लुम्बिनीमा तात्यो चुनावी माहोल
बुटवल : फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनले लुम्बिनी प्रदेशका जिल्लामा चुनावी चहलपहल ह्वात्तै बढेको छ। केन्द्रीय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने एवं पटकपटक प्रधानमन्त्री बनेका, पटकपटक मन्त्री भइसकेका नेतादेखि भर्खरै राजनीतिमा छिरेकाहरू चुनावी प्रतिस्पर्धामा छन्।
अधिकांश जिल्लामा पुरानै पार्टीको जनाधार भएका पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूबीचमै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। पहिलो चरणको पालिकास्तरका चुनावी कार्यक्रम सकेर धेरैजसो उम्मेदवारहरू वडातह र घरदैलोमा पुगेर मतदातासँग मत माग्न व्यस्त भएका छन्। मतदाताहरूको घरमा हुने पूजाआजालगायतका जमघट हुने ठाउँमा पुगेर उनीहरूले आफूलाई मतदान गर्न आग्रह गरेका छन्।
लुम्बिनीको प्रमुख चासोको रूपमा हेरिएको रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्। यस क्षेत्रबाट नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसहित ३९ जना प्रतिस्पर्धामा छन्।
२०७९ कै निर्वाचनमा चुनाव जित्न हम्मेहम्मे परेका एमाले नेता पौडेलको विगतको विरासत ढाल्ने गरी नयाँ उम्मेदवारहरू चुनावी मैदानमा छन्। तर, आफ्नो विरासतलाई कायमै राख्नेगरी पौडेल र एमाले पंक्ति लागेका छन्। एमालेका पौडेलसहित नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल र रास्वपाका सुलभ खरेलबीच यहाँ तीव्र चुनावी प्रतिस्पर्धा छ।
पुराना दलका नेताहरूलाई मतदाताले मत माग्न पुग्दा स्वदेशमै रोजगारीको ग्यारेन्टीसहितको बाचा गर्न आग्रह गरेका छन्। विकासका आधारभूत आवश्यकताको नागरिकहरूले अनुभूति गरिसकेकाले अबको प्रमुख एजेन्डा गाउँघरमै युवाहरूलाई रोजगारी दिने ग्यारेन्टी गरिदिन मतदाताहरूको प्रमुख माग छ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर २ का एमाले नेता गोकर्णराज विष्टले समयको भरपूर्ण सदुपयोग गरेका छन्। उनले विगतमा आफ्नो अगुवाइमा भएका विकास निर्माणका कामलाई देखाएर मत माग्न घरदैलोमा पुगेका छन्। विष्टको अगुवाइमा यस निर्वाचन क्षेत्रमा सडक, विद्युत्देखि खानेपानीसम्मका थुप्रै योजनाहरू सञ्चालन भएका छन्। उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र रास्वपाका गोविन्द पन्थी मुख्य प्रतिस्पर्धामा छन्। श्रेष्ठ र पन्थीले पनि मतदाताहरूको घरदैलोमा पुगेर मत माग्ने कार्यक्रमलाई तीव्र बनाइरहेका छन्।
लुम्बिनीका १२ जिल्लामध्ये ६-६ जिल्ला पहाडी र तराईका भूगोलका छन्। लुम्बिनीकै एकमात्र हिमाली जिल्ला पूर्वीरुकुममा पर्छ। जहाँबाट पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल चुनावी प्रतिस्पर्धामा छन्। प्रचण्डले मतदाताहरूको घरदैलोमा पुगेर सुन्तला खानेदेखि घरमै बसेर खाना खानेसम्मका कार्यक्रम गरेर मत मागिरहेका छन्। मतदाताहरूसँग बिहान मर्निङवाकमा समेत प्रचण्ड निस्कने गरेका छन्।
गुल्मी, प्यूठान, पाल्पा, रोल्पा, पूर्वीरुकुम र अर्घाखाँची लुम्बिनीका पहाडी जिल्ला हुन्। रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, दाङ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) तराईका जिल्ला हुन्। पहाडी जिल्लाका मतदातालाई तराईको तुलनामा मतदाताको घरदैलोमा पुग्न धेरै कठिन छ। नमिलेका भूगोलहरू छिचोल्दै घरदैलोमा जान समस्या हुने गरेको उम्मेदवारहरूले नै प्रतिक्रिया दिएका छन्।
प्यूठानका एमालेका उम्मेदवार सूर्य थापाले पहिलो चरणको पालिकास्तरका कार्यक्रम सकेर शनिबारदेखि वडातहका कार्यक्रम थालेका छन्। सरुमारानी गाउँपालिका वडा नम्बर ४ बडडाँडाबाट उनको दोस्रो चरणको चुनावी भेटघाट कार्यक्रम शुरु भएको छ।
राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्न सक्ने नेताको रूपमा चिनिएका थापाले दोस्रोपटक पनि जित हाता पार्ने विश्वास सुनाएका छन्। उनीसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसका डा. गोविन्दराज पोख्रेल छन्। विकास निर्माणमा आफ्नो लामो अनुभव भएकाले मत दिन कांग्रेसका पोख्रेलले आग्रह गरेका छन् भने आफ्नै अगुवाइमा भएका विकास निर्माणका अँधुरा कामहरू पूरा गर्न बाँकी भएकाले पुन: एकपटक जिताउन थापाले मत मागिरहेका छन्। थापा र पोख्रेलको प्रतिस्पर्धामा नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्का, राजमोका तिलकबहादुर जीसी र रास्वपाका सुशान्त वैदिक प्रतिस्पर्धामा छन्। २०७९ को निर्वाचनमा पाँचदलीय गठबन्धनलाई पछि पार्दै थापा विजयी भएका थिए।
पहिलो चरणमा गाउँघरको चुनावी भेटघाट कार्यक्रम सकेर गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका डा.चन्द्र भण्डारी यतिबेला सहरका मतदाता भेट्न व्यस्त छन्। गुल्मीका अधिकांश मतदाताहरू बुटवलमा बसोबास गर्छन्। यहाँको प्रमुख बजारसमेत बुटवल हो। दुवै उम्मेदवार बुटवल र काठमाडौंका मतदाताहरूसँग भेटघाट गर्दै चुनावी भेटघाट कार्यक्रमलाई तीव्र बनाइरहेका छन्। उनीहरूसँगको प्रतिस्पर्धामा रास्वपाका सागर ढकाल छन्।
लुम्बिनीमा प्रतिनिधिसभाका लागि २६ निर्वाचन क्षेत्र छन्। कुल मतदाता ३३ लाख ८६ हजार ६ सय ८० छन्। त्यसमध्ये पुरुष १७ लाख १५ हजार १ सय ६३, महिला १६ लाख ७१ हजार ४ सय ७९ र अन्य ३८ जना छन्। यहाँ कुल मतदानस्थल १ हजार ६ सय ७१ र मतदान केन्द्र ३ हजार ९ सय ९८ वटा रहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ। हाइप्रोफाइलदेखि नयाँ युवा पुस्ताहरू चुनावी मैदानमा भएकाले लुम्बिनीको चुनावी रौनक तातेको छ।
रूपन्देही–२, ३९ उम्मेदवार मैदानमा
बुटवलमा विष्णु र विकास पर्यायवाचीजस्तै हुन्। जब रूपन्देही–२ बाट उनी निर्वाचित भए त्यसपछि बुटवलको विकासले बिस्तारै मुहार फेर्दै गयो। रूपन्देही क्षेत्रका नागरिकहरू अहिले खोला तर्न समस्या भयो भनेर पुलको माग गर्न उनीसामु पुग्दैनन्। तिनाउ र दानव खोलामा चारैतिर पक्की पुल बनेका छन्। उनकै जोडबलमा रूपन्देहीसहित पश्चिम नेपालमा विकासका ठूला–ठूला परियोजनाहरू केही सम्पन्न भइसकेका भने केही निर्माणधीन अवस्थामा छन्।
६/६ लेनका बुटवल नारायणगढ र बुटवल गोरुसिंगे सडक विस्तार, सिद्धबाबा सुरुङमार्ग, बुटवलमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सभागृह, बुटवल मण्डव, मोतीपुर औद्योगिक क्षेत्रलगायत योजनाहरू यस क्षेत्रका मुहार बदल्ने ठूला योजना हुन्। उनकै निर्वाचन क्षेत्रका दर्जनौं सडकहरू फराकिला भएका छन्। मतदाताहरूको प्रतिक्रियाअनुसार विकासले काँचुली फेरेको छ। कामकै आधारमा उनलाई यस क्षेत्रका मतदाताहरूले विकासप्रेमी नेताको उपमा दिएका छन्। त्यसैका कारण उनले २०५६ मा बाहेक आफ्नो निर्वाचन क्षेत्रबाट लगातार चारपटक चुनाव जिते। २०७० को निर्वाचनमा तत्कालीन माओवादीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई झन्डै दोब्बर मतले हराएका थिए।
तर, विगतको जस्तो यसपाली विकास निर्माणलाई हेरेर यहाँका मतदाताले मत दिने देखिँदैन। विष्णुप्रति यहाँका मतदाता बुटवलमा स्थापित भएको लुम्बिनी प्रदेशको अस्थायी राजधानी रातारात राप्ती उपत्यका देउखुरीमा सारेपछि रुष्ट हुँदै गएका छन्। नागरिकको त्यो असन्तुष्टि अझै पनि सेलाएको छैन। ०७९ को निर्वाचनमा पनि पौडेललाई यही राजधानीको असन्तुष्टिले चुनाव जित्न हम्मेहम्मे पारेको थियो। विष्णुले स्थायी राजधानी बनाउन नसके पनि बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्ने प्रतिबद्धता सुनाएका छन्। तर, यहाँका नागरिकलाई प्रदेशको राजधानी नबन्दा त्यसले दु: खेको घाउ पूरा निको हुने देखिँदैन।
तत्कालीन नेपाली कांग्रेसको सरकार हुँदा बुटवलमा अस्थायी राजधानी तोकिएको थियो। ०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रको सरकार हुँदा मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलबाट रातारात राजधानी दाङ पु¥याएका हुन्। ०७९ कै निर्वाचनमा पौडेलको विगतको जस्तो फराकिलो मतान्तर खुम्चिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले उनलाई हम्मेहम्मे पारे। त्यसबेला विष्णुले २७ हजार १ सय ६५ र गणेशले २५ हजार ७ सय ९५ मत पाएका थिए। उनीहरूबीचको मतान्तर एक हजार ३ सय ७० मात्र भएको थियो। त्यसबेला रास्वपाको यस क्षेत्रमा संगठन विस्तार त्यति मजबुद थिएन। अहिले रास्वपाले विगतको तुलनामा आफ्नो संगठन विस्तारलाई तल्लो तहसम्म फैलाएको छ। उनै गणेश अहिले रास्वपाका उम्मेदवार शुलभ खरेलको चुनावी कमाण्डरको रूपमा सक्रिय छन्।
प्रमुख प्रतिस्पर्धा त्रिपक्षीय
यस निर्वाचन क्षेत्रमा एमालेका विष्णुप्रसाद पौडेलसहित रास्वपाका शुलभ खरेल र कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलबीचमै मुख्य रूपमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। स्वतन्त्र २० सहित यहाँबाट ३९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्।
ठूला व्यापारी घरानाका चुन्न पौडेल यस क्षेत्रका स्थापित व्यवसायी हुन्। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई गाडी दिएर विवादमा मुछिएका व्यवसायी कमल मालपानी चुन्नका व्यावसायिक साझेदारी हुन्। बुटवलमा भर्खरै सञ्चालनमा आएको पाँचतारे होटल हायतका समेत उनी सञ्चालन हुन्। निर्वाचन आयोगको रेकर्डअनुसार पौडेलको शैक्षिक योग्यता साक्षर मात्र हो। रास्वपाका शुलभ खरेल पौडेलका अर्का प्रतिस्पर्धीका रूपमा देखिएका छन्। २८ वर्षीय खरेल अधिवक्तासमेत हुन्। उनले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्। एमालेका विष्णु पौडेलले स्नातक तह उत्तीर्ण गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार सुभाष पाण्डे (विश्वदीप) पनि प्रतिस्पर्धीमध्ये एक हुन्। पाण्डे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिवसमेत हुन्।
रूपन्देहीका पाँचमध्ये निर्वाचन–२ अरूको तुलनामा चर्चित क्षेत्र हो। राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्न सक्ने नेता विष्णु पौडेलकै कारण यो क्षेत्र धेरैको चासोको रूपमा रहेको छ। यस निर्वाचन क्षेत्रमा कुल १ लाख ३५ हजार ५० जना मतदाता छन्। २४ वटा मतदान स्थल र १ सय ३८ वटा मतदान केन्द्र छन्। बुटवल उपमहानगरपालिका १ देखि १३, तिलोत्तमा नगरपालिकाका १ देखि ६ र सैनामैना नगरपालिकाको १ देखि ४ वडाहरू यस निर्वाचन क्षेत्रमा पर्छन्।
प्रतिक्रिया दिनुहोस !