रविले कोरेको द्विपक्षीय सम्बन्धको खाका

रविले कोरेको द्विपक्षीय सम्बन्धको खाका
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको दुई महिनापछि नेपाल र भारतबीच विदेशमन्त्री स्तरमा पहिलो औपचारिक वार्ता भएको छ। भारत भ्रमणमा रहेका नेपाली परराष्ट्रमन्त्री शिशिर खनाल र उनका भारतीय समकक्षी डा. एस. जयशंकरबीच शनिबार साँझ नयाँ दिल्लीमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ। यस वार्तापछि दुवै पक्ष आपसी सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा निकै उत्साहित देखिएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले हिन्दुस्तान टाइम्सको लेखमार्फत अगाडि सारको दुईपक्षीय सम्बन्धको खाकाअनुसार नै दुई पक्ष अगाडि बढेको देखिन्छ। किनभने भ्रमणको दौरानमा दुवै पक्षले पटक–पटक सो लेखको उल्लेख गरेका छन् र भारतको बौद्धिक क्षेत्रमा यसले प्राथमिकता पाएको देखिन्छ। 

सहकार्यका नयाँ क्षेत्र र भारतीय दृष्टिकोण

वार्ताका क्रममा भारतीय विदेशमन्त्री एस.जयशंकरले परम्परागत सहकार्यका क्षेत्रहरूलाई निरन्तरता दिँदै अबका दिनमा स्टार्टअप, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स र नवीकरणीय ऊर्जाका क्षेत्रमा साझेदारी विस्तार गर्ने उपयुक्त अवसर आएको उल्लेख गरे। भारतीय पक्षको उत्साहलाई निम्न बुँदामा बुझ्न सकिन्छः

  •  रास्वपा अध्यक्षको भ्रमणको प्रशंसाः जयशंकरले हालै भएको रास्वपा अध्यक्ष रवि लामिछानेको भारत भ्रमणलाई ‘एकदमै गज्जबको भ्रमण’ भन्दै प्रशंसा गरे। 
  • एजेन्डाहरूमा समरूपताः वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले अघि सारेका एजेन्डा र भारतले आफ्नो छिमेकी नीतिमा अघि बढाएका प्राथमिकताहरू सँगसँगै मिलेको भारतीय पक्षको दाबी छ। यसले सहकार्यको सम्भावना बढाएको छ। 
  • निर्णायक अवसरः वार्तामा जयशंकरले भने, ‘आज म दुई देशबीच सहकार्य र सहयोगको स्पष्ट र दृढ सन्देश दिन चाहन्छु। हामी विश्वास गर्छौं कि आज नेपाल र भारतको सम्बन्धको दिशालाई निर्णायक रूपमा बदल्ने र द्विपक्षीय सम्भावनालाई साकार पार्ने विशेष अवसर उपलब्ध छ।’
  •  सुरक्षा चासोः यसका साथै, भारतले नेपालसँग जोडिएका आफ्ना केही सुरक्षा संवेदनशीलताका विषयहरू पनि स्पष्ट रूपमा उठाएको छ। जसलाई जयशंकरले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। 

नेपालको स्पष्ट र परिणाममुखी अडान
भारतीय पक्षको प्रस्ताव र चासोमाथि परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकारको दृष्टिकोण स्पष्ट पारे। उनले नेपाल अब राजनीतिक दाउपेचभन्दा पनि आर्थिक र प्राविधिक विकासमा केन्द्रित हुने संकेत गरेः

विगतको भारी नबोक्नेः मन्त्री खनालले वर्तमान सरकार विगतका राजनीतिक विवादका पुराना भार वा असमझदारी बोकेर नहिँड्ने स्पष्ट पारे। उनले भने, ‘वर्तमान नेतृत्व भारतलाई नेपालको सबैभन्दा महत्वपूर्ण साझेदारका रूपमा आत्मसात् गर्दछ।’
पेसाकर्मीहरूको सरकारः भारतीय टेलिभिजन च्यानल एनडीटिभीलाई दिएको अन्तर्वार्तामा मन्त्री खनालले यो सरकार राजनीतिक दलहरूको परम्परागत घेराभन्दा माथि उठेको ‘पेसाकर्मीहरूको सरकार’ भएको दाबी गरे।

