काठमाडौं-१ : दुई पटक पराजित मिश्रसहित नयाँ अनुहार मैदानमा, कसका के एजेण्डा ?

प्रकाशमानले भत्काएको ‘एमाले गढ’ फर्काउने दाउमा रेग्मी

काठमाडौं-१ : दुई पटक पराजित मिश्रसहित नयाँ अनुहार मैदानमा, कसका के एजेण्डा ?

काठमाडौं : प्रतिनिधि सभा निर्वाचन आउन ३३ दिनमात्र बाँकी रहँदै गर्दा राज्य सञ्चालनका महत्वपूर्ण निकायहरू रहेको काठमाडौं निर्वाचन क्षेत्र-१ को चुनावी माहौल पनि तातिएको छ। सिंहदरबारदेखि जेनजनी आन्दोलनमा ध्वस्त भएको संसद भवनसम्म यही क्षेत्रमा पर्छन्। 

तेस्रो पटक चुनावी मैदानमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रदेखि पत्रकारिता पृष्ठभूमिकी मेनुका भण्डारी र विकेकशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशपछि उम्मेदवार बनेकी रञ्जु दर्शना न्यौपानेसम्मका नयाँ-पुराना नेताहरूको टक्करले काठमाडौं-१ को चुनावी भिडन्तलाई रोचक बनाउने पक्का देखिएको छ। यसपटक राजनीतिक दलहरूबाट २९ जना उम्मेदवार चुनावी मैदानमा छन् भने १३ जना स्वतन्त्र छन्।

यसअघि दुई पटक काठमाडौं-१ बाट चुनाव लडिसकेका पूर्व पत्रकारसमेत रहेका मिश्र यस पटक भने बाजी मार्ने दाउमा छन्। २०७९ को निर्वाचनमा मिश्रका लागि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह बाधक बनेका थिए। मिश्र उक्त निर्वाचनमा सिंहसँग १२५ मतको अन्तरले मात्र पराजित भएका थिए। 

२०७४ सालको निर्वाचनमा मिश्र विवेकशील साझा पार्टीबाट उम्मेदवार थिए। त्यतिबेला उनी सिंहसँगै ८१८ मतान्तरले पराजित भएका थिए। सिंहले यो क्षेत्रमा पहिलो संविधानसभा २०६४, २०७०, २०७४ र २०७९ मा चुनाव जिते। मिश्रलाई पटक-पटक संसद प्रवेश गर्न रोक्दै आएका कांग्रेस नेता सिंह यस पटकको निर्वाचनमा भने प्रतिस्पर्धाबाट बाहिरिएका छन्। 

०७४ र ०७९ को निर्वाचनमा मिश्र सिंहका निकटतम प्रतिस्पर्धी बने। ०७४ को चुनावमा सिंह १० हजार ९३६ मत ल्याएर निर्वाचित हुँदा विवेकशील साझाका उम्मेदवार मिश्रले १० हजार ११८ मत ल्याए। फेरि तीन वर्षअघि राप्रपाबाट उम्मेदवार बनेका मिश्र १२५ मतान्तरले पराजित बने। सिंह ७,१४३ मत ल्याएर निर्वाचित हुँदा मिश्रले भने सात हजार १८ मत ल्याए। सो निर्वाचनमा कांग्रेसलाई नेकपा (माओवादी केन्द्र)ले सघाएको थियो।

अर्थात् उक्त निर्वाचनमा कांग्रेस-माओवादीको गठबन्धन थियो। अहिले माओवादी केन्द्र अस्तित्वमै छैन। पार्टी एकीकरण गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ। भदौं २३ र २४ गतेको जेनजी आन्दोलनपछिको बदलिँदो परिस्थितिका कारण अहिले ठूला दलहरू एक्ला-एक्लै मैदानमा छन्। देशको बदलिँदो राजनीतिक परिवेश र चीर प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई कांग्रेसले विश्राम दिएसँगै ६० वर्षीय मिश्र तेस्रो पटक जित निकाल्ने दाउमा छन्। उनले सार्वजनिक कार्यक्रमहरूमार्फत आफ्नो ‘ह्याट्रिक’ भिडन्तलाई जितमा बदल्ने दाबी गर्दै आएका छन्। 

कांग्रेसले यो क्षेत्रमा नयाँ अनुहारलाई अगाडि सारेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट ४२ वर्षीय प्रवल थापा क्षेत्री उम्मेदवार बनेका छन्। उनी पार्टीको प्रदेश सभा क्षेत्रीय कार्यसमिति सचिव पनि हुन्। उनी राप्रपाका पूर्व अध्यक्ष कमल थापाका भाञ्जा हुन्। कमल थापा भने काठमाडौं-५ मा उम्मेदवार बनेका छन्। बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै नेकपा (एमाले)ले पनि यो क्षेत्रमा उम्मेदवार फेरेको छ। एमालेले यस पटक काठमाडौं-१ मा मोहनराज रेग्मीलाई उम्मेदवार बनाएको छ। ५६ वर्षीय रेग्मी काठमाडौं-१ कै बासिन्दा हुन्। 

रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाको नाम पहिले समानुपातिक सूचीमा राखिएको थियो। पार्टीको प्रारम्भिक मतदानमा पाएको मतभन्दा सूचीमा तल राखिएपछि उम्मेदवारी फिर्ता लिएर प्रत्यक्षतर्फ मैदानमा उत्रिएकी हुन्। उनी ०७९ को निर्वाचनमा काठमाडौं-५ बाट उम्मेदवार थिइन्। यसअघि उनी २०७४ मा काठमाडौं महानगरपालिकाको मेयरमा पदका लागि चुनाव लडेकी थिइन्। तर, एमालेका विद्यासुन्दर शाक्यसँग उनी पराजित भएकी थिइन्। रञ्जुले यस पटक पार्टी र निर्वाचन क्षेत्र दुवै फेरेकी छन्। यसअघि रास्वपाबाट काठमाडौंं-१ मा उम्मेदवार बनेका पुकार बम यस पटक काठमाडौं-४ सरेका छन्। 

काठमाडौं- मा  जनता समाजवादी पार्टी, नेपालबाट प्रकाश नायजु, नेपाल मजदुर किसान पाटी (नेमकिपा) बाट रमिला ज्याख्व (सुवाल), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सबिन सिग्देल उम्मेदवार बनेका छन्। त्यस्तै श्रम सँस्कृति पार्टीबाट समिर लामा तामाङ, मितेरी पार्टी, नेपालबाट राजकुमार लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट धनराज शाही, उज्यालो नेपाल पार्टीबाट मंगलाल श्रेष्ठ, नेपाल जनसेवा पार्टीबाट अर्जुनबहादुर शाही, समावेशी समाजवादी पार्टी सुरेन्द्र पाण्डे, जनादेश पार्टी नेपालबाट कमल सुवेदी उम्मेदवार छन्।

असिमानसिंह बस्न्यात, कमल कोइराला, कुशल खत्री, कुमार शाही स्वतन्त्र उम्मेदवार छन्। त्यस्तै, किरण शाह, राजु भुजेल, रमेशप्रसाद जोशी, राजकुमार बजगाईं, शम्भु पोखरेल, शान्ति श्रेष्ठ, सुरेन्द्रप्रसाद ढकाल, सागर जोशी, संगीत बमले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। मिश्रबाहेक कांग्रेसका प्रबल, रास्वपाकी रञ्जु, एमालेका रेग्मी तथा नेकपाकी भण्डारी उक्त क्षेत्रका लागि नयाँ अनुहार हुन्।

के छ काठमाडौं-१ को विगत ?
काठमाडौं-१ ०४८ देखि ०५६ मा नेकपा एमालेको दबदबा रहेको क्षेत्र हो। जननेता मदन भण्डारीदेखि मनमोहन अधिकारी, प्रदीप नेपाललगायतले यसै क्षेत्रबाट चुनाव जितेका थिए। ०६४ को पहिलो संविधानसभादेखि ०७९ सम्म यस क्षेत्रको निर्वाचनमा कांग्रेसका एकै नेताको एकछत्र रह्यो। तीन वर्षअघि यो क्षेत्रमा कांग्रेस र राप्रपाबीच रोचक प्रतिस्पर्धा हुँदा एमालेलाई भने रास्वपाले उछिनेको थियो।

त्यसबेला तेस्रो बनेका रास्वापाका उम्मेदवार पुकार बमले ४,११५ हात पारेका थि । एमाले चौंथो बनेको थियो। एमाले उम्मेदवार किरण पौडेलले ३,५३२ मत ल्याएका थिए। नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेलले ३,१२४ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ। नेपालका लागि नेपाली पार्टीको उम्मेदवार बालकृष्ण न्यौपानले ५९० मत ल्याए। ती बाहेकका उम्मेदवारले उल्लेखनीय मत पाउन सकेनन्। 

सबै उम्मेदवारको साझा मुद्दा ‘सुकुम्बासी’ समस्या
२०४६ को परिर्वतनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले एमाले महासचिव मदन भण्डारीसँग चुनाव हारेपछि २०४८ देखि एकाएक चर्चामा आएको काठमाडौं निर्वाचन क्षेत्र-१ लाई बौद्धिक र सुझबुझ मतदाता भएको शहरको रूपमा चिनिन्छ।

कृष्णप्रसाद, मदन-विद्या भण्डारी, प्रदीप नेपाललगायतका नेताहरूको प्रतिस्पर्धाको थलोको रूपमा चिनिएको काठमाडौं-१ बाट पछिल्लो चार निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लगातार जित्दै आएका थिए। कांग्रेसले युवा अनुहार  र स्थानीय भन्दै उम्मेदवार बनाएका प्रबल थापालाई प्रकाशमान सिंहको विरासत जोगाउनु पर्ने चुनौती पनि थपिएको छ। 

यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिका-१०, ११, २९ र ३१ रहेको छ। मतदाताको संख्याका आधारमा काठमाडौंको १० मध्ये यो सबैभन्दा सानो निर्वाचन क्षेत्र हो। यहाँ कूल ४८ हजार ४८९ मतदाता छन्। २२ मतदानस्थल र ५७ मतदान केन्द्र रहेको उक्त निर्वाचन क्षेत्र अन्तर्गत नयाँ बानेश्वर, पुरानो बानेश्वर, भिमसेनगोला, डिल्लीबजार, पुतलीसडक चोकबाट पूर्वतर्फको सिंहदबारतर्फ, अनामनगर, बुद्धनगर, बबरमहल, माइतीघर थापाथली पुल उत्तरपश्चिम हुँदै त्रिपरेश्वर, भोटेबहालसम्म पर्छ।

घना बसोबास भए पनि उक्त क्षेत्रमा मतदाता संख्या वृद्धि भने निकै न्यून देखिन्छ। २०७४ मा कुल मतदाता ४२ हजार ४३० थियो। अहिले आठ वर्षपछि साढे ४८ हजार मात्र छ। मतदाता संख्या कम भएकाले सबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने र हार-जितको मतान्तर पनि थोरै हुने स्थानीय अनुमान गर्छन्।

सांसदहरूको मुख्य काम-कर्तव्य कानुन निर्माण गर्ने भए पनि स्थानीय समस्या हल गर्ने प्रतिबद्धता नजनाएसम्म मतदाता खुशी पार्न नसक्ने अवस्था यहाँ पनि छ। त्यसैले यस पटक पनि उम्मेदवारहरूले स्थानीय समस्यालाई प्रमुख मुद्दा बनाउने तयारी गरिरहेको देखिन्छ। जेनजी आन्दोलनका क्रममा नव युवाहरुले शहादत प्राप्त गरेको बानेश्वर यही निर्वाचन क्षेत्रमा पर्छ।

त्यसैले दलका उम्मेदवारहरूले निर्वाचनका क्रममा भदौ २३ र २४ को घटनालाई अझ बढी उठाउने मनस्थितिमा देखिएका छन्। आफ्नै निर्वाचन क्षेत्रमा भएको नरसंहारलाई भुल्न नसक्ने भन्दै शहादत प्राप्त शहीदहरूको सपना पूरा गर्न सांसदहरुको हैसियतले सक्रिय भूमिका निर्वाह गर्ने उम्मेदवारहरुले बताइरहेका छन्। 

सांसदको हैसियतमा कानुन निर्माण मात्र होइन स्थानीय क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकालाई उम्मेदवारहरूले समान रूपमा उठाउने जमर्को गरिरहेका छन्। उनीहरूले सुकुम्वासी समस्या, ढल, सडक, आवास क्षेत्रको व्यवस्थापन तथा नदी नियन्त्रणका विषयलाई मूल मुद्दा बनाउने तयारी गरेका छन्। सुकुम्वासी समस्यालाई उम्मेदवारहरूले साझा मुद्दा बनाउने देखिएको छ। 

उक्त क्षेत्रको चार वडामध्ये १०, ११ र ३१ मा सुकुम्वासी समस्या छ। उक्त वडाहरूमा झण्डै दुई हजार पाँच सयको संख्यामा सुकुम्बासी छन्। विशेषतः बागमती किनार हुँदै थापाथलीसम्मका सुकुम्वासीको विषय हरेक निर्वाचनमा उठ्ने गरेको छ।

काठमाडौं महानगरपालिकाले डोजर लगाएर सुकुम्बासी हटाउन खोज्दा केही समय पहिले नगर प्रहरी र सुकुम्बासीबीच झडपसमेत भएको थियो। तर, यसलाई निर्वाचनमा मुद्दा मात्रै बनाउने गरिएको गुनासो स्थानीयको छ । कांग्रेसका प्रकाशमानले यहाँबाट लगातार चार पटक चुनाव जितेको क्षेत्र भएकाले स्थानीय समस्या किन हल हुन सकेन भन्ने जिज्ञासा अन्य उम्मेदवारले साझा प्रश्न बनाउने गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.