दोलखाको कालिञ्चोकमा हिमपात
दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ। बुधबार कालिञ्चोकमा हिमपात भएको हो। बिहान झण्डै एक घण्टा हिमपात भएर रोकिएको र साँझमा पुनः हिमपात भएको स्थानीयले बताएका छन्। धार्मिक विशेषतासँगै प्राकृतिक विशेषतासमेत रहेको कालिञ्चोक मन्दिर दर्शन गर्न पुगेका पर्यटकहरू हिउँमा रमाइरहेको कालिञ्चोकको कुरीमा रहेका स्थानीयहरूको भनाइ छ।
यो वर्षको पहिलो हिमपातमा कालिञ्चोक दर्शन गर्न गएका दर्शनार्थीहरूले हिउँसँग रमाइलो गरेका छन्। कालिञ्चोकमा यो वर्षको पहिलो हिमपात भएकोले पनि सबै खुशी भएका छन्। विगत वर्षहरूमा कालिञ्चोकमा पुस–माघदेखि फागुन अन्तिमसम्मै हिमपात हुने गरेकोमा केही वर्षदेखि भने वर्षमा २/४ पटक मात्र हिमपात हुने गरेको स्थानीयको भनाइ छ।
३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोकमा बुधबार बिहान ९ बजेतिर झण्डै एक घण्टा हिमपात भएको र साँझ ४:४५ बाट पुनः हिमपात सुरु भएको कालिञ्चोक कुरीमा रहेका होटल व्यवसायीहरूको भनाइ छ।
हिमपात भएपछि यो वर्ष जिल्लाका पर्यटकीय स्थल कालिञ्चोक, शैलुङ, चेर्दुङ लगायतका स्थानहरूमा पर्यटक आउने अपेक्षा गरिएको छ। हिउँमा रमाउन यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड लाग्ने गर्दछ। हिमपात नहुँदा हिमाली क्षेत्रका कृषक तथा होटल व्यवसायीहरू चिन्तित भएका थिए।
प्राकृतिक सुन्दरताले भरिपूर्ण कालिञ्चोक हिउँदको समय होस् या वर्षायाम, जुनसुकै समयमा पनि सुन्दर देखिन्छ। सदरमुकाम चरिकोटबाट १८ किलोमिटर दूरीमा रहेको र राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको सुन्दर धार्मिक एवं प्राकृतिक पर्यटकीय केन्द्र कालिञ्चोकले हरेक मौसममा फरक–फरक सुन्दरता दिने हुँदा पर्यटकको गन्तव्यस्थल बन्न पुगेको छ।
यहाँ आन्तरिक पर्यटक मात्र होइन, बाह्य पर्यटकहरू पनि आउने गरेका छन्। केही वर्षअघिसम्म आन्तरिक पर्यटक मात्र देखिने कालिञ्चोक मन्दिरमा अहिले दैनिकजसो ८०/९० जना भारतीय पर्यटकहरू पनि पुग्ने गरेका छन्।
कालिञ्चोकको कुरीमा सुविधासम्पन्न होटल भएकाले पनि शुक्रबार, शनिबार, विभिन्न पर्व र बिदाको समयमा दैनिक चार–पाँच सय पर्यटक पुग्ने गर्छन्। तीमध्ये झण्डै ९० जनाभन्दा बढी भारतीय पर्यटक पुग्ने गरेको कालिञ्चोक भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष चन्द्र लामाले बताए।
कालिञ्चोकबाट गौरीशंकर, गणेशलगायत हिमशृङ्खला देख्न सकिन्छ। पहाडी टाकुरामा रहेको कालिञ्चोकमा जलकुण्ड पनि रहेको छ। यहाँको मुख्य विशेषता जलकुण्ड हो। जलकुण्डमा कतैबाट पानी आउने ठाउँ देखिँदैन तर हिउँद, वर्षा जुनसुकै समयमा पनि कुण्डमा पानी रहि रहन्छ। यहाँको दर्शन गर्नाले सम्पूर्ण विपत् टरेर जाने किंवदन्ती रही आएको छ।
फागुन–चैतसम्म सेताम्य हिउँले ढाकिने कालिञ्चोकको कुरी र थुम्का आसपास जेठदेखि साउन–भदौसम्म विभिन्न प्रजातिका फूलहरूले पाखा रङ्गीचङ्गी बनाएको हुन्छ। अझ विभिन्न रङ्गका चिमालले कालिञ्चोकको सौन्दर्यलाई वर्णन गर्न नसकिने बनाएको हुन्छ। असार–साउनमा वर्षा र बादलसँग बदलिने मौसमले फूलहरूको सुगन्ध र सौन्दर्यलाई चहकिलो पारिदिन्छ।
यही मौसममा हरियो पाखाभरि याक र चौँरीले लुकामारी खेल्दै गरेको दृश्यले पर्यटकहरू मोहित बनेका हुन्छन्। हिमपात हुँदा त यहाँको सौन्दर्यको बयान गर्न नसकिने स्थानीयहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस !