कांग्रेसको घोषणापत्रमा ‘भिजन–१०’
काठमाडौं : नेपाली कांग्रेसले चुनावी घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने जनाएको छ। ‘बदल्यौ कांग्रेस, बदल्छौं देश, यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दछौं हामी, हाम्रो केबल एक ध्येय छ ‘देशको समुन्नति’ भन्ने नारा बोकेको छ। मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई मुख्य आधार बनाएर घोषणापत्र सार्वजनिक हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले
जानकारी दिए।
पार्टीको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिने चालिसेले बताए। ‘घोषणापत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्,’ उनले भने।
घोषणापत्रका लागि कांग्रेसले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको छ। घोषणापत्र समितिका एक सदस्यले भने, ‘अब सभापतिजी सर्लाहीबाट फर्केपछि यहाँ तयार भएका खाका हेर्नुहुन्छ। त्यसपछि सार्वजनिक हुन्छ। बढीमा ४, ५ दिनमा सार्वजनिक हुन्छ,’ उनले अगाडि भने, ‘स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिन्छ। सबै ठाउँबाट एजेन्डाहरू आउने क्रम जारी छ।’
पार्टीको घोषणापत्र समितिको संयोजकमा पार्टी सभापति गगनकुमार थापा छन्। थापाको संयोजकत्वमा बनेको समितिले रफ्तारमा काम गरिरहेको छ। र, विशेष महाधिवेशनपछि दुई धारमा देखिएको कांग्रेसमा घोषणापत्र निर्माणका लागि भने निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता पनि समेटिएका छन्।
प्रवक्ता चालिसेले भने, ‘कांग्रेसमा यो पक्ष र त्यो पक्ष भन्ने छैन। घोषणापत्र निर्माणमा सिंगो कांग्रेस लागेको छ। यो कांग्रेस पार्टी बनाउने मात्र विषय हैन। सिंगो देश निर्माणमा कांग्रेसले दिने भिजन कस्तो छ ? कांग्रेसले देश चलाउँदा कसरी चलाउँछ भन्ने कुरा पनि हो। त्यसैले हामी सबै सँगै छौं।’ ‘कांग्रेसको क्षमता, व्यावहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटेर घोषणापत्र ल्याउने उनले बताए। ‘घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास हुनेछ,’ उनले भने।
यद्यपि देउवा निकटका नेता रामहरि खतिवडा भने जति भाषणमा भन्न सजिलो छ व्यवहारमा पनि त्यसैगरी उत्तारिनुपर्ने बताउँछन्,। उनले भने, ‘श्रीमान्÷श्रीमतीलाई उम्मेदवारमा प्राथमिकता नदिने भन्ने थियो। एक/दुई ठाउँमा त्यो पनि दोहोरिएको छ। अर्को कुरा नातावाद कृपावादको विषयमा खुलेर विरोध गर्ने सभापतिजीले उहाँकै ससुरा, काका ससुरालगायतलाई समेट्नुभएको छ। यस्ता कुरालाई निर्मूल गर्न आपैmंबाट सुरुवात गर्नुपर्छ। यस्ता विषय पनि घोषणापत्रमा आउनुपर्छ।’
जनताका माग अनुरूप घोषणापत्र बन्नुपर्ने खतिवडाले बताए। ‘अरू पार्टीको भन्दा पहिला घोषणापत्र सार्वजनिक गरिनुपर्छ,’ खतिवडाले भने, ‘अहिलेको लक्ष्य भनेको उत्कृष्ट घोषणापत्र ल्याएर जनताको मत जितेर पार्टीलाई पहिलो पार्टी बनाउन लाग्ने हो। हामी त्यही यात्रामा छौं। अरूका गल्तीमा नेतृत्वले औंला उठाउने, तर आफूले त्यही गल्ती दोहोर्याउन मिल्दैन।’
कांग्रेस नेतृ प्रतिमा गौतमका अनुसार पार्टीको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्ने बताइन्। ‘कांग्रेस सिंगो पार्टीको मात्र नभई देशको उत्तरदायित्व बोकेर हिँडेको छ,’ उनले भनिन्, ‘त्यसैले पनि घोषणापत्र अलिकति फरक हुन्छ नै। प्रदेशका साथीहरूसँग अन्तिम छलफल हुँदै छ।’ कांग्रेसले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको पनि एक विज्ञ सदस्यले भने।
घोषणापत्र बनाउने टिममा पार्टी सभापति थापा, प्रताप पौडेललगायतको विज्ञ टोली छ। चुनावमा केन्द्रित हुन आह्वान कांग्रेसले फागुन २१ गते निर्धारित चुनाव केन्द्रित हुन ७७ वटै जिल्लाका सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत भएका या नभएकाहरूलाई पनि विधि विधानले पाएको विषय भन्दै जित हारको कुरा नगरी चुनावमा केन्द्रित हुन कांग्रेसले अपिल गरेको छ। उक्त परिपत्र महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेका हुन्।
परिपत्रमा मुलुकको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास गरिएको उल्लेख छ। ‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिइएको छ,’ परिपत्रमा भनिएको छ, ‘विगतमा भएका कमजोरीलाई आत्मालोचना गर्दै समीक्षा गरिएको र आजसम्मका उपलब्धिलाई समयको पदचापअनुसार संस्थागत गर्ने संकल्प गरेको छ। अब कांग्रेस बदलिएको छ। बदलिनेछ।’
प्रतिक्रिया दिनुहोस !