महन्थ ठाकुरमा परिवारवाद हावी : छोरी र सम्धीलाई टिकट, पार्टीभित्र विद्रोह तयारी
महोत्तरी : जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरमाथि परिवारवाद हावी भएको भन्दै आलोचना बढेको छ। प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनले छोरी र सम्धीलाई उम्मेदवार बनाएको भन्दै पार्टीभित्रै असन्तोष चर्किएको छ।
ठाकुरले छोरी डा. मिनाक्षी झालाई महोत्तरी क्षेत्र नं. ३ बाट टिकट दिएका छन्। त्यसैगरी सम्धी उमाकान्त झालाई धनुषा–४ बाट उम्मेदवार बनाइएको पार्टी स्रोतले जनाएको छ। ८६ वर्षीय ठाकुर भने माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवार छन्।
पार्टीका एक नेताले भने,‘ठाकुरको परिवार मोहले संगठन कमजोर भएको’ आन्तरिक तर्क छ। ठाकुर निकट नेता जितेन्द्र सोनका भनाइमा ‘सर्वोच्च नेता ठाकुरले सोमबार क्षेत्र नं. ३ को टिकट पक्का गरेर लगेका’ हुन्।
जसपा नेपालका केन्द्रीय समन्वय समितिका सदस्य तथा मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलका अनुसार महोत्तरी–३ बाट संरक्षक ठाकुरकी सुपुत्री डा. मिनाक्षी झाले उम्मेदवारी पाएको पुष्टि गरेका छन्। यसै क्षेत्रबाट २०७४ र २०७९ को प्रतिनिधि सभा चुनाव जितेका ठाकुरले आफू राष्ट्रिय सभामा जाने निर्णयसँगै छोरीलाई ‘सेफ–जोन’ सुनिश्चित गर्न टिकट दिएको विश्लेषण पार्टीभित्र चलिरहेको छ।
यसअघि महोत्तरी–३ मा लोसपातर्फबाट ठाकुरको एकल नाम सिफारिस भएको थियो भने जसपातर्फबाट महामन्त्री रामकुमार शर्मा र पूर्व मन्त्री हरिनारायण यादव सिफारिस भएका थिए। एकीकरणपछि भने टिकट ठाकुर पक्षमा गयो।
धनुषा–४ मा सम्धी उमाकान्त झाको नाम उम्मेदवारको सुचिमा रहेको पुष्टि भए पनि ‘उनको स्थानमा अन्य विकल्प खोजिने’ सम्भावना रहेको नेता मण्डलले बताए।
छोरी र सम्धीलाई उम्मेदवार बनाउने निर्णयपछि ठाकुरविरुद्धको आक्रोश संगठनभर छाएको छ। झा पहिले नै पूर्व मन्त्री र प्रदेश प्रमुख भइसकेका छन्। २०७० मा ठाकुरले सम्धिनी इन्द्रा झालाई पनि समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनाएका थिए।
प्रतिक्रिया दिनुहोस !