पर्सा-२ मा कांग्रेसबाट विद्रोह गरी मनोनयन दर्ता गराएका तेलीले फिर्ता लिए उम्मेदवारी
वीरगन्ज : पर्सा-२ मा कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर साह तेलीले उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार तेलीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन्। पर्सा-२ बाट कांग्रेसले टिकट नदिएपछि पार्टीबाट विद्रोह गरी माघ ६ गते स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। पर्सा-२ बाट कांग्रेसले निर्वतमान सांसद अजयकुमार चौरसियालाई फेरि उम्मेदवार बनाएको छ।
शुक्रबार उम्मेदवारी फिर्ता लिएपछि अन्नपूर्णपोष्टकर्मीसँग कुरा गर्दै तेलीले कांग्रेसलाई बलियो बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको प्रतिक्रिया दिए। कसैको दबाब वा प्रभावमा नभइ अहिलेको विषम परिस्थितिमा हुन गइरहेको निर्वाचनमा कांग्रेसलाई एकजुट बनाउनुपर्ने आवश्यकतालाई बोध गरेर उम्मेदवारी फिर्ता लिएको उनले बताए ।
उनले भने,'कोहि नेता वा अरू कसैले भनेर होइन,कांग्रेसलाई यतिबेला एकजुट भएर चुनावमा जिताउनुछ।त्यहि सोचेर उम्मेदवारी फिर्ता लिएको हुँ।'
तेलीले पर्सा-२ मा कांग्रेस उम्मेदवार अजयकुमार चौरसियालाई जिताउनका लागि पनि आफूले उम्मेदवारी फिर्ता लिएको बताए । उनले भने,'अब अजय चौरसियालाई जिताउन तन,मन र धनका साथ लाग्छु।'
प्रतिक्रिया दिनुहोस !