आन्दोलनमा अघि, विकासमा सधैं पछि राजविराज
राजविराज : नामै छ– नेताचोक। जहाँ चोकैपिच्छे नेता भेटिन्छन्। राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताहरू यहीँ जन्मिए। त्यसैकारण कुनै बेला सप्तरीको सदरमुकाम राजविराज राजनीतिको केन्द्र थियो।
कलकारखाना, अदालत, क्याम्पस, बाटोघाटो र ‘प्लानिङ’ बसोबासका कारण राजविराज मधेसको मात्र नभई देशकै उदाहरणीय सहर थियो। तर, नेतैनेता जन्माएको राजविराजको रंग उड्दै गएको छ। विकासमा पछि पर्दैछ। अर्थात्, राजविराजको विरासत बिस्तारै ओझेलमा पर्न थालेको छ।
चुनावमा राजविराज र सप्तरीको विकासका लागि चर्का भाषण गर्ने दल र नेताहरू पनि चुनावपछि वास्ता गर्न छोड्छन्। फेरि फागुन २१ को निर्वाचनमा राजविराजको विकासको बहस प्रारम्भ भएको छ। तर, यहाँका जनताको प्रश्न छ– राजविराज किन पछाडि पर्यो ?
सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहदेखि विद्रोही नेता रामराजाप्रसाद सिंह जन्मेको सप्तरी भने विकासमा सधैं पछि परिरह्यो। राजविराजमा आकर्षक सालिक रहेको ठाउँ जनआन्दोलन चोकका रूपमा प्रख्यात छ। अलि पर अर्को स्तम्भ छ, जसको नाम हो ‘नेताचोक’। स्थानीयका अनुसार अलग विचार राख्ने नेता–कार्यकर्ता एकै चोकमा बसेर गुप्ताको पान पसलमा गई पान खाने, अनि बहस–विमर्श गर्ने भएकाले यो चोक नेताचोकका रूपमा प्रसिद्ध भयो। सिंहकै गाउँ कोइलाडीमा झन् ठूलो सालिक छ। उनले तीन दशकअघि राजविराजमा बनाएको ‘सप्तरी सेवा आश्रम’। यो आश्रम त राजनीतिक चेतना फैलाउने क्रममा बनाइएको नामी स्थल हो।
घनाबस्ती रहेको मधेसको यो जिल्ला राजनीतिक नेतृत्व जन्माउने ठाउँका रूपमा चिनिन्छ। २००७ सालको परिवर्तनमा तराई मधेसका जिल्लामध्ये अगुवा सप्तरी क्षेत्रीय आन्दोलन नेतृत्वमा पनि अगाडि देखिन्छ। २०३० र ०४० को दशकमा चर्चित रामराजाप्रसाद सिंह, उनीपछि चर्चा कमाएका सद्भावना पार्टी संस्थापक गजेन्द्रनारायण सिंह अनि २०६३ पछिक राष्ट्रिय राजनीतिमा उदाएका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव यसै जिल्लाका हुन्। यो लहरमा अरू थुप्रै नेताको नाम थपिन्छ– पुराना कम्युनिस्ट नेता कृष्णराज बर्मादेखि कांग्रेस हुँदै क्षेत्रीय राजनीतिमा पसेका जयप्रकाश गुप्तासम्म।
मधेस आन्दोलन घोषणा हुनेबित्तिकै पहिलो सहिद भएका राजीवकुमार राउत पनि सप्तरीकै हुन्। संविधान घोषणासँगै नाका अवरोधको निर्णय गर्न पनि मधेसी मोर्चाका नेताहरू राजविराज आइपुगेका थिए। नेतैनेताको खानी मानिने तराई मधेसको यो जिल्ला राणाकालदेखि नै आर्थिक तथा शैक्षिक रूपमा पनि अगाडि थियो। अहिले भने राज्यको प्राथमिकतामा कम पर्दै गएको गुनासो स्थानीयको छ।
‘समय समयमा परिवर्तनको लागि भएका विभिन्न आन्दोलनको अगुवा जिल्ला नै सप्तरी हो, अहिले कम प्रभाव देखिएको होला,’ लामो समय कांग्रेस हुँदै सद्भावना पार्टीको राजनीतिमा क्रियाशील खुसीलाल मण्डल भन्छन्, ‘शैक्षिक पृष्ठभूमि र २००७ सालदेखि नै राजनीतिक चेतनाको विस्तारका कारण मधेसका अरू जिल्लाभन्दा सप्तरीको योगदान हालसम्म बढी देखिएको हो।’
