२ रनले पराजित हुँदा कहाँ चुक्यो नेपाल ?
काठमाडौं : नेपाली महिला क्रिकेट टिमले घरेलु मैदानमा लगातार दोस्रो हार व्यहोर्यो। आइसीसी महिला टी२-० विश्वकप ग्लोबल क्वालिफार्यसको खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएपछि नेपालले घरेलु मैदानमा खेल्न पाएको सबैभन्दा ठूलो आइसीसी प्रतियोगितामा जितको खुसी मनाउन पाएको छैन।
नेपाली महिला क्रिकेटले सन् २००७ यता देखेको टी-२० विश्वकपको सपना घरेलु मैदानमा साकार पार्ने राम्रो अवसर छ। यो सपनालाई वास्तविकतामा परिणत गर्ने यात्रामा नेपाली टिमले लगातारको २ वटा धक्का व्यहोरेको छ। नेपाली टिमका लागि २ खेलमा सबैभन्दा समस्या देखिएको पाटो ब्याटिङ बनेको छ। त्यसमा पनि मध्यक्रमका ब्याटर, कप्तान र उपकप्तान दुवैको ब्याट चल्न नसक्नु सबैभन्दा ठूलो समस्या हो।
नेपालको खेलमा पुनः रुबिना र सीताको अनुभव बाहेक युवा खेलाडीको काँधले जिम्मेवारी लिन सकिसकेको छैन। ओपनिङमा सम्झना खड्का र विन्दु रावलको जोडीले २ खेलमा जिम्मेवारी निर्वाह गर्ने प्रयास गर्छन्। पहिलो खेलमा थाइल्यान्डसँग ५२ रनको अर्धशतकीय साझेदारी बनाएको यो जोडीले दोस्रो खेलमा नेदरल्यान्ड्ससँगको खेलमा पहिलो विकेट छिट्टै गुमायो। विन्दु रावल रनआउटको रूपमा पेभेलियन फर्किइन्। पावरप्लेमा २ ओपनरलाई गुमाएको नेपालले ४५ रन जोडेको थियो। कप्तान इन्दु र उपकप्तान पूजाले आज पनि भरपर्दो खेल देखाउन सकेनन्। इन्दुले १० बलमा ६ रन जोड्दै बोल्ड भइन्। केहीबेर क्रिजमा टिक्ने प्रयास गरेकी पूजाले २१ बल खेल्दै ८ रन बनाउँदै बोल्ड भइन्। उनी पहिलो खेलमा पनि संघर्ष गरिरहेकी थिइन्।
दोस्रो खेलमा पनि उनको संघर्ष जारी रह्यो। उनी आफैं पनि आफ्नो ब्याटिङबाट सन्तुष्ट थिइनन्। आउट भएर डगआउट फर्किँदा पूजाको आँखामा आँसु थियो। उनको शिर निहुरिएको थियो।
कप्तान इन्दुको पनि ब्याट चल्न सकिरहेको छैन। पहिलो खेलमा आफैंले आफ्नो र पूजाको प्रदर्शन सोचे अनुरुपको हुन नसकेको स्वीकार गरेकी कप्तान दोस्रो खेलमा पनि चल्न सकिनन्। अन्य ब्याटर कविता कुँवर, कविता जोशी, काजल श्रेष्ठ कुनैले पनि ब्याटिङमा जिम्मेवारी लिन सकेनन्।
आजको खेल हार्नुको प्रमुख कारणमा पूर्वकप्तान रुबिना क्षेत्री भन्छिन्, ‘मध्यक्रममा एउटा साझेदारी बन्नुपर्ने थियो। बीचमा धेरै विकेट गयो। त्यति धेरै आत्तिएर खेल्नुपर्ने थिएन। अन्तिममा जस्तो साझेदारी बिचमा बनेको भए सजिलो हुन्थ्यो।’ खेल नेदरल्यान्ड्सको पक्षमा गइसकेको थियो। तर, सीता र रुविनाको अनुभवले खेललाई एकपक्षीय रूपमा नेपालको पक्षमा तान्यो।
अन्तिम ओभरमा १३ रन चाहिँदा क्रिजमा रहेका सीता र रुविनाको योजना ठूलो सट खेलेर जिताउने थियो। तर, यी दुई अनुभवीको ब्याटले ठूलो सट खेल्न सकेन। ‘अन्तिम ओभरमा १३ रन चाहिएको थियो। हान्ने नै भन्ने योजना थियो। भनेको जस्तो सट लागेन।’ ९३ रन बनाउँदा ७ विकेट गुमाएको नेपालका लागि यी दुई ब्याटरले आठौं विकेटको लागि ४५ रनको अविजित साझेदारी गरे। तर, पनि जितका लागि पर्याप्त भएन। ‘त्यो अवस्थाबाट खेल लिएर त्यहाँसम्म पुग्नु पनि ठूलो कुरा थियो। राम्रो खेल थियो। आगामी खेलका लागि राम्रो सेटअप बनेको छ,’ खेल २ रनले हारेपछि पूर्वकप्तान रुबिनाले पत्रकारसँग भनिन्।
