काठमाडौं-१० : विरासत, विकल्प र ‘कीर्तिपुरे मुड’को परीक्षा
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन आउन अब २९ दिन मात्र बाँकी छ। निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीको एक महत्वूर्ण निर्वाचन क्षेत्र काठमाडौं-१० को चुनावी माहोल तातिएको मात्र छैन, उम्मेदवारका विषयमा चर्चा र बहस समेत बढ्दै गएको छ।
काठमाडौं-१० नेपालको काठमाडौं जिल्लाको १० संसदीय निर्वाचन क्षेत्रमध्ये एक हो । यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनपछि अस्तित्वमा आएको थियो । काठमाडौं १० संसदीय क्षेत्रमा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वडा रहेका छन् ।
तीन निर्वाचनमा लगातार ‘ह्याट्रिक’ गरेका नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी चुनावी मैदानबाट बाहिरिएपछि काठमाडौं-१० को आसन्न प्रतिस्पर्धा नयाँ मोडमा उभिएको मात्र छैन, भिडन्त रोचक हुन सक्ने अनुमान गरिएको छ। यस पटक कांग्रेस र नेकपा एमालेले नयाँ अनुहार अघि सार्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अघिल्लो निर्वाचनकै उम्मेदवारलाई फेरि भिडाएको छ।
यसबीच, प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट पनि नयाँ पुस्ताकी उम्मेदवार रुपा महर्जन मैदानमा छिन्। यस पटक काठमाडौं-१० मा ‘विरासत जोगाउने र भत्काउने’ होडबाजी रहेको छ २०७० सालदेखि २०७९ सम्म लगातार तीन चुनाव जितेका केसी काठमाडौं-१० मा कांग्रेसको पर्यायझै बनेका थिए।
२०७० मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पराजित गरेपछि उनी राष्ट्रिय चर्चामा आएका हुन् । त्यसपछि यो क्षेत्रमा कांग्रेसले आफ्नो पकड बलियो बनाउँदै लगेको हो। तर यस पटक केसी आफैले चुनाव नलड्ने निर्णय गरेका छन्। उनको तर्क थियो, ‘पुस्तान्तरण हुनुपर्छ, नयाँलाई अवसर दिनुपर्छ।’
केसीको यो निर्णयसँगै कांग्रेसले हिमाल कार्कीलाई नयाँ उम्मेदवार खडा गरेको छ। नेविसंघको राजनीतिबाट आएका कार्की २०५४ सालमा वडाध्यक्ष निर्वाचित भएपछि लामो समय अवसरबाट वञ्चित रहँदै आएका थिए। स्थानीय राजनीति र संगठनमा परिचित भए पनि संसदीय चुनावका लागि उनी नयाँ अनुहार हुन्। कार्की कांग्रेसभित्र केसीका ‘विश्वास पात्र’ का रूपमा चिनिन्छन्।
स्थानीय तहमा बलियो संगठन, विगतका कामको निरन्तरता र केसीको विरासतको प्रभावलाई कांग्रेसले यस पटक निर्वाचनको नयाँ रणनीति बनाएको देखिन्छ। कीर्तिपुर, चन्द्रागिरी र दक्षिणकाली तीनै पालिकामा कांग्रेसको उपस्थिति राम्रो मानिन्छ। स्थानीय तहका चुनाव, उपचुनाव र वडा तहका परिणामले पनि कांग्रेसलाई आत्मविश्वास दिएको देखिन्छ।
अर्को ठूलो दल नेकपा एमालेले पनि यस पटक नयाँ अनुहारलाई अघि सारेको छ। मजदुर आन्दोलनबाट उदाएका विनोद श्रेष्ठ एमालेका पुराना र अनुभवी नेता हुन्। श्रेष्ठका लागि यो प्रतिनिधि सभा निर्वाचन पहिलो हो। ट्रेड युनियन आन्दोलनमा लामो समय सक्रिय श्रेष्ठ पार्टी संगठन र कार्यकर्ता व्यवस्थापनमा अब्बल र खारिएका नेताका रुपमा चिनिएका छन्।
श्रेष्ठलाई चुनावी मैदानमा उतारेको एमालेले दुई तर्क अगाडि सारेको देखिएको छ। पहिलो, कांग्रेसको लामो वर्चस्वबाट मतदातामा ‘विकल्प खोज्ने’ मनोविज्ञानमा छन्। दोस्रो, कीर्तिपुर, चन्द्रागिरी र दक्षिणकाली क्षेत्रमा नेवार समुदायको बाक्लो उपस्थिति र भाषिक–सांस्कृतिक पहिचानका कारणले पनि आफ्नो उम्मेदवारलाई लाभ मिल्छ। यद्यपि, जातीय वा स्थानीयताको ‘कार्ड’ कति प्रभाव र काम गर्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन। किनभने यो क्षेत्र बसाइँसराइले अत्यन्तै विविध बन्दै गएको देखिन्छ।
२०७९ को निर्वाचनमा काठमाडौं-१० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्षतर्फ तेस्रो र समानुपातिकतर्फ दोस्रो बनेको थियो। यस निर्वाचनमा कांग्रेसका राजेन्द्रकुमार केसीले १४,४६३ मत ल्याउँदै विजयी बनेका थिए। त्यस्तै नेकपा एमालेका हिमेश केसीले ११ हजार ७९१ मत ल्याएका थिए।अहिले फेरि चुनावी मैदानमा रहेका रास्वपाका प्रदीप विष्टले सो निर्वाचनमा ८,७३९ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रकी अञ्जना बिशंखे ५,२६५ मत ल्याएर चौंथो हुँदा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नारायण महर्जनले १,८८४ मत पाएका थिए।
छोटो समयमै स्थापित रास्वपाका लागि यो ठूलो उपलब्धि थियो। यही आधारमा रास्वपाले प्रदीप विष्टलाई फेरि पनि उम्मेदवार बनाएर मैदानमा उतारहेको छ। विष्ट पार्टीका काठमाडौं जिल्ला सभापति हुन् र स्थानीयस्तरमा सक्रिय नेता मानिन्छन्। पुराना दलहरुबाट असन्तुष्ट मतदातालाई आफूतिर आकर्षित गर्ने रणनीतिमा रास्वपा देखिएको छ।
भ्रष्टाचारविरोधी नारा, नयाँ राजनीतिक सँस्कृति र युवाको आकर्षण रास्वपाले चुनावी नतिजा आफ्नो पक्षमा पार्ने आधार बनाएको देखिन्छ। २०७९ मा करिब ९ हजार मत ल्याएका विष्ट यस पटक त्यो आधार विस्तार गर्दै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन्। भदौं २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिवेशलाई सदुपयोग गर्दै ‘यस पटक नयाँलाई मौका’ भन्ने एक हिस्सा मतदाताको भावनालाई रास्वपाले उर्जाको रुपमा उपयोग गर्दै आफ्नो चुनावी गतिविधिलाई सक्रिय बनाउँदै लगेको देखिएको छ।
विभिन्न १७ बढी बामपन्थी घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपमा मजर्हनलाई उम्मेदवार बनाएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपाले सोही निर्वाचन क्षेत्र चन्द्रागिरीकी स्थानीय, संविधानसभा सदस्य र तत्कालीन युद्धसँग जोडिएकी पात्रलाई उम्मेदवारको रुपमा आगाडि सारेको हो। पछिल्लो समय नेपालको राजनीतिमा देखिएको वाम मत विभाजनलाई नेकपाले आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ । नेकपाकी उम्मेदवार महर्जनको उपस्थिति यहाँ निर्णायक बन्न सक्ने देखिएको छ।
यसका साथै काठमाडौं-१० मा राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बलराम थापा, नेपाल मजदुर किसान पार्टीबाट बिन्द्रा महर्जन, जसपा नेपालबाट भागरित साह, श्रम सँस्कृति पार्टीबाट धनबहादुर श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट राकेश न्यौपाने, प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट केशवराज अर्याल, राष्ट्रिय जनमोचाबाट अम्बरबहादुर पौडेल, मंगोल नेशनल अर्गनाइजेशनबाट राम रुम्बालगायत छन्।
त्यस्तै कुमार खाकी श्रेष्ठ, मिनबहादुर बुढाथोकी, दिपकराज पाण्डे, राजकुमार गिरी, सुलोचना परियार, कविता पुँडासैनी (अधिकारी), कृष्णकुमारी नेपाली, विनोद बुढाथोकी, अनुज प्रधान र देवकुमार श्रेष्ठ १० जना स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्। विगतको निर्वाचन परिणामका आधारमा उनीहरुको मत प्रतिशत सानो देखिए पनि कडा प्रतिस्पर्धामा निर्णायक हुनसक्ने सम्भावना पनि छ।
यसअघिका निर्वाचन इतिहास नियाल्दा काठमाडौं–१० ले पटक-पटक ‘सरप्राइज’ दिएको छ। २०६४ मा प्रचण्डको जित, २०७० मा उनकै हार, त्यसपछि कांग्रेसको ‘ह्याट्रिक’ यी सबैले यो क्षेत्रले अबको निर्वाचनमा कस्तो निर्णय गर्छ यसै भन्न सकिँदैन । २०७९ को चुनावमा कांग्रेसको मत उल्लेखनीय रूपमा घट्यो भने एमाले-माओवादी गठबन्धनको मत पनि कम देखियो । त्यसको खाली स्थान रास्वपाले आंशिक रूपमा भर्यो।
समानुपातिक मतमा कांग्रेस पहिलो भए पनि रास्वपा निकै नजिक पुग्यो। यसले पनि भक्तपुर-१० का मतदाताको मनोविज्ञान स्थिर छैन। ‘जसले जित्छ, उसैलाई भोट’ दिने प्रवृत्ति, अन्तिम समयमा निर्णय गर्ने ठूलो समूह र स्थानीय मुद्दाभन्दा राष्ट्रिय राजनीतिक माहोलले प्रभाव पार्ने अवस्था यहाँ विगतमा देखिँदै आएको छ।
काठमाडौं-१० को निर्वाचन परिणामका लागि कीर्तिपुर निर्णायक र विशेष रहने गरेको छ। नेपाल एकीकरणका सूत्र पृथ्वीनारायण शाहलाई समेत कहिले जिताएको र कहिले हराएको रोचक इतिहास बोकेको कीर्तिपुरलाई प्रचण्ड समेतलाई यी दुबै स्वाद चखाइसकेको छ। यसैले कीर्तिपुरको ‘मुड’ ले पनि यस क्षेत्रको निर्वाचनमा अंक गणित र परिणाम समेतलाई ‘अदल-बदल’ गराउन सक्ने मानिने गरेको छ।
विगतको निर्वाचन नतिजाहरुलाई हेदा कीर्तिपुरका स्थानीय मतदाता दुई धारमा देखिन्छन्। एकखालका मतदाता स्थिरता र अनुभवी दलको पक्षधर देखिन्छन् भने अर्काखालका नयाँ प्रयोगको चाहना राख्ने मतदाताहरु पनि देखिने गरेका छन्।
भदौंको दुई दिने जेनजी आन्दोलनपछि एक किसिमको ‘अन्योलग्रस्त’ रूपमा अगाडि बढिरहेको नेपाली राजनीतिमा कांग्रेसलाई ‘ह्याट्रिक’ इतिहास बनाएका राजेन्द्र केसीको विरासत जोगाउने चुनौती छ भने नेकपा एमालेका लागि गुमेको आधार फर्काउनु पर्नेछ। त्यस्तै आसन्न निर्वाचनमा उदाउँदो शक्ति रास्वपाका लागि विकल्पको राजनीति संस्थागत गर्नुछ। चुनावी प्रतिस्पर्धामा रहेका अन्य दल र तिनका उम्मेदवारलाई पनि अस्तित्व स्थापित गराउनु पर्ने संघर्षको समय छ।
८३ हजार बढी मतदाता रहेको यस क्षेत्रमा महिला मतदाताको संख्या धेरै छ। मतदानस्थलको संख्या ठूलो छ र अन्तिम परिणाम धेरै हदसम्म अन्तिम हप्ता वा मतदानको दिनको मनोविज्ञानले निर्धारण गर्ने देखिन्छ। यस पटक पनि काठमाडौं-१० ले चमत्कार देखाउँछ कि पुरानै धारालाई निरन्तरता दिन्छ, त्यसका लागि मतदान र यसपछि आउने परिणामको दिनलाई कुर्नै पर्नेछ।
प्रतिक्रिया दिनुहोस !