नेतैनेता जन्मे
तत्कालीन प्रतिबन्धित अवस्थामा सप्तरीकै कमानन्द मिश्र कांग्रेसले थालेको सशस्त्र आन्दोलनको कमान्ड गर्थे। कुशेश्वर पाठक पनि कृष्णप्रसाद भट्टराईसँगै प्रतिबन्धित अवस्थामा प्रजातन्त्रका लागि लडे। रामेश्वरप्रसाद सिंह र जयमंगलप्रसाद सिंहले मुलुकको प्रजातान्त्रिक आन्दोलनसँगै भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागिता जनाउँदै हनुमाननगर जेल तोड्ने अभियानको अगुवाइ गरे। तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग राय बाझ्दा अप्ठेरोमा परेका प्रख्यात भारतीय समाजवादी नेता जयप्रकाश नारायण सप्तरीकै हनुमाननगरमा लामो अवधि जेल बसे। सप्तरीका नेता तथा अगुवाको संगत भारतका ठूला नेताहरू जयप्रकाश नारायण र राममनोहर लोहियासँग बढी हुँदा पनि त्यसको प्रभाव यो जिल्लाले उठायो।
कांग्रेसमा लामो समय राजनीति गरेका नेपालका पहिलो आयकर अधिकृत इन्द्रदेवप्रसाद सिंह र २०४६ सालको आन्दोलनका बेला जिल्लामै पहिलोपटक कांग्रेसको झन्डा लिएर उत्रेका मधुकान्त सिंह सप्तरी बभनगामाकटीका हुन्। देवनारायण यादव, खुसीलाल मण्डल, कुबेर शर्मालगायतको राजनीतिक यात्रा कांग्रेसबाटै सुरु भयो। २००८ सालको किसान आन्दोलनको अगुवाइ गरेका पुराना वामपन्थी नेता कृष्णराज बर्मा पनि सप्तरीकै हुन्। गुजाई यादवदेखि जयकृष्ण गोइतसम्म यहीं जन्मे, हुर्के। पञ्चायतकालमा बेपत्ता पारिएका दिलीप चौधरी र साकेतचन्द्र मिश्र सप्तरीकै हुन्।
सर्वस्वसहित मृत्युदण्ड सुनाइएका रामराजाप्रसाद सिंह र उनका भाइ लक्ष्मणप्रसाद सिंह पनि सप्तरीवासी नै हुन्। गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झा हुन् वा व्यवस्थापिका संसद्का पूर्वउपसभामुख गंगाप्रसाद यादव यहींका हुन्। पञ्चायकालदेखि हालसम्म यहाँका कैयन् नेता मन्त्री भए। चतुर्भुजप्रसाद सिंह, नागेश्वरप्रसाद सिंह, जगदीश झा, शत्रुधनप्रसाद सिंह यादव, जयप्रकाश प्रसाद गुप्ता, मृगेन्द्रकुमार सिंह यादव, रेणुकुमारी यादव, रामकुमार चौधरी, अनिश अन्सारी, हेमराज तातेड, नन्दन दत्त, उमेशकुमार यादव र सत्यनारायण मण्डललगायतका सप्तरीवासी मन्त्री भइसकेका छन्।
सप्तरीको कञ्चनपुरमा जन्मे हुर्केका जयप्रकाशप्रसाद गुप्ता, हेमराज तातेड र नन्दन दत्त त कुनै बेला एउटै मन्त्रिपरिषद्मा मन्त्री पनि भए। जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव, प्रवक्ता मनीष सुमनसहित १५ जना केन्द्रीय सदस्य यहीँका हुन्। नेकपा एमालेबाट मधेसवादी दल हुँदै हाल कांग्रेसको राजनीति गरिरहेका जितेन्द्र देव, राष्ट्रियसभाका पूर्वसदस्य शेखर सिंह, राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झा, सहमहासचिव गजेन्द्र मण्डल सप्तरीवासी नै हुन्। सप्तरीकै सुरेशचन्द्र चालिसे र श्यामानन्द सुमन राजदूत भए।
आर्थिक रूपमा किन पछाडि ?