नेपालले पहिलो खेलमा पनि राम्रो ओपनङि साझेदारी पाएको थियो। मध्यक्रममा विशेषतः कप्तान र उपकप्तान नै चलेनन्। यो क्रम दोस्रो खेलमा पनि जारी रह्यो। युवा खेलाडीले जिम्मेवारी लिन नसकेको हो! भन्ने पत्रकारको प्रश्नमा रुबिना भन्छिन्, ‘त्यस्तो होइन। सीता र रुबिना पनि यो प्रदर्शन गर्न धेरै समय लिएर बनेका हुन्। अहिलेका खेलाडीलाई पनि समय दिनुपर्छ। अहिले नै उनीहरुलाई प्रेसर दिनु हुँदैन।’ हाल नेपाली महिला क्रिकेट टिमले विगतमा भन्दा राम्रो प्रदर्शन गरिरहेको रुबिनाले भनिन्। ‘पहिला भन्दा हामीले राम्रो प्रदर्शन गरिरहेका छौं। क्रिकेट संघले पनि राम्रो लगानी गरिरहेको छ। नतिजा आउन समय लाग्छ।’
एक दशक लामो समय यही टिमलाई कप्तानी गरेको अनुभव रुविनासँग छ। उनले आफ्नो टिमको प्रदर्शनमा सुधार आएको अनुभव गरेकी छन्। यो सुधार ल्याउन हामीलाई पनि समय लाग्यो। अलिकति प्रतिक्षा गरौं। पहिलेभन्दा हामी ब्याटिङमा केही सहज भइरहेका छौं। फिटनेस र फिल्डिङमा परिवर्तन पनि देख्नुभयो होला,’ उनले पत्रकारलाई प्रतिप्रश्नस्वरुपमा उत्तर दिइन्।
बलिङमा पनि रुविनाले २ विकेट लिइन्। बलिङमा सुमन विष्ट, रिया शर्मा र पुजाले १-१ विकेट लिए। आफ्नो घरेलु मैदानमा पनि नेपालले सुखद् नतिजा दिन नसक्नु दुर्भाग्य हो।
रुविनाको १ हजार रन पूरा
नेपालका लागि ८१औं अन्तर्राष्ट्रिय टी-२० खेलमा नेपालकी पूर्वकप्तान रुविना क्षेत्रीले १ हजार रन पूरा गरिन्। उनको लक्ष्य लामो छ। उनी भन्छिन्, ‘१ हजार रन कम हो। केही ठूलो सोचौं न।’ यो नेपाली महिला क्रिकेट खेलाडीका लागि सानो उपलब्धि भने होइन। नेपाली महिला क्रिकेटमा १ हजार रन पूरा गर्ने रुविना हुन्दोस्रो खेलाडी । यसअघि वर्तमान कप्तान इन्दु बर्माले १ हजार रनको रेकर्ड पूरा गरेकी थिइन्। ८१औं अन्तर्राष्ट्रिय खेलमा उनले १ शतक र १ अर्धशतकसहित १ हजार ५ रन पूरा गरेकी छन्। रुबिनाको लागि यो व्याक्तिगत उपलब्धि भए पनि टिमले भने यो कुराको खुसी मनाउन पाएन। यसैकारण रुविना आफू पनि यो कोसेढुंगा पूरा गर्दा पनि खुसी छैनन्।
‘म खुसी छैन। व्याक्तिगत उपलब्धि भए पनि यो टिमको जितका लागि पर्याप्त भएन,’ उनले खेलपछिको पत्रकार सम्मेलनमा भनिन् । लामो समय क्रिकेट खेलेर पनि नेपाली खेलाडीका लागि १ हजार रन कोसेढुंगाको रूपमा मानिन्छ। अन्तर्राष्ट्रिय क्रिकेटमा महिला नेपाली महिला क्रिकेटरले ठूला उपलब्धि गर्न सकेका छैनन्। नेपाली महिला क्रिकेटमा अन्तर्राष्ट्रिय एरिनामा शतक प्रहार गर्ने रुबिना एक्लि खेलाडी हुन्। यसो त उमेर समूहमा नेपाली सिनियर टिमकी उपकप्तान पूजा महतोले शतक बनाएकी छन्।
प्रतिक्रिया दिनुहोस !