गुल्मी २ मा कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

गुल्मी २ मा कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

गुल्मी : आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर–२ मा रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धीका रूपमा प्रमुख दल र उनैका उम्मेदवार बीचमा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। यहाँ नेपाल कम्युनिस्ट पार्टी एमालेका गोकर्णराज बिष्ट, नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोविन्द पन्थी र नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महत चुनावी मैदानमा छन्।

गोकर्णराज बिष्ट २०५६ सालदेखि निरन्तर रूपमा यस क्षेत्रबाट उम्मेदवार बन्दै आएका छन्। उनले २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर थापा ‘सागर’सँग पराजय व्यहोरेका थिए। त्यसबाहेकका निर्वाचनमा भने उनले लगातार विजय हासिल गर्दै आएका छन्। २०७९ सालको निर्वाचनमा संयुक्त गठबन्धनबाट एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीसँग कडा प्रतिस्पर्धा भए पनि अन्ततः बिष्ट नै विजयी भएका थिए। बिष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४ सय ४१ मत ल्याएकी थिइन।

यसपटक पनि बिष्ट आफ्नो राजनीतिक विरासत जोगाउने प्रयासमा छन्। अघिल्लो निर्वाचनमा उनकी प्रतिस्पर्धी झाकी पनि एमालेमै फर्किसकेकी छन्। उनले पनि बिष्टलाई नै सघाउने भएकाले पनि अहिले पनि जित सुनिश्चित गर्नेमा एमाले ढुक्क छ। अहिले दल र स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन्। रास्वपाका उम्मेदवार पन्थी अधिवक्ता समेत हुन। उनलाई पार्टीका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नम्बर–१ का सांसद सागर ढकालले घरदैलो अभियानमार्फत साथ दिइरहेका छन्। उम्मेदवार पन्थी डीएसपी भएकै समयमा भुटानी शरणार्थी, भिजिट भिजा लगायतका प्रकरणको फाइल खोलिएको थियो।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भुवनप्रसाद श्रेष्ठ कांग्रेसका पूर्व जिल्ला सभापति हुन्। जिल्लामा स्वच्छ छवि भएका प्रखर वक्ताका रूपमा परिचित श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको मेयर पदमा पराजित भएका थिए। २०७९ सालको प्रदेश सभा निर्वाचनमा गुल्मीको क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश सांसद पनि पराजित बनेका थिए। 

उनी यस क्षेत्रको पुरानो र अनुभवी नेता भएकाले यस पटक कम्युनिस्टको गड तोड्नेमा कांग्रेस विश्वस्त छ। नेकपाबाट उम्मेदवार बनेका महत जुझारु, मिलनसार र कर्तव्य पालना गर्ने मध्येका एक मानिन्छन्। उनी पहिले नेकपा एमालेमै थिए। पार्टी विभाजनसँगै महत एकीकृत समाजवादीमा हानिएका थिए। उनले जिल्लाको विकास निर्माणको अवस्था र जनताका आवश्यकता सहित भुगोल राम्रोसँग बुझेका छन्। एमाले र कांग्रेस मत तानेर विजयी हात पार्न भने चुनौती देखिन्छ।

यस निर्वाचन क्षेत्रमा उज्यालो नेपाल पार्टीका कर्णबहादुर थापा, नेशनल रिपब्लिक नेपालका पदम थापा मगर, मङ्गोल नेशनल अर्गनाइजेसनका बेदबहादुर थापा, राष्ट्रिय जनमोर्चाका तारा बहादुर थापाक्षेत्री, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का सन्त नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक सेनले पनि उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी भागिरथ थापा, भुमिराज सापकोटा, महेश्वर घिमिरे, मालता घिमिरे, रामप्रसाद घिमिरे, खुबिराम आचार्य, लोकबहादुर पुन, सरस्वती लम्साल, सुरेन्द्र पाण्डे, कुमारी हरिकला श्रीस मगर, नरेन्द्रप्रसाद रिजाल र फर्सुराम कडेल गरी १२ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्।

गुल्मी–२ परम्परागत रूपमा नेकपा एमालेको बलियो क्षेत्र मानिन्छ। २०६४ सालबाहेक अधिकांश निर्वाचनमा एमालेका गोकर्णराज बिष्टले विजय हासिल गर्दै आएका छन्। यसपटक भने कांग्रेस, रास्वपा र अन्य दलका उम्मेदवारले कडा चुनौती प्रस्तुत गर्ने देखिन्छ।

यस क्षेत्रमा कुल १ लाख ७ हजार ३ सय ६३ जना मतदाता रहेका छन्। जसमध्ये पुरुष ५४ हजार ४ सय २३, महिला ५२ हजार ९ सय ३८ र अन्य २ जना मतदाता छन्। यहाँ ६२ वटा मतदानस्थल र १ सय २९ वटा मतदान केन्द्र तोकिएका छन्।

अहिले मतदाता नयाँ अनुहार र वैकल्पिक राजनीतिक शक्तिको खोजीमा देखिएका छन्। एकातिर बिष्ट आफ्नो पुरानो पकड कायम राख्न प्रयासरत छन् भने अर्कोतिर नयाँ दल र उम्मेदवारहरूले परिवर्तनको एजेन्डा अघि सार्दै चुनावी प्रतिस्पर्धा तीव्र बनाइरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.