राष्ट्रिय राजनीतिमा कुनै बेला आफ्नो जबरजस्त प्रभुत्व जमाएको सप्तरीको आर्थिक अवस्था भने विगतभन्दा खस्कँदो देखिन्छ। ‘२०३६ सालतिर सगरमाथा धान, चामल निर्यात कम्पनीमार्फत धान खरिद गरी भारत निर्यात हुँदै आएको थियो, तर अहिले वर्षभरि सप्तरीकै जनतालाई खान अन्न पुग्दैन,’ राजविराज नगरपालिका पूर्वमेयर शम्भुप्रसाद यादव भन्छन्, ‘परम्परागत खेती प्रणालीबाट माथि उठन नसक्नु अनि सिँचाइको असुविधाका कारण उब्जनी घट्दै गएको छ। नेपालकै पहिलो चन्द्र नहरको अवस्था पनि लथालिंग छ। नयाँ सिँचाइ प्रणालीअन्तर्गत सञ्चालनमा ल्याइएको कोशी पम्प नहर पनि पानी सुविधा दिन असमर्थ छ।’
अस्पताल बन्यो रेफर सेन्टर
जिल्लामा जन्मे हुर्केका डाक्टरहरू एकसे एक छन्। तर सप्तरीसँगै अन्य जिल्लाहरूसहित सीमावर्ती क्षेत्रबाट आउने बिरामीलाई लक्षित गरी स्थापित गजेन्द्रनारायण सिंह अस्पताल रिफर सेन्टर बनेको स्थानीयहरूको गुनासो छ। दरबन्दीअनुसार १० प्रतिशत पनि डाक्टर नरहनु यो अस्पतालले नियति भोग्दै आएको छ। ‘ज्वरोका बिरामी पनि यहाँबाट रेफर भई उपचारका लागि धरान या विराटनगर जानुपर्ने बाध्यता छ,’ अस्पताल सुधारका लागि एक दशक अघि तीन साता अनशन नै गरेका विकास तिवारी बताउँछन्।
पूर्वमयेर यादबले भने–‘ केन्द्रीय शोषित जिल्ला भएकाले विकासमा पछाडि परेको हो। ५० वर्षअघि सगरमाथा अञ्चल अस्पतालको स्थापना हँुदा ५० बेडको थियो, अहिले पनि ५० बेडकै छ। नाम परिवर्तन गरेर अहिले गजेन्द्रनारायण सिंह अस्पताल भए पनि अवस्था केन्द्रीय सरकारको रवैयाले यथावत् छ।’ संघीयता आएपछि विकासको नाममा नेताहरू कमिसनमा केन्द्रित भएकाले जिल्लाको आर्थिक अवस्था दिनानुदिन खस्कँदै गएको पूर्वमेयर यादवले बताए।
सप्तरीका नेताहरू केन्द्रीय सत्ताको विपक्षमा बेलाबखत आन्दोलित हुने भएकाले केन्द्रले सदैव दोस्रो या तेस्रो प्राथमिकतामा रहेको उनको भनाइ छ।
पहिलो टाउन प्लानिङ, अहिले अस्तव्यस्त
मुलुककै पहिलो टाउन प्लानिङ भएको सदरमुकाम राजविराज सहर पनि अहिले अव्यवस्थित हुँदै गएको छ। सडकमै बसलगायतका सवारीसाधन पार्किङ गर्ने गरिएकोले दुर्घटनाको जोखिम बढ्नुका साथै आवतजावतमा पनि समस्या हुने गरेको छ। प्रसिद्ध छिन्नमस्ता भगवती, कंकालिनी भगवतीलगायतका कयौं धार्मिकस्थल रहे पनि धार्मिक पर्यटनको विकास हुन सकेको छैन।
शैक्षिक स्तर पनि खस्कँदो
त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो २०१४ सालमै स्थापित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको शैक्षिक स्तर कमजोर बन्दै गएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्। उक्त क्याम्पसमा नेपालका अधिकांश न्याय सेवाका पुराना हस्तीहरूले अध्ययन गरेका थिए। राणाकालमा कहीँ कतै शिक्षादीक्षाको उपाय नभएका बेला तिलाठीमा संस्कृत पाठशाला थियो। यहाँका कैयौं शिक्षक, अध्यापक मुलुकका विभिन्न भागमा शिक्षादीक्षा दिए र दिँदैछन्। तर सप्तरीको शैक्षिक अवस्था कमजोर हुँदै गएको छ।
राजनीतिक नेतृत्व तथा परिवर्तनका लागि भएको आन्दोलनमा सधैं अगुवाइ गरेको सप्तरी विकास र अन्य क्षेत्रमा आखिर किन पछाडि पर्यो ? विशिष्ट तहमा पुगेकाहरू कोही पनि जिम्मेवारी लिन तयार हुँदैनन्। प्रमुख सरकारी कार्यालयहरू सप्तरीबाट अन्यत्र सरेपछि राज्यको प्राथमिकता घट्दै गएको बताउँछन्, पूर्वमन्त्री उमेशकुमार यादव। दीर्घकालीन योजनामा राज्य पूर्वाग्रह भएकाले गर्न लागेका विकासका काम पनि सम्पन गर्न समस्या भइरहेको यादवले बताए।
आफू मन्त्री हुँदा राजविराजमा खाडो नदी र भलुवाही नदी नियन्त्रणको काम अघि बढाएको उनले सुनाए। राजविराजमा उद्योग स्थपना गर्न भन्सारको स्तरोन्नति तथा रेल्वेको लाइन पहाडी बजार सडक खण्डसँग जोड्नुपर्ने बताए। आर्थिक कारोबारलाई चलायमान बनाउन नगर क्षेत्रको ६३ बिघा भिकटोरी जग्गाको लालपुर्जा तत्काल दिनुपर्ने उनको भनाइ छ। ‘जग्गाधनी छन्, तर लालपुर्जा छैन, उनले भने, ‘अनि कसरी आर्थिक चलायमान हुन्छ ?’ मधेसका अरू जिल्ला सप्तरीभन्दा पनि पछाडि देखिन्छन्। तर, सप्तरी पहिलेभन्दा कमजोर हैसियतमा धकेलिँदै गएको पूर्वमन्त्री यादव बताउँछन्। ‘राजनीतिक नेतृत्वको सामूहिक चासो यसतर्फ चाहिएको छ,’ उनले भने।
सप्तरीबाट नेसनल ट्रेडिङ, अन्तःशुल्क, सडक डिभिजन, साल्ट ट्रेडिङ र टिम्बर कर्पोरेसनजस्ता कार्यालय अन्यत्र सारिएका छन्। उच्च अदालतका कारण बजारमा चहलपहल हुन्थ्यो। तर, संविधान कार्यान्वयनपछि उच्च अदालत जनकपुर गएपछि राजविराजमा उच्च अदालतको बेन्चमात्र छ। त्यसैकारण पनि यहाँ चहलपहल हराउँदै गएको छ। यस्तै सदरमुकाम राजविराज भएर पूर्वपश्चिम राजमार्ग नजोडिँदा पनि सप्तरी पछाडि परेको जानकारहरू बताउँछन्।
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले नेताहरूबीच खुट्टा तान्ने प्रवृत्तिले सप्तरीमा विकासको कामले गति लिन नसकेको बताए। सप्तरीबाट जित्ने जनप्रतिनिधिहरूमा दीर्घकालीन योजना ल्याउने प्रवृत्तिका नभएको पनि उनले बताए। खाली खुद्रा योजनामा केन्द्रित भएर विकासले गति नलिने उनको भनाइ छ। आफू मुख्यमन्त्री हुँदा स्थानीयको मागअनुसार खुद्रा योजनासहित पाँचवटा दीर्घकालीन सडकको योजना पारेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !