प्रतीक्षालयहरूमा उभिएला कांग्रेस ?

टिप्पणी

प्रतीक्षालयहरूमा उभिएला कांग्रेस ?
सुन्नुहोस्

विशेष महाधिवेशनका रूपमा नेपाली कांग्रेसभित्र एउटा ‘आक्रामक अग्रसरता’ देखियो। त्यो अग्रसरताले ‘पार्टी रूपान्तरण भयो’ भन्ने भाष्य स्थापित भएको छ र यही भाष्यले जगाएको ऊर्जाका साथ पार्टी चुनावमा होमिएको छ। अब यहाँबाट पछाडि फर्कने छुट कसैलाई पनि छैन। यो ‘आक्रामक अग्रसरता’ले निम्त्याएको राम्रो नराम्रो पक्षलाई पार्टीको नियमित १५आंै महाधिवेशनले गम्भीरतापूर्वक समीक्षा गर्ला नै। त्यसतर्फ नजाऊँ। तर, यो बीचमा केही परिदृश्यहरू देखिएका छन्, जसको चर्चा गर्दा समकालीन नेपाली राजनीतिक अभ्यासलाई बुझ्न मद्दत पक्कै गर्ने छ।

यो ‘आक्रामक अग्रसरता’ले नेपाली कांग्रेसभित्रको एउटा विशिष्ट चरित्रका रूपमा रहेको ‘मध्यमार्गी धार’लाई भत्काइदियो। ‘सबै अट्ने देश, सबैलाई समेट्ने कांग्रेस’ भन्ने नाराका साथ अघिल्लो चुनावहरू ‘फेस’ गरेको कांग्रेसले आफैंभित्र एउटा पक्षलाई ‘भित्तैमा’ पुर्‍याएर अगाडि बढ्यो। यसले कांग्रेसको मध्यमार्गी चरित्र जोगिएन कि भन्ने चिन्ता र चासो आमरूपमा देखियो। ‘रेल गुड्यो, आउने आए, नआउने छुटे’ भन्ने ढंगले कांग्रेस अगाडि बढ्छ कि ?   इतिहास, त्याग, संघर्ष र संकल्प बोकेकाहरूलाई इतिहासको गर्तमै फालिन्छ कि भन्ने चिन्ता पनि जगायो।

तर, अवस्था आफैंमा सम्हालिँदै गएको देखिन थाल्यो। कांग्रेस बाहेकका पार्टीमा विग्रह हुँदा प्रयोग भएका र देखिएका आक्रामक शैली, घृणाजन्य अभिव्यक्ति, व्यक्तिको नाम किटेर खुइलाउने प्रवृत्तिबाट कांग्रेसले आफूलाई जोगाएको छ। विशेष महाधिवेशनपछिको केन्द्रीय समितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकत्वका लागि प्रस्ताव गर्नु र देउवा पक्षले अदालतमा आफूहरूको मुद्दा विचाराधीन अवस्थामा हुँदाहुँदै पनि ‘बिनाशर्त रूखको प्रचारमा खट्न’ इच्छा जाहेर गर्नु अहिलेको अवस्थामा सामान्य कुरा हैन। यी दुवै सन्दर्भले राजनीतिक यात्राका क्रममा आउने परिघटनाहरूमा पनि परिपक्व राजनीतिक दल र त्यसका नेताहरू कसरी अगाडि बढ्न सक्दा रहेछन् भन्ने कुराको उदाहरण पेस गरेको छ।

विशेष भेलामार्फत रणनीति बनाउन एक पक्षको तयारी रहेको सूचनाहरू सञ्जालमा आइरहँदा त्यो सूचनालाई खारेज गरेर अदालतको निर्णय पर्खने र रूखको पक्षमा मत माग्नेबाहेक अरू कुनै कुराहरू सान्दर्भिक हुँदैनन् भनी स्पष्टीकरण दिनुले पनि हार्दिकतालाई अझ उचाइमा पुर्‍याएको देखियो।

टिकट वितरणमा प्रशस्त संख्या छ नयाँ उम्मेदवारको। युवापंक्ति नेतृत्वमा आएसँगै जेन–जी विद्रोहको मनोविज्ञानको बोध भएर ‘कांग्रेसलाई बदल्यौं, अब देश बदल्छौं’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी प्रचारमा गएको छ। 

यो पनि एउटा लोकतान्त्रिक समुन्नत संस्कृतिको अभ्यासको एउटा शृंखला हो। यो संस्कृति पार्टीभित्र दुई पक्षका रूपमा उभ्याउन खोजिएकाहरू बीचको मिलन बिन्दु नै बन्न पुगेको छ। बीपी कोइरालाले छानेको रूखप्रतिको सम्मोह अर्को मिलन बिन्दु बनेको छ।

यो बेला एकथरीको उन्मादले र अर्कोथरीको निराशा अनि बदलाभावले कांग्रेस सकिन्छ कि भन्ने भय थियो। तर, सग्लो भएर, रूख चिन्नमात्र लिएर अनि देशलाई सम्हाल्दै बदल्ने संकल्प लिएर आएको कांग्रेसलाई उसका तल्लो तहका कार्यकर्ताले भावनात्मक रूपमा स्विकार गरेको देखिएको छ। बागी उम्मेदवारको संख्या योपटक नगन्य हुनु आफैंमा यो कुराको पुष्टि हो। सायद यति न्युन बागी उम्मेदवारसहित कांग्रेस पहिलोपटक निर्वाचनमा गएको छ।

कांग्रेसभित्र देखिएको यो विशिष्ट चरित्रले राजनीतिभित्र अपेक्षित चरित्रलाई फेरि मूलधारमा ल्याइदिएको मान्न सकिन्छ। अब फेरि आफ्नो विशिष्ट चरित्र ‘मध्यमार्गी धारलाई जोगाउँदै ‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ भन्ने नाराको भावपक्ष सहित कांग्रेस उभिन पर्ने छ। रेल गुडाइसकेको नेतृत्वले ‘ब्याक गेयर’ लगाउन त जरुरी छैन, तर यात्राका क्रममा प्रशस्त प्रतीक्षालयहरू छन् त्यो हेक्का राखेर रेललाई रोक्नसक्नु भने पर्छ नै। 

आसन्न निर्वाचन, पार्टी महाधिवेशन, पार्टी र सरकारमा जिम्मेवारी बाँडफाँट, नयाँ मनोविज्ञानसँगको अन्तक्र्रियाका प्लेटफर्महरू अबको कांग्रेसका अनिवार्य रोकिनुपर्ने प्रतीक्षालयहरू हुन्। यी प्रतीक्षालयहरूमा रुक्दै, सम्हालिँदै र सबैको बन्दै जाने हो भने फेरि पनि कांग्रेसको त्यही ‘मध्यमार्गी धार’ बलियो हुने छ र ‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’को नारालाई सार्थकता दिनसक्छ।यो संभावनासहितको कांग्रेसले देश बदल्न प्रयत्न त गर्ला नै, समाजमा तीव्र ध्रुवीकरण हुँदै गरेको वर्तमान अवस्थामा हार्दिकता र सहकार्यको सन्देशसमेत दिनसकेको छ। विग्रहको यो क्षणमा पनि सम्हालिँदै, सबैलाई जोड्दै जाने चुनौतीको मझधारमा रहेको कांग्रेसले ‘व्याक गेयर’ नलगाए पनि आफ्नो यात्राको क्रममा आउने प्रतीक्षालयमा आफूलाई रोक्ला कि नरोक्ला ?  त्यो भने हेर्दै जाने कुरा हो।
(पोखरेल नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.