कांग्रेसले तोक्यो गगनलाई प्रधानमन्त्री
काठमाडौं : पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्दै कांग्रेसले चुनावमा होमिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको हो।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवारका लागि बैठकमा प्रस्ताव पेस गरेका थिए। पाँच मापदण्डको आधारमा सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको उपसभापति शर्माले बताए। ‘व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजन’का आधार बनाएर सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भयो,’ शर्माले भने, ‘अहिले प्रधानमन्त्रीको उम्मेदवार भनेर आएका भन्दा कांग्रेसले अघि सारेका उम्मेदवार अब्बल हुनुहुन्छ।’ शर्माको प्रस्तावलाई अर्का उपसभापति पुष्पा भुसालले समर्थन गरेपछि केन्द्रीय सदस्य सबैले ताली बजाएर समर्थन जनाएका थिए।
देशको प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय गरिएको शर्माले बताए। विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले शुक्रबार नै पार्टी कार्यालयमा पदभार ग्रहण गरेका थिए। ‘बीपी कोइराला, सुर्वणशमशेर जबरा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवालगायतका संस्थापक नेताले सिकाएको महत्त्व माटो र नागरिकका कुरा सुनेर अगाडि बढ्नेछु,’ पदभार ग्रहणका क्रममा थापाले भने।
अर्को निर्वाचनदेखि अहिलेको जस्तै गरी पार्टीका उम्मेदवार छनोट नहुने थापाले बताए। विशेष महाधिवेशनपछि निर्वाचन आयोगमा रहेको वैधानिकताको परीक्षण, अदालतभित्र विषयको प्रवेश र पार्टीका निवर्तमान सभापतिलगायतका नेताहरूसँग निरन्तर संवाद प्रयासलगायतका कारणले उम्मेदवार छनोटका लागि समय नपुगेको उनको भनाइ थियो। ‘केही त्रुटि भएका छन्। कमजोरी भएका छन्। यसका लागि यो कुराको अप्ठेरोलाई बुझिदिनुहुन आग्रह गर्छु।’
सबै निर्वाचन क्षेत्रभित्र त्यहीँ उम्मेदवारी चयनको विषय टुंगिनुपर्ने मत आफूहरूले राख्दै आएको र त्यो कायमै भएको बताए। ‘हामी १ सय ६५ निर्वाचन क्षेत्रभित्र नै त्यही क्षेत्रभित्र उम्मेदवारी चयन गर्ने कुरा टुंगिनुपर्छ भन्ने मत राख्छौं। त्यसका निम्ति विधानमा संशोधन पनि गरेका छौं। अर्कोपटकदेखि कांग्रेसको उम्मेदवार यसरी चयन हुँदैन। उम्मेदवार त्यहीँको पार्टीको सदस्यले मतदान गरेर तलै चयन गर्नुहुन्छ। यसपटक हामीसँग यो समयको सुविधा थिएन। प्राइमरी गर्ने भन्ने हाम्रो अवस्था थिएन।’ थापाले अब बदलिएको कांग्रेस बनाउन सबै लाग्नुपर्यो भन्दै अगाडि भने, ‘यो कांग्रेस आफैं बदलिएको हैन। हामीले बदलेर आएका हौं। बदलिएको कांग्रेसले देशलाई बदल्छ।’ उनले पार्टीभित्रका भिन्न मतहरूका विषयमा पार्टीका अन्तरसंघर्षका विषयमा आगामी दिनमा छलफल गर्ने भन्दै उनले कांग्रेसबाट देशले नै भरोसा खोजेको भन्दै अगाडि भने, ‘भ्रष्टाचारको दलदलबाट निस्कन पर्यो भन्ने, यो देशबाट सबैले भरोसा खोजेका छन्। देश ठीक ढंगले चलेको छैन गति बढाउन पर्यो।’
कांग्रेसका कार्यकर्ता शुभेच्छुकले अघिल्लो पटक कांग्रेस भएर रूखमा मात्र मत माग्न आउन आग्रह गरेको भन्दै अगाडि भने, ‘अहिले हामी रूखमा मात्र मत माग्न आएका छौं। यसपालि बदलिएको कांग्रेसलाई अगाडि लगिदिनुस्। पार्टीका मूल्य, मान्यतालाई दृढ भएर लैजानेछौं। देश बदल्ने हुटहुटी हामीसँग छ त्यो हामी गरेर देखाउँछौं। नयाँ कांग्रेस देशलाई बचाएर लडाइँ झगडाबाट बचाउनेछ।’
थापाले आफ्नो सर्लाही क्षेत्र नम्बर ४ मा अन्य ठाउँबाट प्रचारप्रसारका लागि आउन नपर्ने बताएका छन्। थापाले निर्वाचन क्षेत्रबाट प्रचारप्रसारका लागि
आफ्नो क्षेत्रमा आउन नपर्ने र आफ्नै ठाउँमा खटिन अनुरोध गर्दै भने, ‘कोही साथी अर्को निर्वाचन क्षेत्रमा नआइदिनुहोला। मसँग मात्रै सर्लाही आउँछु भन्ने करिबकरिब पाँच सय बढी साथीहरू भइसक्नुभयो। कोही साथी सर्लाही नआइदिनुस्। सर्लाहीकै साथीहरू इनफ हुनुहुन्छ। सबै आआफ्नो क्षेत्रमा खटिनुस्। अर्काको निर्वाचन क्षेत्रमा गएर मद्दत हुँदैन। आफ्नै निर्वाचन क्षेत्रमा तपाईंहरू गइदिनुपर्छ।’
यस्तै उनले आफ्नो पार्टीको अरू कुनै पनि दलसँग दुश्मनी नहुने र कार्यकर्ताहरूले पनि अनुशासन राख्न भन्दै उनले भने, ‘हामी अरू सबै पार्टीलाई पनि आह्वान गर्छौं। कांग्रेसको कुनै पनि पार्टीसँग कुनै पनि दुश्मनी छैन। हामीसँग प्रतिस्पर्धा गर्ने सबै पार्टीहरू हाम्रै भाइसाथीहरूकै पार्टी हो। पार्टीहरू हाम्रा सहयात्री पनि हुन। हामी प्रतिस्पर्धी पनि हौं। हामी फेयरप्लेमा विश्वास गर्छौं। हामी एउटा फेयर प्ले, फेयर गेम चाहन्छौं। हाम्रा मुद्दाहरू लिएर नागरिकका बीचमा जाने हो।’
निर्वाचनको प्रचारप्रसार सभ्य ढंगले गर्न भन्दै, ‘हाम्रा कुरा राखौं। हाम्रा बारेमा कुरा राखौं। हामीले अरूका बारेमा धेरै कुरा भनिराख्न आवश्यक छैन। कसैले पनि उत्तेजना फैलाउने काम नगरौँ। कसैले पनि भ्रम फैलाउने काम नगरौं। सुसूचित ढंगले आफ्ना उम्मेदवारहरू नागरिकले छान्न पाओस् पार्टी छान्न पाओस्।’
प्रतिक्रिया दिनुहोस !