काठमाडौं : संघीय राजधानीसँग जोडिएको, ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको ललितपुर अहिले फेरि चुनावी तापले तातेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा ललितपुरका तीनवटै निर्वाचन क्षेत्र राजनीतिक चासोको केन्द्र बनेका छन्।
प्रतिस्पर्धा दोहोर्याएकादेखि अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा दिएका उम्मेदवारका कारण ललितपुरको निर्वाचन चहलपहलले सबैको ध्यान खिचेको छ। यस पटकको चुनाव ललितपुरमा केवल जित-हारको अंक गणितमा सीमित छैन। यहाँ पुराना अनुहारको विरासत, नयाँ शक्तिको दाबी, स्वतन्त्र उम्मेदवारको भीड र मतदाताको बढ्दो सचेतनाबीच कडा प्रतिस्पर्धा हुने स्पष्ट देखिन्छ। तीन वटै क्षेत्रमा गरी ७४ जना उम्मेदवार मैदानमा उत्रिएका छन्, जसमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेखनीय छ।
ललितपुर-१ : उदयशमशेरको पुनरावृत्ति, एमालेको नयाँ दाउ र स्वतन्त्रको भीड
नेपाली कांग्रेसबाट उदयशमशेर राणा फेरि दोहोरिएका छन्। ०६४ यता निरन्तर चुनावी मैदानमा रहेका राणा कहिले जित, कहिले हारको अनुभव बोकेर आएका ‘टेस्टेड’ नेता हुन्। ०७९ को निर्वाचनमा एमालेका नवराज सिलवाललाई हराउँदै विजयी बनेका राणा यस पटक पनि आफ्नो सिट जोगाउने प्रयासमा छन्। उनले ०६४ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएका वर्षमान पुनसँग हार व्यहोरेका थिए। ०७० मा नेकपा एमालेका मधुसुदन पौडेललाई हराएका राणाले ०७४ मा एमालेका नवराज सिलवालसँग हार व्यहोरे।
फेरि ०७९ सालको चुनावमा राणाले एमालेका उनै सिलवाललाई हराए। राणा ०७९ को चुनावमा २३ हजार ८९२ मत प्राप्त गर्दै विजयी बनेका थिए। उनलाई एमालेले पछ्याएको थियो। एमालेका उम्मेदवार नवराज सिलवालले १९ हजार २७८ मत प्राप्त गरेका थिए।
तर, यसपटक एमालेले चेतनाथ सञ्जेललाई अघि सारेको छ ०७४ को प्रदेशसभा निर्वाचन जितिसकेका सञ्जेललाई एमालेले ‘नयाँ अनुहार तर अनुभवी’ को रूपमा प्रस्तुत गरेको छ। उनी ०७४ सालको प्रदेशसभा चुनावमा १ (ख) बाट विजयी बनेका थिए। अघिल्लो पटक पराजित सिलवाल स्वयं सञ्जेलको चुनावी अभियानमा सक्रिय छन्, जसले एमालेभित्रको एकताबद्धता देखाउने प्रयास गर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जन, नेकपाबाट सुनिल महर्जन, राप्रपाबाट सजिना कार्की लगायतका उम्मेदवारले प्रतिस्पर्धालाई त्रिकोणात्मक मात्र होइन, बहुकोणात्मक बनाइदिएका छन्। स्वतन्त्र उम्मेदवारको संख्या धेरै हुनु मतदातामा दलप्रतिको निराशा र ‘आफ्नै मान्छे’ खोज्ने चाहनाको संकेत मानिन्छ। यद्यपि, धेरै स्वतन्त्र उम्मेदवारले मत विभाजन गर्दा अन्ततः फाइदा ठूला दलकै उम्मेदवारलाई पुग्ने सम्भावना पनि उत्तिकै छ।
ललितपुर-२ : एमालेको विरासत जोगिने कि नयाँ चुनौतीले भत्काउने?
ललितपुर-२ संसदीय इतिहासमै एमालेको बलियो पकड रहेको क्षेत्र हो। २०४८ यताका अधिकांश संसदीय निर्वाचनमा एमालेले यहाँ वर्चस्व कायम गर्दै आएको छ। संसदीय चुनावी इतिहासका पाना पल्टाउँदा ललितपुर-२ मा नेकपा एमालेको बलियो उपस्थिति देखिन्छ। यो दृश्य २०४८ यताका संसदीय निर्वाचन एमालेले वर्चश्व स्थापित गर्दै आएको छ भने संविधानसभाका दुवै चुनावमा एमालेले पकड गुमाएको देखिन्छ।
यस पटक पनि एमालेले अघिल्लो निर्वाचनमा भारी मतले विजयी प्रेमबहादुर महर्जनलाई नै दोहोर्याएको छ। महर्जन १५ हजार २५ मतका विजयी बनेका थिए, निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८ सय ८६ मत पाएका थिए। त्यही दृश्य यसपालि निरन्तर रहला त? जहाँ यसपालि २३ आकांक्षी प्रतिनिधिसभा प्रवेश गर्न प्रतिस्पर्धारत छन्। महर्जनसँगको प्रतिस्पर्धामा अधिकांश नयाँ अनुहार देखिन्छन्। संगठन, इतिहास र मताधार एमालेका बलिया पक्ष हुन्। तर, यस पटकको प्रतिस्पर्धा विगत जस्तो सहज देखिँदैन।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेल मन्त्री पद नै छाडेर चुनावी मैदानमा उत्रिनु यस क्षेत्रको सबैभन्दा रोचक राजनीतिक घटनामध्ये एक हो। मन्त्री हुँदा स्वतन्त्र रहेका खरेल अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारका रूपमा ‘पुरानो राजनीति, नयाँ सोच’ को बहसलाई अगाडि सार्दै मैदानमा उत्रिएका छन्। अघिल्लो चुनावमा रास्वपाबाट उक्त क्षेत्रबाट बुद्धरत्न महर्जन प्रतिस्पर्धामा थिए। अघिल्लो चोटि एमालेसँग राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा)ले चुनावी तालमेल गरेका थिए।
कांग्रेसले प्रेमकृष्ण महर्जनलाई अघि सारेको छ भने राप्रपाबाट रघुवरराज थापा दोहोरिएका उम्मेदवार हुन्। जसपा, नेमकिपा, नेकपा (संयुक्त) लगायतका दलका उम्मेदवारसँगै ७ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन्। ललितपुर-२ मा अर्को रोचक पक्ष के छ भने अधिकांश उम्मेदवार नेवार समुदायबाट छन्। विगतको नतिजाले पनि यो क्षेत्रमा समुदायगत प्रतिनिधित्वले प्रभाव पार्दै आएको देखाउँछ।
तर, यस पटक मतदाताको प्राथमिकता समुदायभन्दा बाहिर निस्कँदै गएको संकेत देखिन्छ। नेपाली कांग्रेसले तत्कालीन नेकपा माओवादी केन्द्र, तत्कालीन एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चासँग सहकार्य गरेका थिए। आउँदो चुनावमा भने एकाधबाहेक प्रायः सबै दलहरू एक्ला-एक्लै चुनावी मैदानमा उत्रिएका छन्।
श्रम संस्कृति पार्टीले सरोज राई, नेकपा (माओवादी)ले अष्टराज बज्राचार्यलाई चुनावी मैदानमा उतारेको छ। उज्यालो नेपाल पार्टीले राजाराम तण्डुकार, राष्ट्रिय मुक्ति पार्टी नेपालले डोलेन्द्रराज भट्टराई, आमजनता पार्टीले लखिन्द्रकुमार साहलाई उमेदवारका रूपमा उभ्याएको छ। उमंग श्रोठ, ओमराज बज्राचार्य, कृष्ण खड्का, बाबुराज बज्राचार्य, मंगलकृष्ण श्रेष्ठ, रविन्द्र अमात्य र रविराज पौडेल स्वतन्त्र उमेदवार हुन्।
ललितपुर-३ : तोसिमाको परीक्षा, पुराना दलको पुनरागमनको प्रयास
ललितपुर-३ यस पटकको निर्वाचनको सबैभन्दा धेरै चर्चा हुने क्षेत्र हो। कारण रास्वपा नेतृ डा. तोसिमा कार्की। ०७९ को निर्वाचनमा अप्रत्याशित रूपमा भारी मतान्तरसहित विजयी भएर रास्वपाको उदयको प्रतीक बनेकी कार्की यस पटक आफ्नो साख जोगाउने चुनौतीमा छिन्। ललितपुर-३ मा २० जनाको उम्मेदवारी परेको छ। जसमध्ये पाँच जना स्वतन्त्र छन्।
यसअघि २०७९ को चुनावमा उक्त क्षेत्रबाट कार्की नै विजयी भएकी थिइन्। रास्वपा एक्लै मैदानमा उत्रिँदा पनि भारी मतान्तरले कार्की विजयी भइन्। २०७९ को चुनावमा नेपाली कांग्रेसले तत्कालीन नेकपा (माओवादी केन्द्र) लाई सघाएको थियो। माओवादीबाट उम्मेदवार बनेकी पम्फा भुसालले हार व्यहोरेकी थिइन्।
कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अमृत खड्कालाई भारी मतान्तरले हराएकी थिइन्। फागुन २१ गते हुने चुनावका लागि यो पटक एमालेले नयाँ अनुहार सन्दन थापा मगरलाई उम्मेदवार बनाएको छ।
यस पटक भुसाल कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेकी छैनन्। उनले नयाँ अनुहारलाई अवसर दिने भन्दै सामाजिक सञ्जालमा चुनाव नलड्ने घोषणा नै गरेकी थिइन्। उनले २०६४ को संविधानसभा निर्वाचन र २०७४ प्रतिनिधिसभा चुनावमा जित हासिल गरेकी थिइन्। तर, २०७९ को चुनावमा तोसिमासँग हार व्यहोरेकी थिइन्।
यस क्षेत्रको खास विशेषता के छ भने रास्वपाबाहेक सबै दलले नयाँ अनुहार अघि सारेका छन्। एमालेबाट सन्दन थापा मगर, कांग्रेसबाट जितेन्द्र श्रेष्ठ र नेकपाबाट राजकाजी महर्जन मुख्य प्रतिस्पर्धीका रूपमा देखिन्छन्। तर, यो चुनाव तोसिमाका लागि सहज छैन। स्थानीय मतदातामा उनीप्रति गुनासा बढेका छन्। ‘जितेर गएपछि फर्केर नआएको’, ‘टोल-टोलमा नदेखिएको’ जस्ता आरोपहरू खुलेआम सुनिन थालेका छन्।
यद्यपि, उनका समर्थक भने अघिल्लो कार्यकाल छोटो भएको र राष्ट्रिय राजनीतिमा आवाज उठाएको दाबी गर्छन्। रास्वपाको देशव्यापी माहोल पनि उनको बलियो पक्ष हो। कांग्रेसका जितेन्द्र श्रेष्ठ स्थानीय, संगठनमा पकड भएका र परिचित अनुहार हुन्। एमालेका सन्दन थापा मगर युवा र सामाजिक अभियन्ताको छवि बोकेर आएका छन्।
नेकपाका राजकाजी महर्जन स्थानीय पहिचानकै आधारमा मत तान्ने प्रयासमा छन्। महर्जन प्रदेशसभा निर्वाचन २०७४ मा ललितपुर ३ (क) बाट विजयी भएका थिए। कांग्रेसले जितेन्द्रकुमार श्रेष्ठलाई उम्मेदवारका रूपमा अघि सारेको छ। २०७९ को समानुपातिक मतलाई आधार मान्दा फागुन २१ गते दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिँदा प्रत्यक्ष फाइदा रास्वपालाई नै पुग्ने देखिन्छ।
तीनवटै क्षेत्रमा मतदाताको साझा भावना स्पष्ट देखिन्छ, अब पार्टीको झण्डा होइन, उम्मेदवारको काम, पहुँच र जवाफदेहिता चाहियो । भ्रष्टाचार अन्त्य, रोजगारी सिर्जना, जनतासँग निरन्तर सम्पर्क र संसदमा बलियो आवाज उठाउने क्षमता मतदाताको मुख्य माग बनेका छन्।
ललितपुरको तीन निर्वाचन क्षेत्रको नतिजाले केवल सांसद को बन्छ भन्ने मात्र होइन, मतदाताको बदलिँदो मनोविज्ञान, नयाँ र पुराना शक्तिको हैसियत र स्वतन्त्र उम्मेदवारको प्रभाव समेत संकेत गर्नेछ। यहाँ कुनै पनि क्षेत्रमा एकपक्षीय लहर देखिँदैन। जित-हारको निर्णय अन्तिम क्षणसम्म मतदाताको विवेकमा निर्भर रहने देखिन्छ।
प्रतिक्रिया दिनुहोस !