हरि रोकाले खोटाङबाट दर्ता गराए उम्मेदवारी
सुनसरी : राजनीतिक विश्लेषक तथा संविधानसभा सदस्य डा. हरि रोकाले खोटाङबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट दिक्तेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ताका क्रममा सयौं समर्थकहरूले नाराबाजी गर्दै डा. रोकालाई निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याएका थिए। नेकपाले खोटाङबाट चुनाव जितेमा सरकारमा सहभागी हुने अवस्थामा डा. रोकालाई अर्थमन्त्री बनाउने प्रतिबद्धतासहित उम्मेदवार बनाएको जनाएको छ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. रोकाले खोटाङवासीको अमूल्य मत प्राप्त गरी निर्वाचन जित्ने विश्वास व्यक्त गरे। निर्वाचित भएमा सदनमा जिल्लाका समस्या, आवश्यकता र विकास निर्माणका विषयलाई प्राथमिकताका साथ उठाएर रचनात्मक भूमिका निर्वाह गर्ने उनले बताए।
खोटाङमा यसपटक प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट बिरकाजी राई, नेकपा एमालेबाट देवविक्रम राई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुद्र गिरी उम्मेदवार बनेका छन्। यी चार दलबीच खोटाङमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !