के क्यान्सर नियन्त्रण गर्न सकिन्छ ?
नेपालमा क्यान्सर रोगीहरूको संख्या बढ्नुमा सुर्तीजन्य पदार्थ तथा मद्यपान सेवनको अलावा अस्वस्थ खानपान शैली र बदलिँदो जीवनशैली पनि प्रमुख कारक तत्व हो।
पछिल्लो समय नेपालमा क्यान्सर रोग जनस्वास्थ्य समस्याको रूपमा बढ्दो क्रममा रहेको छ। सन् २०२२ को तथ्यांकअनुसार नेपालमा बर्सेनि २२ हजार नयाँ केस भेटिने गरेको छ भने क्यान्सरकै कारण मृत्यु हुनेको संख्या करिब १५ हजारको हाराहारीमा छ। यो तथ्यांक सन् १९९० को दाँजोमा दोब्बर बढी हो। तर नेपालका सहरी क्षेत्र, अर्धसहरी एवं ग्रामीण क्षेत्रमा क्यान्सर रोग लाग्नेहरूमा भिन्नता भने देखिन्छ। नेपालमा अधिक चुरोट तथा सुर्तीजन्य एवं मद्यपान पदार्थ सेवन गर्ने बानीका कारण महिला पुरुष दुवैमा फोक्सोको क्यान्सर, मुखको क्यान्सर, आमाशयको क्यान्सर तथा महिलामा एचपीभी संक्रमण र अधिक इस्ट्रोजेन हर्मोनको कारण क्रमश: पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हुनेको संख्या पनि बढ्दो क्रममा छ।
अहिले प्रत्येक ५ देखि १० नेपालीहरूसँग कुराकानी गर्दा एक न एक जना तिनीहरूका आफन्त वा घरपरिवारकै सदस्य क्यान्सरका बिमारी भएको वा क्यान्सरका कारणले मृत्यु भएको कथा व्यथा सुन्न पाइन्छ। यसरी पछिल्लो समय नेपालमा क्यान्सर रोगीहरूको संख्या बढ्नुमा सुर्तीजन्य पदार्थ तथा मद्यपान सेवनको अलावा अस्वस्थ खानपान शैली र बदलिँदो जीवनशैली पनि प्रमुख कारक तत्त्व हो। नेपाली किशोरकिशोरीहरू लगायत अधबैंसेहरूमा पनि चाडबाड, भोजभतेरमा रक्सी पिउने, चुरोट पिउने, गाँजा तान्ने, भेप तान्ने, हुक्का तान्ने जस्ता स्वास्थ्यलाई असर गर्ने गर्ने चलन निकै बढ्दो क्रममा छ। विशेषत: नयाँ वर्ष, दसैं तिहार, शिवरात्रि, मेलापात, चाडपर्व, विवाह, बर्थ डे, भोजभतेर, जाडो मौसमको बहाना बनाई मद्यपान एवं धूमपान गर्नेहरूको संख्या अत्यधिक छ। यी अवसरमा वा साथीभाइहरूको जमघट भनेपछि मद्यपान वा धूमपान नभई नहुने जस्तो गरी लिन थालेको छ। रक्सी, बियर वा चुरोट, हुक्का, भेप भएन भने त भोज वा ग्यादरिङ नै खल्लोको रूपमा लिन थालेको छ। यी हानिकारक तत्त्व सेवन नगर्नेलाई नामर्द वा हुतिहारा मान्न पनि बेर छैन। जुन स्वास्थ्यको दृष्टिले तथा शिक्षित समाजको दृष्टिले राम्रो कुरा होइन।
त्यसैगरी एकातिर बजारमा किनमेलको क्रममा पनि कीटनाशक वा विषादी हालिएको तरकारी वा फलफूल, कार्बाइडमा पकाइएको फलफूल, फर्मालिन हालेको माछा, मानव स्वास्थ्यलाई असर हुने खालका हर्मोन एवं एन्टिबायोटिक दिइएका पशुपन्छीजन्य मासु एवं दुग्ध पदार्थ छ्यापछ्याप्ती बजारमा उपलब्ध हुन थालेको छ। अर्कोतिर खरिदकर्ताहरूमै पनि जंकफुड, प्रशोधित खानेकुरा, कम पोसिलो र चिल्लो हानिकारक पदार्थ मिसाइएको खानेकुरा, पटकपटक तताइसकेको तेलमा तयार पारिएका खाद्य पदार्थ वा अस्वस्थ रंग हालिएका मिठाईहरू, अखाद्य वस्तु मिसाइएका खानेकुरा खाने, लिडयुक्त कस्मेटिक वा शृंगारका सामग्रीहरू सेवन गर्ने तथा आर्सेनिक मिसिएको पानी पिउने बानी छ। त्यसमाथि आधुनिक सहरीकरणको नाममा जहिले पनि दौडधुप, आराम एवं यथेष्ट निद्राको कमी, मोबाइल वा इन्टरनेट टीभीमै अधिक समय बिताउने, जहाँ पनि यातायात साधनको प्रयोग, शारीरिक अभ्यासको कमी, कामको चापले गर्दा पनि नेपालीहरूको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यसले गर्दा अप्रत्यक्ष रूपमा क्यान्सर रोग निम्तिन सहयोग पुगिरहेको अवस्था छ।
त्यसो भन्दै गर्दा पछिल्लो समय नेपालमा क्यान्सर रोगीहरूको अनपेक्षित रूपमा बढेको जस्तो देखिनुमा नेपाली चिकित्सा विज्ञान क्षेत्रमा भइरहेको उल्लेखनीय प्रगति पनि हो। यसका साथै नेपाली चिकित्सकहरू पनि विषयगत रूपमा निकै दक्ष हुन थालेको र स्वास्थ्य बमा कार्यक्रमकै कारण पनि पहिलेको दाँजोमा स्वास्थ्य जाँच गराउने बानी पर्न थालेको कारणले पनि कतिपय क्यान्सर रोग समयमै निदान (वा डायग्नोसिस) हुन थालेको छ। त्यसको अलावा पछिल्ला जनगणनाहरूको आधारमा नेपालीहरूको सरदर आयु बढ्दो क्रममा छ। उदाहरणको लागि दुई, तीन दशक अघिसम्म नेपालीहरूको सरदर आयु ५०–५५ वर्षको हाराहारीमा थियो भने अहिले महिला, पुरुष दुवैको ७० वर्ष माथि लागेको छ। यसरी मानिसहरूको आयु बढ्नेबित्तिकै नसर्ने प्रकारका रोगहरू जस्तै उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, थाइरोइडको गडबडी, जीर्ण खालका स्वास्थ्य समस्याका साथै क्यान्सर लाग्ने सम्भावना पनि निकै बढ्न जान्छ। पछिल्लो तथ्यांककै विश्लेषणमा ७५ वर्षको उमेरअघि पुरुषहरूमा १४ जनामा एक र महिलाहरूमा १३ जनामा एकजनालाई क्यान्सर लाग्ने जोखिम छ। सारांशमा एकातिर बदलिँदो जीवनशैली, अर्कोतिर नेपाली स्वास्थ्य क्षेत्रमा भएको उन्नतिका कारण नेपालमा तुलनात्मक रूपमा क्यान्सरको रोगीको संख्या बढेको हो कि भन्ने आभास मिल्छ।
यसो भन्दै गर्दा अब हामीले क्यान्सर रोगबाट छुटकारा पाउनु छ भने आफ्नो व्यक्तिगत आनीबानीमा आमूल परिवर्तन ल्याउन त आवश्यक छ नै। त्यसको अलावा तल उल्लेखित गरे झैं पुरुष वा महिला ४० वर्ष नाघेपछि नियमित अन्तरालमा विभिन्न अंगमा लाग्न सक्ने क्यान्सरहरूको स्क्रिनिङका रूपमा विभिन्न चेकजाँच (ल्याब जाँच) गराउनु बुद्धिमानी हुन जान्छ। यी जाँचहरू गराएको खण्डमा मानवीय अंगमा लाग्न सक्ने क्यान्सर – क्यान्सरपूर्व अवस्थामा वा क्यान्सर सुरुवाती अवस्थामै पत्ता लाग्न मद्दत पुग्छ। यदि क्यान्सरपूर्व अवस्थामा वा क्यान्सरको सुरुवाती अवस्थामा रोग पत्ता लगाउन सकेको खण्डमा अधिकतर क्यान्सर शल्यक्रियाबाटै पूरै निको पार्न सकिन्छ। होइन भने अंग विशेषमा लागेको क्यान्सर रोग अलि फैलिइसकेको अवस्थामा केमोथेरापी वा रेडियोथेरापीको आवश्यकता पर्न जान्छ। तसर्थ केही हजारको खर्चमा गर्न सकिने ल्याब (चेक) जाँचबाट लाखौंलाख खर्च हुने क्यान्सरको उपचारबाट बच्न सकिन्छ।
अन्य सामान्य नागरिकहरूले उमेरको हदबन्दीअनुसार नियमित स्वास्थ्य जाँच गराउनु पर्ने त भइहाल्यो। परिवार वा आफन्तजनमा क्यान्सर रोग लागेका व्यक्ति भएकाले अनिवार्य रूपमा अंग विशेषअनुसार स्क्रिनिङमा निकै सजगता अपनाउनुपर्ने हुन्छ। यति भन्दै गर्दा कुनै व्यक्तिमा पनि कुनै अंग विशेषबाट अप्रत्याशित वा असामान्य तवरबाट रगत बग्नु वा देखा पर्नुलाई निकै शंकाको दृष्टिले लिनुपर्छ। किनकि कुनै पनि मानव अंगमा क्यान्सर लाग्दा, त्यस अंगबाट रगत बग्ने पहिलो लक्षण हुन सक्छ। यो प्रकृतिले सजग हुने अर्थात् समयमै संकेत दिएको हुन सक्छ।