स्मार्ट र समयसीमा तोकिएका परियोजनाः विगतमा राजनीतिक असमझदारीका कारण नेपालले धेरै अवसर गुमाएको स्वीकार गर्दै उनले अबका दिनमा निश्चित समयसीमा भित्र सकिने र नेपाललाई सिधा आर्थिक लाभ दिने ‘स्मार्ट परियोजना’ हरू अगाडि बढाउन चाहेको देखिन्छ। 
खनालले वार्तामा रवि लामिछानेको लेखको चर्चा गर्दै त्यही खाका अनुसार अगाडि बढ्ने जानकारी गराए। 

उच्चस्तरीय कूटनीतिक सक्रियता
प्रधानमन्त्री वालेन्द्र शाहले तत्काल भारत भ्रमण गर्न देखाएको केही संकोच र भारतीय विदेश सचिवको नेपाल भ्रमण रद्द भएको पृष्ठभूमिमा कतिपयले सम्बन्धमा चिसोपन आएको अड्कल काटेका थिए। तर, एकै साताभित्र रवि लामिछाने र शिशिर खनालको शृंखलाबद्ध भारत भ्रमणले उक्त संशयलाई चिरेको छ।

लामिछानेलाई उच्च सम्मानः यसअघि भारत भ्रमणमा गएका रवि लामिछानेलाई भारत सरकारले प्रधानमन्त्री सरहको मान्यता र सम्मान दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ताको वातावरण मिलाएको थियो। जहाँ मोदीले सहकार्यका ठोस प्रस्तावहरू ल्याउन आग्रह गरेका थिए।

सघन भेटघाटः वर्तमान भ्रमणका क्रममा मन्त्री खनालले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेजस्ता उच्च अधिकारीहरूसँग गहन छलफल गरे। साथै, इन्डिया फाउन्डेसनको कार्यक्रममा नेपाल मामिलाका जानकार पूर्वराजदूत र बौद्धिक व्यक्तित्वहरूसँग पनि अन्तर्क्रिया गरे।

एजेन्डा व्यवस्थापनमा आएको परिवर्तन
यसअघिका सरकारहरूले भारत भ्रमणका क्रममा सीमा विवाद (कालापानी, लिपुलेक, लिम्पियाधुरा), सन् १९५० को सन्धि, र ईपीजी प्रतिवेदनजस्ता थाती रहेका एजेन्डाहरूलाई जोडतोडका साथ उठाउने गर्थे, जसले गर्दा संवादहरू कतिपय अवस्थामा सुमधुर हुँदैनथे। तर, वर्तमान सरकारले यी संवेदनशील राजनीतिक मुद्दाहरूलाई भ्रमणको मुख्य एजेन्डा नबनाई पहिले दुई देशबीच ‘राजनीतिक विश्वास’ को बलियो वातावरण’ निर्माण गर्ने र त्यसपछि मात्र कूटनीतिक च्यानलमार्फत यी विषय सुल्झाउने नयाँ रणनीति लिएको देखिन्छ, जसलाई भारतले सकारात्मक रूपमा लिएको छ। 

निष्कर्ष तथा आगामी चुनौती
विगत एक सातामा भएका यी उच्चस्तरीय भ्रमण र संवादहरूले नेपाल–भारत सम्बन्धमा निश्चय नै एउटा उत्साहजनक र सकारात्मक सुरुवात गराएका छन्। तर, यो कूटनीतिक ‘स्पिरिट’ आगामी दिनमा कसरी अगाडि बढ्छ, त्यसैले नै दुई देशको भविष्य तय गर्नेछ। विगतमा पनि वार्ताहरू सौहार्दपूर्ण हुने तर कार्यान्वयन फितलो हुने गरेका थुप्रै उदाहरण छन्। 

अर्कोतर्फ, आगामी साता परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदैछन्। पछिल्लो दशकमा नेपाल–भारत सम्बन्धमा ‘चीन फ्याक्टर’ एक बलियो अवयवका रूपमा उदाएको परिप्रेक्ष्यमा, खनालले बेइजिङमा उठाउने विषय र गर्ने सम्झौताहरूले नयाँ दिल्लीसँगको यो भर्खरै सुरु भएको सुखद अध्यायलाई कसरी सन्तुलनमा राख्छ भन्ने कुरा निकै चासोका साथ हेरिनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.