दबाबमा देउवा
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन (देउवा–खड्का) पक्ष राष्ट्रिय भेलाको तयारी गर्दै छ। फागुन २१ को प्रतिनिधिसभा चुनावमा सफलता हासिल गर्न पनि कसरत गरिरहेको छ। कांग्रेसको पूर्वसंस्थापन समूहका केही प्रभावशाली नेता चुनावमा कसरी सफलता हासिल गर्ने रणनीतिमा व्यस्त छन्।
विशेष महाधिवेशनबाट सभापति चुनिएका गगनकुमार थापासँगको मुकाविला बेग्लै छ। एकातिर उक्त विशेष महाधिवेशन र त्यसको परिणामलाई देउवा पक्षले स्वीकारेको छैन। चुनावमा थापालाई प्रधानमन्त्री तोकेर अघि बढ्ने कांग्रेसको निर्णयलाई सार्वजनिक चुनौतीसमेत दिएको छ। विशेष महाधिवेशनबाट कांग्रेसको सभापतिमा थापा निर्वाचित भएपछि कांग्रेसका शेरबहादुर देउवा पक्षले सबै समूह र पक्षलाई राखेर राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।
भेला पार्टीका आन्तरिक विषयमा असन्तुष्ट रहेका कार्यकर्ताहरूलाई कांग्रेसका सबै पक्ष र सबै गुटका नेताहरूलाई एउटै मञ्चमा राखी हामी सँगै छौं भनेर सन्देश दिन खोजिएको देउवा निकटका एक नेताले बताए। पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, पूर्वराष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको भेला आयोजना गर्ने उक्त पक्षको दाबी छ। भेलाबाट समय सापेक्ष रूपमा आवश्यक निर्णय लिइने नेता मीन विश्वकर्माले बताए।
‘निर्वाचनमा कसरी एकता कायम गर्न सकिन्छ। त्यसका लागि साझा मञ्च तयार गरेर सबै नेताहरूलाई एउटै मञ्चमा राखेर। असन्तुष्ट साथीहरूलाई पनि समेटेर साझा सन्देश दिनु उपयुक्त होला भन्ने सल्लाह भएको हो, नेता विश्वकर्माले भने, ‘यद्यपि समय तिथि मिति तय भएको छैन। भेला बोलाउनुपर्छ हामी सबै सँगै छौं भन्ने सन्देश दिनुपर्छ भन्ने हो। तर, यो तय भएको छैन।’
कांग्रेसको नीति सिद्धान्त र आदर्शमा टेकेर अगाडि बढ्नका लागि र नेतृत्वलाई निरंकुश हुनबाट जोगाउन भेला गर्न लागिएको सो समूहका नेताहरू बताउँछन्। मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसको नीति आदर्श र सिद्धान्त जोगाउन र नेतृत्वलाई निरंकुश हुनबाट बचाउन राष्ट्रिय भेला आयोजना गर्ने तयारी भएको दाबी गरिएको छ। ती नेताका अनुसार, ‘राष्ट्रियसभाको निर्वाचन लगत्तै भेला गर्ने कि भनेर छलफल सुरु भएको हो। निर्वाचनको बीचको समय छ। पार्टीका सबै साथीहरू चुनावी प्रचार–प्रसारमा लाग्नुभएकाले यो समय उचित हुन्छ कि हुँदैन भन्ने कुरा पनि छ। अहिले आधिकारिक तय भएको छैन।’
१४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनलाई संस्थापन समूहले अझै स्वीकार गरेको छैन। उनीहरू विशेष महाधिवेशनविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालतमा पुगेका थिए।
आयोगले थापा र शर्मा नेतृत्वको विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि उक्त समूह सर्वोच्चसम्म पुगेका हुन्। सर्वोच्चले निवर्तमान संस्थापन समूहका पक्षमा अन्तरिम आदेश दिएन। न्यायाधीश सुनील पोखरेलको इजलासले माघ ६ गते निर्वाचन आयोगलाई कारणसहित १५ दिनभित्र लिखित जवाफ लिएर उपस्थित हुन निर्देशन दिएको छ। 
विशेष महाधिवेशनको नेतृत्व स्वीकारेको छैन भन्ने कुरा अहिले पनि निर्वतमान सभापति देउवाले सामाजिक सञ्जालमा पार्टीकै लेटरप्याड र स्ट्याम्पमा सभापतिकै पद भनेर शुभकामना दिँदै आउनुले प्रष्ट पारेको छ। र, निवर्तमान सभापतिले पनि सोही काम गर्दै आएका छन्।
