शंकास्पद गतिविधि गर्ने विदेशी बढे
काठमाडौं : कोही बिना दर्ता बालगृह सञ्चालन गर्ने, कोही धर्म प्रचार गर्ने। कोहीको मिसन नै अवैध मानव ओसारपसार गर्ने। यसको गिरोह दिन प्रतिदिन बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको छ।
नेपालमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा अध्यागमन विभागले एक जना चिनियाँ नागरिक र एक जना अमेरिकनलाई पक्राउ गरेको छ। चिनियाँ नागरिकलाई ठमेलको पक्नाजोलमा रहेको फेमिली पिस होटलबाट पक्राउ गरिएको हो। अमेरिकन नागरिकलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको हो।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार लामो समयदेखि विभिन्न भिसा लिएर नेपाल बस्दै आएका ती विदेशीविरुद्ध अध्यागमनमा केही समय अगाडि नै सूचना आएको थियो । तर, फेला पार्न सकिएको थिएन। प्रवक्ता ढकालका अनुसार अध्यागमनको हिरासतमा रहेका उनीहरूको परिचय सार्वजनिक गरिएको छैन। उनीहरूले नेपालमा बसेर अन्य शंकास्पद गतिविधि गरेको थप प्रमाण खोजी गरिँदै छ।
उनीहरू भिसाको उद्देश्यविपरीत शंकास्पद गतिविधिमा संलग्न रहेको विभागको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। पकनाजोलको होटलमा फ्ल्याट लिएर बस्दै आएका चिनियाँ नागरिक २०१२ मा पर्यटक भिसामा पहिलोपटक नेपाल आएका थिए। उनले त्यसपछि १३ पटक व्यावसायिक भिसा लिएको प्रमाण भेटिएको छ। ६ वटा कम्पनी स्थापना गरेर व्यावसायिक भिसा लिए पनि ती कम्पनीहरू कुनै पनि सञ्चालनमा छैनन्।
कम्पनी खोलेर व्यावसायिक भिसा लिने तर कुनै पनि व्यवसाय सञ्चालन नगर्ने गरेकाले चिनियाँ नागरिक अध्यागमनको निगरानीमा परेका हुन्। भिसा लिनकै लागि विभिन्न ६ वटा होटल तथा व्यवसाय कम्पनी स्थापना गरेका थिए। उनले चिनियाँ भाषा सिकाउने कन्सल्टेन्सी तथा अन्य विद्यालयहरूमा चिनियाँ भाषा पढाउँदै आएको भेटिएको छ। अध्यागमन विभागका निर्देशक ढकालका अनुसार पर्यटक र व्यावसायिक भिसामा नेपालमा बस्दा विदेशी नागरिकले काम गर्न नपाउने कानुनी व्यवस्था छ।
आइतबार नै पक्राउ परेका अमेरिकन नागरिकको गतिविधि पनि शंकास्पद देखिन्छ। ६० वर्षमाथिका ती अमेरिकी नागरिक २०१७ मा पहिलोपटक नेपाल प्रवेश गरेका थिए। सन् २०२० मा पुनः नेपाल आएर उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्याल्भेरी सर्भिस सेन्टर प्रालि नामको कम्पनी स्थापना गरेका थिए। २०२० पछि उनी नेपालमा नै छन्। यो कम्पनीको ठेगाना ललितपुरका सैंबुमा उल्लेख गरेको भेटिएको छ।
अध्यागमन विभागका प्रवक्ता ढकाल भन्छन्, अमेरिकन नागरिकले व्यावसायिक भिसा लिनका लागि मात्रै कम्पनी खोलेको देखिन्छ। उनले ललितपुरको गोदावरीमा बालगृह सञ्चालन गरेको बताएका छन्। आधिकारिक बोर्डसमेत नभएको उक्त बालगृहमा १२ जना बालिकाहरूले पढ्दै आएका थिए। उनीहरूलाई क्रिश्चियन धर्म प्रचार गर्नका लागि प्रयोग गरिएको सूचना स्थानीयले अध्यागमनलाई दिएका थिए। त्यो बालगृहको नेपाल सरकारमा दर्ता नै नगरी चलाएको देखिन्छ। स्थानीयको उजुरीको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको निर्देशक ढकालले जानकारी दिए।
पछिल्लो समय नेपाल घुम्न आउने गरेका विदेशी नागरिक अपराधमा संलग्न हुने, शंकास्पद गतिविध गर्ने, अवैध कार्यमा मुछिने जस्ता घटना बढ्न थालेका छन्। अध्यागमन विभागले दिएको तथ्यांकअनुसार सन् २०२५ मा नेपालबाट विभिन्न गतिविधमा संलग्न ५ सय १ जना विदेशी नागरिकलाई डिर्पोट गरिएको थियो। योमध्ये ६४ जना विदेशी नागरिक अपराधमा संलग्न भएका थिए। उनीहरूलाई पक्राउ गरी निश्चित समयका लागि नेपाल आउन नपाउने गरी डिपोर्ट गरिएको थियो। ४ सय ३७ जना विदेशी नागरिक भिसामा उल्लेख भएको समयभन्दा बढी समय नेपाल बसी ओभरस्टे गरेको कसुरमा पक्राउ परी डिपोर्ट गरिएको हो।
अध्यागमन विभागले सन् २०२५ मा ३६ मुलुकका ११६ जनाको प्रवेश अस्वीकार गरेको छ। उनीहरू नेपालको एयरपोर्टसम्म आए तर विमानस्थल अध्यागमनले भिसा नदिएर इन्ट्री रिफ्युज गरेको थियो। प्रवेश नदिइ सम्बन्धित मुलुकमा नै फिर्ता भएका विदेशी नागरिकमा भारत र चीनका नागरिक धेरै छन्। यीमध्ये भिसाको म्याद सकिएका, विगतमा शंकास्पद गतिविधिमा संलग्न भएका, आपराधिक रेर्कड भएका, सुरक्षा खतरा भएका तथा विगतमा पटक–पटक अध्यागमन नियम उल्लंघन गरेका व्यक्तिहरू छन्।
विश्वका ७७ वटा देशबाट २ हजार ७ सय ९० जना नेपाली नागरिक डिपोर्ट भई फिर्ता भएका छन्। जसमध्ये सबैभन्दा बढी मलेसियाबाट ४ सय ९८ जना, अमेरिकाबाट ४ सय ६२ जना, दुबईबाट ३ सय २३ जना, जापानबाट १ सय २८ र दक्षिण कोरियाबाट २ सय ५७ जना छन्। नेपाल आउने विदेशी नागरिक अपराधमा संलग्न हुने, हराउने, जस्ता गतिविधि बढ्न थालेपछि अध्यागमन विभाग सचेत बनेको छ। विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई नियमन गर्नका लागि र ट्र्याकिङ गर्नका लागि अध्यागमनले विदेशी नागरिक सूचना प्रणाली लागू गरेको छ।
प्रतिक्रिया दिनुहोस !