क्यान्सर पहिचानका लागि गरिने विधिहरू : नेपालका क्यान्सर अस्पतालका तथ्यांकअनुसार पुरुषमा मुुख्यतया: फोक्सो, आमाशय, कलेजो, मुखको क्यान्सर देखिएको छ भने महिलामा पाठेघरको मुखको क्यान्सर, स्तनको क्यान्सर, पाठेघरको क्यान्सर, डिम्बाशयको क्यान्सर, कोरियोकार्सिनोमा भनिने क्यान्सर खालको मोलर गर्भ बढीजसो हुने गरेको छ।
अधिक वा असामान्य प्रकारको रक्तस्राव भएकी सबै महिलामा हेमोग्लोबिन, प्लेटलेट्सको संख्या, रगत बहने र जम्ने समयको जाँच, पुठ्ठाभित्रको जनेन्द्रियको संक्रमण पत्ता लगाउन रगतमा श्वेत रक्तकणको संख्या र प्रकार, एचआईभी, हेपाटाइटिस बी सम्बन्धी परीक्षणका साथै यौन रोग (भिरिंगी) का लागि भीडीआरएलको जाँच गरिन्छ। यी रगतको जाँच उपचारको दृष्टिले पनि महत्त्वपूर्ण हुन्छ भने महिलामा हुन सक्ने रक्त क्यान्सर पहिचान गर्न सघाउँछ।
यौनजन्य तथा रगतजन्य संक्रमणका कारण पनि पाठेघर एवं स्त्री यौनाङ अनि कलेजोमा क्यान्सर लाग्ने सम्भावना बढ्छ। पिसाबको साधारण जाँचले मिर्गौलाको क्यान्सरको छनक मिल्छ। पाठेघरको मुखको क्यान्सरपूर्वको अवस्था थाहा पाउन प्याप स्मियर वा लिक्विड बेज्ड साइटोलोजी भनिने परीक्षण गरिन्छ। कुनै पनि बेला पाठेघरको मुखको शंका लाग्दा वा रिपोर्ट असामान्य देखिँदा कल्पोस्कोपीको माध्यमबाट बायोप्सी लिई क्यान्सर छ, छैन निक्र्योल गरिन्छ। महिनावारी सुकिसकेकी महिलामा असामान्य रक्तस्राव वा रगत मिश्रित योनीस्राव देखियो भने पाठेघरको भित्री तहको मासुको जाँच (इन्डोमेट्रियल बायोप्सी) गराउनुपर्छ। हिस्टेरोस्कोपी प्रविधि अपनाएर बायोप्सी लिँदा बढ्ता प्रभावकारी हुन्छ। यसको अलावा आवश्यकताअनुसार चिकित्सकको सल्लाहमा इमेजिङ विधिहरू (एक्सरे, अल्ट्रासाउन्ड, सीटी स्क्यान, एमआरआई, पेट स्क्यान) गराउनुपर्ने हुन्छ। यी इमेजिङ विधिहरूका माध्यमबाट कुन अंगमा क्यान्सर लागेको हो र कति पैmलिएको छ, छैन पत्ता लाग्छ। स्तन क्यान्सरको लागि म्यामोग्राफीको उत्तिकै महत्त्व छ।
माथि उल्लेखित परीक्षणहरूका साथै स्त्री जननेन्द्रियका क्यान्सर आशंका गरिँदा रगतमा विभिन्न खालका ट्युमर मार्कर जाँचेर क्यान्सर नै हो, होइन वा स्त्री यौनाङमा पनि कुन चाहिँ प्रकारको क्यान्सर हो पत्ता लगाउन मद्दत मिल्छ। ट्युमर मार्कर यो एक किसिमको बायोमार्कर हो। यसले व्यक्ति विशेषमा क्यान्सरको उपस्थिति वा क्यान्सर भई नै सकेको अवस्थामा क्यान्सर व्यवहार थाहा पाउन प्रयोग गरिन्छ। ट्युमर मार्करले क्यान्सरको बढोत्तरी वा उपचारप्रतिको प्रभाव पनि थाहा पाउन सकिन्छ। यसले क्यान्सर रोगको परिणतिको विश्लेषण गर्न, शल्यक्रिया गरेर ट्युमर निकालेपछि बिरामीलाई निगरानीमा राख्न, औषधिको प्रभाव आकलन गर्न, उपचारको निगरानी गर्न सघाउ पुर्याउँछ।
महिलामा जस्तै पुरुषमा पनि छातीको क्यान्सर, रक्तक्यान्सर, कलेजोको क्यान्सर, मिर्गौला वा मूत्र प्रणालीको क्यान्सर समयमै पत्ता लगाउन एक्सरे, रगत एवं पिसाबको जाँच गराउनुपर्ने हुन्छ। त्यसैगरी आमाशयको क्यान्सरको लागि इन्डोस्कोपी (ग्यास्ट्रोस्कोपी), आन्द्राको क्यान्सरको लागि कोलोनोस्कोपी तथा दिसामा रगतको उपस्थितिको परीक्षण, प्रोस्टेट क्यान्सरको लागि प्रोस्टेट स्पेसिफिक एन्टिजेन (पीएसए) तथा भिडियो एक्सरे गराउनु पर्दछ। यसको अलावा महिलामा जस्तै आवश्यकताअनुसार चिकित्सकको सल्लाहमा विभिन्न इमेजिङ विधिहरू गराउनुपर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस !