इजरायली राजदूतावासले मनायो अन्तर्राष्ट्रिय ‘होलोकास्ट’ स्मरण दिवस
काठमाडौं : नेपालस्थित इजरायली राजदूतावासले संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय ‘होलोकास्ट’ पीडित स्मरण दिवस मनाएको छ। काठमाडौंमा आयोजित कार्यक्रम गरी 'जिकारोन बासालोन- बैठक कोठामा स्मृति' शीर्षकमा होलोकास्टका पीडितहरूको सम्झना गरिएको हो।
'मर्यादा र मानव अधिकारका लागि होलोकास्ट स्मरण' भन्ने यस वर्षको विश्वव्यापी नारासहित आयोजित कार्यक्रममा होलोकास्टका क्रममा क्रूर र योजनाबद्ध रूपमा हत्या गरिएका ६० लाख यहूदीहरूको सम्मानपूर्वक सम्झना गरियो। कार्यक्रमले स्मृति, मानव मर्यादा तथा घृणा र यहूदी विरोधी भावनाविरुद्ध उभिनुपर्ने जिम्मेवारीको पाठलाई उजागर गरेको छ।
कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू र इजरायलका मित्रहरूको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि इजरायली राजदूत महामहिम शमुलिक एरी बासले भने, 'जातीय विभेद र कुनै एक समुदायलाई नै सखाप पार्ने चाहना फेरि कहिल्यै दोहोरिनु हुँदैन। होलोकास्ट मानव इतिहासमा एक कालो धब्बा हो।'
होलोकास्टका पीडितहरूप्रति समवेदना व्यक्त गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय टोपबहादुर मगरले भने, 'होलोकास्टले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा गहिरो प्रभाव पारेको छ। यसकै फलस्वरूप सन् १९४८ मा संयुक्त राष्ट्रसंघले मानव अधिकारको विश्वव्यापी घोषणापत्र र नरसंहारको अपराध रोकथाम र सजायसम्बन्धी महासन्धिजस्ता आधारभूत दस्तावेजहरू अंगीकार गर्यो, जसमा नेपाल पनि एक पक्ष राष्ट्र हो,' उनले भने, 'हामी आशा, सहिष्णुता र सामाजिक न्याय भएको विश्व चाहन्छौं, जहाँ मानिसहरू मर्यादा र समानताका साथ बाँच्न सकून्।'
कार्यक्रममा संघीय गणतन्त्र जर्मनीका राजदूत उदो भोल्ज र अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले पनि आ-आफ्ना विचार व्यक्त गरेका थिए। सो अवसरमा होलोकास्ट बाँच्न सफल सोफिया गेलरको भिडियो सन्देश प्रस्तुत गरिएको थियो, जसमा उनले होलोकास्टका बेला भोगेका दर्दनाक अनुभवहरू साझा गरेकी थिइन्। दुई नेपाली विद्यार्थीहरूले प्रस्तुत गरेको संघीतले कार्यक्रमलाई थप भावपूर्ण बनाएको थियो।
कार्यक्रममा अर्का होलोकास्ट पीडित डुगोको भिडियो पनि देखाइयो, जसले स्वतन्त्रताको प्रतीक र जीवनको उत्सव मनाउन हरेक जनवरी १८ मा ‘फलाफेल’ खाने परम्पराको सुरुवात गरेका थिए। इजरायली राजदूतावासले होलोकास्ट शिक्षा तथा शान्ति, सहिष्णुता र आपसी सम्मानका मूल्यहरूको प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
प्रतिक्रिया दिनुहोस !