उता विशेष पक्षधरले भने कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिएको छ। कांग्रेस बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ।
तर, देउवा पक्ष यो निर्णयप्रति पनि सन्तुष्ट छैन। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै देउवा पक्षले अहिलेसम्म स्वीकार गरेको छैन। अहिले देउवा पक्षका नेताहरू पनि सभापति थापाको हस्ताक्षर लिएर चुनावी मैदानमा गइसकेका छन्। देउवाको अति निकट मानिएका नेताहरू जो टिकट पाउनु अघिल्लो दिनसम्म पनि विशेष महाधिवेशन नेतृत्वकै बिरोध गरिरहेका थिए, उनीहरू पनि चुनावी मैदानमा छन्। नेताहरू डा. प्रकाशशरण महत, एनपी साउद, नैनसिंह महर, किशोरसिंह राठौर, विमलेन्द्र निधि, ज्ञानेन्द्र कार्कीलगायत विशेषको पक्षमा कट्टर विरोधी भएर उभिए। तर, अहिले उनिहरू निर्वाचनमा होमिएका छन्।
यद्यपि बर्दिया क्षेत्र नम्बर २ बाट चुनाव लडेका कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोर पार्टीलाई अभैm बलियो र एक ढिक्का बनाउनका लागि निर्वाचनमा होमिएको बताउँछन्। ‘हाम्रो पार्टीभित्रको संघर्ष हो। अदालतमा मुद्दा छ। मुद्दाको टुंगो लागेको छैन। पार्टीभित्रका हाम्रा आन्तरिक मुद्दा यथावत् छन्। पार्टी, देश र लोकतन्त्रको रक्षाका लागि निर्वाचनमा छौं,’ राठोरले भने।
प्रधानमन्त्रीको उम्मेदवार तोकिएको विषयमा उनले भने, ‘यो विषयमा निर्वाचनको परिणाम पछि छलफल हुन्छ।’ सभापति थापा नेतृत्वले निवर्तमान सभापति देउवासहित कार्यबाहक सभापति पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, रमेश लेखक, बालकृष्ण खाँण, प्रकाशमान सिंह, डा. आरजु देउवा राणा, धनराज गुरुङ, जीवन परियार, रामहरि खतिवडालगायतका नेतालाई टिकटबाट वञ्चित गरेको छ। उनीहरूको मौन बिद्रोह यथावत् नै छ।
यतिबेला तल्लो तहसम्म विभाजित मनस्थितिमा हुँदाहुँदै पनि कांग्रेस अहिले चुनावी अभियानमा छ। कांग्रेसले चुनावी कमान्डर उपसभापति विश्वप्रकाश शर्मालाई बनाएको छ। देउवा पक्षबाट अहिलेसम्म रूख चिह्न लिएर चुनावमा भोट माग्न आउनेलाई भोट दिनुहोस् भनी सामाजिक सञ्जालमा निर्वतमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको प्रतिक्रियाबाहेक अरू केही आएको छैन। सभापति थापाको निर्णयमा अहिलेसम्म देउवा पक्षले खुलेर विरोध पनि जनाउन सकेको छैन।
नेता विश्वकर्मा सभापति थापालाई प्रधानमन्त्री स्विकार्ने कि नस्विकार्ने भन्ने विषयमा अहिले नै विश्लेषण गर्ने बेला नभएको भन्दै त्यसका लागि निर्वाचनमा पार्टीको बहुमत आवश्यक हुने बताउँछन्।
उनले भने, ‘हाम्रो साथ समर्थन कांग्रेसलाई हुन्छ। अब संसदीय दलको नेता जो जित्छ, त्यही प्रधानमन्त्री हुन्छ। संसदीय व्यवस्थामा छौं। यस्तो व्यवस्थामा गगनजी नै संसदीय दलको नेतामा जित्नुभयो भने प्रधानमन्त्री हुनुहुनेछ।’
विशेष महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री डा. डिला संग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशमशेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्वाचित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !