पर्साका चार चुनावी क्षेत्रमा चार पूर्वमन्त्री, पार्टी फेरेका यादवले मार्लान् त बाजी ?
पर्सा : माघ महिनाको आधाउधी दिन बितिसक्दा चिसोले कठ्याङग्रिएको दक्षिणी भाग भारतसँग जोडिएको मधेस प्रदेशको पर्सामा चुनावी सरगर्मीको ‘पारो’ भने घट्नुको सट्टा दिनदिनै उकालो लागिरहेको छ ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा चार पूर्वमन्त्रीको चुनावी भिडन्तले पर्साको चुनावी चासो र चर्चा अन्यत्रको भन्दा कम छैन । पर्साको निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेबाट प्रदीप यादव चुनावी मैदानमा उत्रिएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी भर्खरै मात्र एमाले प्रवेश गरेका यादवको दल बदलीसहितको निर्वाचन परिणाम कस्तो होला ? भन्ने चर्चा परिचर्चा चलिरहेको छ ।
पछिल्लो समय जसपा नेपालबाट टिकट पाउने सम्भावना नदेखिएपछि उनले अन्तिम समयमा पार्टी नै परिवर्तन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिकट लिए । ०७९ मा पहिलो पटक वनमन्त्री भएका यादव, स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदै खानेपानी मन्त्री समेत बने । चुनाव नजिकिंदै गर्दा एमालेमा हामफालेका यादव पर्सा–१ बाट ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । उनी मधेस आन्दोलनबाट उदाएका नेता हुन् ।
उनी ०७४ मा संघीय समाजवादी फोरम र ०७९ मा जनता समाजवादी पार्टी (जसपा), नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यता नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–२ बाट पूर्वमन्त्री अजयकुमार चौरसियाले चुनौति पस्किरहेका छन् । विघटित प्रतिनिधि सभा सदस्य चौरसिया यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुनमन्त्री थिए ।
उनी ०७९ को प्रतिनिधि सभा निर्वाचनमा २८ हजार ४५१ मत ल्याई विजयी भएका थिए । विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न चौरसिया ०५१ सालदेखि नेपाली कांग्रेस, पर्सा जिल्ला कार्यसमिति सदस्य रहँदै आएका थिए ।
०५६ मा उनी पर्सा क्षेत्र नम्बर–२ बाट सांसद निर्वाचित भए । २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्थानीय विकास मन्त्रालयको सहायकमन्त्री समेत बने । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट चुनाव जिते ।
त्यस्तै नेपाली कांग्रेसका अर्का पूर्वमन्त्री सुरेन्द्र चौधरी पनि पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट चुनावी मैदानमा छन् । चार पटक सांसद निर्वाचित भएका र पटक–पटक मन्त्री भइसकेका चौधरी नेपाली कांग्रेस पर्साका पूर्व सभापति र पूर्व केन्द्रीय सदस्य हुन् । वौद्धिक र इमान्दार छविका चौधरीले विज्ञान तथा प्रविधि मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिसकेको अनुभव छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका रमेश रिजाल पनि चुनावी प्रतिष्पर्धामा छन् । ६ दशक लामो राजनीतिक संघर्षका अनुभवी रिजालले २०७९ सालको निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गर्दै निर्वाचित भएका थिए । रिजालले ३१ हजार १४२ र मन्सुरीले २५ हजार ६१२ मत पाएका थिए ।
पर्साको जगरनाथपुर गाउँपालिका–५, धर्मपुर मसिहानीमा जन्मिएका रिजालले १४ वर्षकै उमेरमा एसएलसी गरेर वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरेका थिए । उनी विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय बने । २०२६–०४६ को अवधिमा पटक–पटक गरी तीन वर्ष जेल जीवन समेत बिताएका छन् ।
पर्सा कांग्रेसको सचिवको जिम्मेवारीबाट पार्टी राजनीतिमा भित्रिएका रिजालले २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन हुँदा शेरबहादुर देउवालाई साथ दिए । ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेपाली कांग्रेसको तर्फबाट उद्योगमन्त्री भएका थिए ।
पर्सा–१ मा ३० जना उम्मेदवार, एक जना मात्रै महिला
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर–१ बाट ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एकजना मात्रै महिला उम्मेदवार छन् ।
पर्सा क्षेत्र नम्बर–१ मा वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भिश्वा बस्ने शशिकला राउतले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । यहाँ नेपाली कांग्रेसले संविधानसभा सदस्य एवं व्यवसायी अनिलकुमार रूंगटा, जनता समाजवादी पार्टी (जसपा) ले रामनरेश प्रसाद यादव, नेकपा एमालेले पूर्वमन्त्री प्रदीप यादव र जनमत पार्टीले ओमप्रकाश सर्राफलाई अघि सारेको छ ।
ओमप्रकाश र रामनरेश अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्य पदमा उम्मेदवार थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुद्धिप्रसाद पन्त (हरि) लाई उम्मेदवार बनाएको छ । रास्वपा पर्साका अध्यक्ष समेत रहेका उनी होटल तथा पर्यटन व्यवसायी हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अजय चौरसिया चुनावी मैदानमा छन् । २०६९ सालमा जसपा नेपालसँग चुनावी तालमेल गरेका कारण एमालेले त्यति बेला उम्मेदवार उठाएको थिएन । २०८१ वैशाखमा पार्टी फुट्दा प्रदीपले अशोक राईलाई साथ दिँदै जनता समाजवादी पार्टीमा गएका थिए ।
पर्सामा ३० हजार बढी नयाँ मतदाता
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्साबाट तीन लाख ७६ हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार, फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाबाट २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा हुने कूल मतदाताको संख्या तीन लाख ७६ हजार ५१३ जना छन् ।
तीमध्ये पुरुष मतदाता दुई लाख १२ हजार ७७, महिला मतदाताको संख्या एक लाख ६४ हजार ४२१ र अन्य लिङ्गका मतदाता १५ जना रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये सबै भन्दा बढी मतदाता निर्वाचन क्षेत्र नम्बर–३ मा ९६ हजार ५४२, क्षेत्र नम्बर–४ मा ९५ हजार २१३, क्षेत्र नम्बर–२ मा ९५ हजार १२० र क्षेत्र नम्बर–१ मा ८९ हजार ६३८ जना छन् ।
यसअघि २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पर्सामा कूल तीन लाख ४५ हजार ९२८ मतदाता थिए । जसमध्ये पुरुष मतदाताको संख्या एक लाख ९४ हजार ९०४, महिला मतदाताको संख्या एक लाख ५१ हजार ८ र अन्य मतदाता १६ जना थिए ।
पर्सामा गत २०७९ को प्रतिनिधि सभा निर्वाचन भन्दा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा ३० हजार ५८५ मतदाता थपिएका छन् । यस्तै आगामी फागुन २१ को निर्वाचनका लागि पर्सा जिल्लामा मतदानस्थल १६७ वटा र मतदान केन्द्र ४४१ वटा निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
पर्सा जिल्लाको क्षेत्र नम्बर ४ मा सबै भन्दा बढी ४८ वटा मतदाना स्थल र १ सय १४ वटा मतदान केन्द्र र निर्वाचन क्षेत्र नम्बर–१ मा सबै भन्दा कम ३४ वटा मतदानस्थल र १०३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यसअघि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पर्सामा मतदानस्थल १६९ वटा र मतदान केन्द्र ४१७ वटा निर्धारण गरिएको थियो ।
कस्तो छ पर्सा–१ मा चुनावी अंक गणित ?
देशैभर चुनावी माहोल तात्दा पर्सा क्षेत्र नम्बर–१ पनि त्यसबाट अछुतो छैन । अझ, यो निर्वाचन क्षेत्रमा यस पटक रोमाञ्चक नतिजा आउन सक्ने विश्लेषण हुन थालेका छन् । कारण हुन्, लगातार जितको झण्डा फर्रफर्राइसकेका प्रदीप यादव ।
यो पटक पर्सा क्षेत्र नम्बर–१ मा पुराना अनुहारसँगै नयाँ अनुहार पनि चुनावी प्रतिष्पर्धामा छन् । एमालेका यादवसहित कांग्रेसका रुगंटा, नेकपाबाट अजय चौरसीया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बुद्धिप्रसाद पन्त, राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) बाट नन्दकिशोर प्रसाद श्रीवास्ताव, जनता समाजवादी पार्टी नेपालबाट रामनरेश प्रसाद यादव, जनमत पार्टीबाट ओमप्रकाश शर्राफ, नेपाल मजदुर किसान पार्टीबाट प्रमोदप्रसाद पटेल, नेपाल
लोकतान्त्रिक पार्टीबाट शालिकराम प्रसाद कानु, नेपाल जनता पार्टीबाट सुरेशप्रसाद साह कानुले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेकपा (संयुक्त) बाट शंकरकुमार कर्ण, श्रम संस्कृति पार्टीबाट वसिम शेष, उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह, नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट सोएब अन्सारी, राष्ट्र निर्माण दल नेपालबाट मोहम्मदर उमर खान, आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट विश्वराज पटेल, पिपुल फस्र्ट पार्टीबाट जाबेद एकबाल हैदर, जनअधिकार पार्टीबाट महेशकुमार पासवान चुनावी मैदानमा छन् ।
अनिलप्रसाद यादव, अभिनाश चौरसिया, आर्य शशिकला राउत, दीपकुमार बर्मा, नरेशकुमार यादव, प्रेम मेहता, पुकार थापा, म. साजिद अली, विशालकुमार पाण्डेय, विशाल कुमार, शिवप्रसाद कोइरी र सरोजप्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस !