रुकुमपूर्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरियो
रुकुमपूर्व : रुकुमपूर्वमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटको कमलदह नजिक रहेको पाहुनाघरमा कार्यालय स्थापना गरिएको हो।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए। रुकुमपूर्व जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ।
कार्यालय स्थापना भएसँगै अब निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार निर्वाचन व्यवस्थापनका सम्पूर्ण काम सञ्चालन गरिने शर्माले बताए। उनका अनुसार जिल्लामा पुरुष मतदाता १७ हजार ५ सय ८२ र महिला मतदाता १७ हजार १ सय ९० गरी जम्मा ३४ हजार ७ सय ७२ मतदाता रहेका छन्। २०७९ सालको निर्वाचनमा ३४ हजार १ सय १२ मतदाता रहेकामा यसपटक ६ सय ६० मतदाता थपिएका हुन्। जिल्लामा ४४ मतदान स्थल र ५६ मतदान केन्द्र रहेका छन्।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। मनोनयन दर्ता भएका उम्मेदवारको सूची सोही दिन साँझ ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ। उम्मेदवारविरुद्ध उजुरी दिने समय माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ भने उजुरीमाथि जाँचबुझ गरी निर्णय माघ ७ र ८ गते दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म गरिनेछ।
यसैगरी उम्मेदवारको नामावली प्रकाशन माघ ८ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने समय माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म र अन्तिम नामावली प्रकाशन माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई निर्वाचन चिन्ह माघ ९ गते बेलुका ४ देखि साँझ ७ बजेसम्म प्रदान गरिनेछ। मतदान भने फागुन २१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ।
यो निर्वाचन क्षेत्र यसपटक राजनीतिक रूपमा थप चासोको केन्द्र बनेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसै निर्वाचन क्षेत्र रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरिसकेका छन्। शीर्ष नेताको उम्मेदवारी घोषणासँगै यहाँको निर्वाचन प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
प्रतिक्रिया दिनुहोस !