युवा संघको अध्यक्षमा गुरुङ चयन
काठमाडौं : राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन भएका छन्। शुक्रबार काठमाडौंमा बसेको युवा सङ्घ केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षमा चयन गरेको हो।
कार्यक्रममा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन्। त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुले कार्यकालको शुभकामना दिएका थिए।
अध्यक्षमा चयन भएपछि गुरुङले राजनीतिक र वैचारिक रूपमा संगठनलाई बलियो बनाउँदै लैजाने बताए। आसन्न निर्वाचनमा पार्टीलाई विजयी बनाउन जनताको बीचमा गएर युवाहरूको मुद्दालाई अघि बढाउने उनको भनाइ छ।
संघको गत जेठ १४ गते पोखरामा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट एमालेका तर्फबाट उम्मेदवार बनेपछि नेतृत्व हस्तान्तरण गरे। अध्यक्षको जिम्मेवारी पाएलगत्तै गुरुङले पद तथा गोपनीयताको सपथ पनि लिएका थिए।
प्रतिक्रिया दिनुहोस !