नेकपाले उम्मेदवारको टुंगो लगायो, कञ्चनपुरको ३ क्षेत्रमा ३ पूर्व मन्त्री
महेन्द्रनगर : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर जिल्लाका ३ वटै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीका केन्द्रीय कमिटी सदस्य सुरेन्द्रमान कार्कीले कञ्चनपुरका तीनवटै क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेको जानकारी दिए। उनका अनुसार कञ्चनपुर क्षेत्र नम्बर १ मा बिना मगर, क्षेत्र नम्बर २ मा लाल बहादुर खड्का र क्षेत्र नम्बर ३ मा मान बहादुर सुनारको नाम टुंगो लागेको हो।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर क्षेत्र नम्बर १ बाट २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर खानेपानी मन्त्री बनेकी थिइन। २०७९ को निर्वाचनमा भने नेकपा एमालेका उम्मेदवार तारालामा तामाङसँग पराजित भएकी थिइन्। मगरलाई तामाङले ५ हजार बढी मतान्तरले पराजित गरेका थिए। तामाङले २४ हजार ८९२ मत ल्याउँदा मगरले १९ हजार ३४६ मत ल्याएकी थिइन्।
त्यसैगरी क्षेत्र नम्बर २ का उम्मेदवार लाल बहादुर खड्का यसअघि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री भएका व्यक्ति हुन। नेकपा एमाले विभाजन हुँदा उनी नेकपा एकीकृत समाजवादीमा गएका थिए। क्षेत्र नम्बर ३ का उम्मेदवार मान बहादुर सुनार २०७४ सालमा माओवादी केन्द्रबाट यसै क्षेत्रबाट प्रदेशसभा निर्वाचित भएर सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री भएका थिए।
प्रतिक्रिया दिनुहोस !