन्द्रीय समिति बैठक पनि चल्न सकेन।
उनले भने, ‘विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया पनि स्थगित भएको सुनेका छौं। त्यसैले वार्ताले आकार लिन्छ। रातभरिमा सहमतिको बिन्दुमा पुग्छ। त्यस्तै अर्का नेता एनपी साउदले पार्टीलाई एकताबद्ध गर्ने प्रयास स्वरुप वार्ता भइरहेको बताए। उनले दुई पक्षको छलफल चलिरहेको र पार्टीलाई फुटबाट जोगाउने प्रयास भइरहेको बताए। 
छलफल टुंगिएपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने उनले बताए। अधिकांश विषयमा दुवै पक्ष सहमतिनजिक पुगेको र केही विषयमा अझै पनि छलफल जारी रहेको बताए।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी नेतृत्वका कारण कांग्रेस विभाजन नहुने प्रतिक्रिया दिएका छन्। ‘पार्टी नेतृत्व र हाम्रो कारण पार्टी फुट्दैन। त्यो पार्टीको हितमा छैन। नेपाली जनता र नेपालको हितमा छैन। हामी अत्यन्तै लचकताका साथ पार्टी एकजुट बनाउन लागिरहेका छौं। हाम्रो कारणबाट
पार्टी कमजोर वा विभाजन हुने कुरा हुँदैन।’ महामन्त्रीहरूको विषयमा महतले भने, ‘विशेष महाधिवेशन पक्षधर पनि उदारताका साथ सहमतिमा आउनुपर्छ। हामी जसरी उदारताका साथ प्रस्तुत भइरहेका छौं, उनीहरू पनि पार्टी एकताका लागि सहमतिमा आउनुप¥यो।’
एमालेसँग चुनावी गठबन्धन नगर्नेमा सहमति
कांग्रेसले आगामी निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने विषयमा दुवै पक्षबीचमा सहमति मिलेको छ। पार्टी संस्थापन समूह र विशेष महाधिवेशनका वार्ता विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रिया सुरु गरिसकेपछि संस्थापन समूह वार्ताका लागि तयार भएको थियो।
सोहीअनुसार अन्य विषयमा वार्ता अगाडि बढेको छ। वार्तामा सहभागी एक नेताले भने, ‘नेकपा एमालेसँग चुनावी गठबन्धन नगर्ने भन्ने विषयमा पनि छलफल भयो। यो विषय पनि सकारात्मक भएको छ संस्थापन समूह गठबन्धन नगर्ने विषयमा लचिलो भएको छ।’
तीनै पक्षको टोलीको २ दिनको संघर्ष
संस्थापन, नेता डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच दिउँसो ३ बजेबाट दोस्रो चरणको वार्ता भएको थियो। मंगलबार बिहान साढे
८ बजेबाट साढे ११ बजेसम्म लाजिम्पाटमा पार्टीभित्रको तीन पक्षका ८ जना नेताबीच संवाद भएको थियो।
त्यसमा सहमति नजुटेपछि। दिउँसो २ बजे फेरि बैठक बस्यो। र साँझ ७ बजे देउवा निवासमा संस्थापन र इत्तर पक्षबीच वार्ता भयो। र, राति ११ बजे पनि
वार्ता बस्यो। अन्ततः वार्ताको निष्कर्ष भनेको पार्टी सभापति शेरबहादुर देउवाले राजिनामा दिनुपर्छ भन्ने विषयमा सहमति हुन सकेको छैन।
वार्तामा विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन्। देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मीनेन्द्र रिजाल सहभागी छन्।
ससंकित भएका छौं
मीनबहादुर विश्वकर्मा, संस्थापन पक्षधर
सहमतिका लागि समय लाग्ने भएकाले केन्द्रीय बैठक स्थगित गरेका छौं। उहाँहरूले गरेको अधिवेशन विधानसम्मत पनि छैन र पार्टीको निर्णय पनि हैन। एउटा समूहलाई नेतृत्व मन परेन भनेर नेतृत्व परिवर्तनको अडान राखेर हुन्छ ? उहाँहरूमा यति चेत पक्कै छ। यो समय पनि कस्तो रै’छ भने वार्ता टोलीमा बसेका व्यक्ति पिच्छेका फरक कुरा आएका छन्।
पहिला माओवादी द्वन्द्वको पालामा पनि यस्तै भएको थियो। उहाँहरूले राखेका माग विशेषलाई पार्टीले अपनत्व लिइदिनुपर्ने। कार्यवाहक सभापतिलाई मनोनयन पत्रमा हस्ताक्षर गर्न दिनुपर्ने। संसदीय बोर्ड गठन भएर हाम्रा स्रंख्या पनि राखिदिनुहुन्छ भन्ने छ। अर्को टिकट वितरण गर्दा कम्तीमा ४० प्रतिशत टिकट दिइनुपर्ने। यी एजेन्डामा सहमति गर्न सकिएला भनेर ल वार्तामा बसौं भनेर मंगलबार बिहानदेखि हामी बस्यौं। तर, अहिले आएर उहाँहरूको माग परिवर्तन भए अहिले शेरबहादुर देउवा चुनाव लड्न नपाउने। अन्तरिम नेतृत्व परिवर्तन हुनुपर्ने। सहमति गर्न नसकिने खालका एजेन्डा आउन थालेपछि हामी ससंकित भएका छौं।
नेतृत्व फेर्ने विषयमा अड्किएको छ
गुरु घिमिरे, विशेष महाधिवेशन पक्षधर
धेरै विषयमा सहमति जुटेको छ। नेतृत्व फेर्ने विषयमा अड्किएको छ। नेतृत्व फेरेर नियमित महाधिवेशनसम्म अन्तरिम नेतृत्व फेर्ने कुरामा सहमति भएको छैन। पार्टी सभापतिले चुनाव नलड्ने टिकटमा सही नगर्ने भन्ने कुरा त वैकल्पिक कुरा भए। यिनमा सहमति जुट्छ। अनरसिपको कुरा, विशेष महाधिवेशनको कुरालाई पनि मान्यता दिने कुरा। त्यसो नगर्दा पार्टी चलाउन हाई कमान्ड बनाउने कुरा। सभापतिज्यू यसपटक चुनाव नलड्ने र करिब–करिब राजनीतिबाट अलग हुनुहोस् भन्ने कुरा। सबै पक्ष समेटेर संसदीय बोर्ड बनाउनुपर्छ भन्ने कुरा। न्यायोचित टिकट वितरणको कुरा यी सबै विषय लिएर वार्तामा छौं। अरूमा करिब सहमति भइसक्यो नेतृत्वमा अड्किएको छ।
हामी कति लचिलो भएका भयौं भने। अन्तरिम नेतृत्व चयन गर्ने विषयमा उहाँहरूले चयन गर्ने कुरामा महाधिवेशनको हलमा उहाँहरूले प्रस्ताव गरेको व्यक्तिलाई पनि हामी समर्थन गर्न तयार छौं। हाम्रो कुनै त्यस्तो प्रस्ताव हुँदैन। प्रतिशतको माग गरेका छैनौं। न्यायोचित वितरण भनेका छौं।
प्रतिक्रिया दिनुहोस !