कम्युनिस्ट गढमा रास्वपाको दोहोरिने दाउ, पुनरागमनको खोजीमा कांग्रेस-एमाले
काठमाडौं : पर्यटकीय शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जको पुछारदेखि पुतली सडकको व्यस्त शहरी क्षेत्रसम्म फैलिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर-६ फेरि एकपटक राजनीतिक बहसको केन्द्र बनेको छ। यो क्षेत्र नेपालको काठमाडौं जिल्लाको १० संसदीय निर्वाचन क्षेत्रमध्ये एक हो।
यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेस गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनपछि अस्तित्वमा आएको हो। यो क्षेत्रमा महानगरपालिकाको २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ पर्छन्।
कहिले वामपन्थी आन्दोलनको सुरक्षित किल्ला, कहिले कांग्रेसको पुनरागमनको आधार क्षेत्र र पछिल्लो पटक नयाँ राजनीतिक शक्तिको उदय थलोको रूपमा चिनिएको काठमाडौं-६ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण देशव्यापी चासोको केन्द्र बनेको छ। पछिल्ला दुई चुनावमा यस क्षेत्रका मतदाताहरूले राजनीतिक दलहरूलाई ‘चक्मा’ दिएका छन्। अघिल्लो चुनावमा यस क्षेत्रमा दलहरूले गरेको पूर्वानुमान ‘फेल’ खायो। गठबन्धन गरेर चुनावमा होमिने लहड चलिरहेका बेला दलहरूले गरेको अनुमानविपरीत नतिजा आएपछि यस क्षेत्रलाई ‘सस्पेन्स’ क्षेत्रका रूपमा समेत चिनिन थालेको छ।
२०७४ सालको चुनावमा तत्कालीन माओवादी र एमालेले गठबन्धन गरेर चुनावमा जाँदा काठमाडौं-६ ले कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानलाई जिताएर संसद पठायो। उनले १६ हजार ७८५ मत ल्याएर निर्वाचित हुँदा गठबन्धनका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत पाएका थिए। तेस्रो बनेका विवेकशील साझाका रमेश चिलुवालले ४,२२५ मत पाएका थिए।
त्यस्तै २०७९ सालको चुनावमा पनि यहाँ गठबन्धन भएको थियो। तर, काठमाडौं-६ ले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाललाई चुनाव जितायो। गठबन्धन गरेका नेपाली कांग्रेस-नेकपा एमाले निकटतम प्रतिस्पर्धी पनि बन्न चुके। खनालले १४ हजार २२१ मत ल्याएर निर्वाचित हुँदा एमालेका सर्वेन्द्र खनालले ८,९१७ मत पाएका थिए। त्यस्तै गठबन्धनका उम्मेदवार प्रधानले ८,८१२ मत ल्याए।
काठमाडौं-६ को भौगोलिक र सामाजिक बनोट नै यसको राजनीतिक चरित्रको मूल कारण हो। झोर, साङ्ला, काभ्रेस्थली, फुटुङ, धर्मस्थलीजस्ता काँठ क्षेत्र यहीँ छन्। जहाँ अझै पनि ग्रामीण मनोविज्ञान, बसाइँसराइको प्रभाव र आधारभूत पूर्वाधारका सवाल निर्णायक मानिन्छन्। त्यस्तै गोंगबु, बानियाँटार, सामाखुसी, बागबजार आसपासका कोर शहरी क्षेत्र पनि यसै निर्वाचन क्षेत्रमा पर्छन्।
जहाँ सुशासन, सेवा प्रवाह, प्रविधि र जीवनस्तरका मुद्दा प्राथमिकतामा पर्ने गरेका छन्। यही दुई भौगोलिक चरित्रले काठमाडौं-६ ले चुनावमा दलहरूको पूर्वानुमानभन्दा ‘उल्टो’ नतिजा दिँदै आएको छ। काठमाडौं-६ को निर्णायक पक्ष बसाइँ सरेर आएका मतदाता देखिने गरेका छन्। झोर, साङ्ला, काभ्रेस्थली, धर्मस्थली क्षेत्रमा नुवाकोट, धादिङ, रसुवा, लमजुङलगायत जिल्लाबाट आएका मतदाताको संख्या उल्लेख्य छ। टोखा क्षेत्रमा गण्डकी क्षेत्रका मतदाताको प्रभाव बढी देखिन्छ। यी मतदाताले कुन दललाई भरोसा गर्छन् भन्ने कुराले अन्तिम नतिजामा फरक पार्ने गरेको देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिशिर खनाललाई फेरि उम्मेदवार बनाएको छ। रास्वपा सचिवालय सदस्यसमेत रहेका खनाल शिक्षा र नीति निर्माण पृष्ठभूमिका उम्मेदवार हुन्। अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका, ‘टिच फर नेपाल’मार्फत परिचित खनालले सुशासन, सेवा प्रवाहको डिजिटाइजेसन, कानुनी सुधार र आर्थिक कूटनीतिलाई मुख्य चुनावी मुद्दा बनाएका छन्।
यता, नेपाली कांग्रेसले यसपटक नयाँ अनुहार कृष्ण बानियाँ (सबुज)लाई मैदानमा निकालेको छ। दुई पटक काठमाडौं जिल्ला सभापति, २०५४ सालमा गोंगबु गाविस अध्यक्ष र लामो समय संगठन निर्माणमा सक्रिय बानियाँ कांग्रेसको ‘काँठ’ क्षेत्रका प्रतिनिधि हुन्। नदी संरक्षण, शहरी पुनर्जागरण र वातावरणीय मुद्दालाई प्रमुख एजेण्डा बनाउँदै उनी अहिले मतदातामाझ पुगिरहेका छन्। पार्टीभित्र विवाद र आन्तरिक असन्तुष्टिहरू भए पनि आसन्न चुनावको मुखमा यहाँ कांग्रेस एकजुट भएको देखिएको छ।
नेकपा एमालेले प्रदेशसभा सदस्यबाट राजीनामा गराएर अमनकुमार मास्केलाई प्रतिनिधिसभाको चुनावी मैदानमा उतारहेको छ। फुटुङका रैथाने, इन्जिनियर पृष्ठभूमिका मास्के बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसकेका छन्। ‘विकास आजका लागि होइन, पुस्तौंका लागि’ भन्ने नारासहित उनी पूर्वाधार विकासमा गरेको कामलाई ब्राण्डिङ गर्न लागिपरेका छन्।
विभिन्न कम्युनिष्ट घटकहरुको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हेमलाल शर्मा ‘हिमाल’लाई दोस्रो पटक उम्मेदवार खडा गरेको छ। विद्यार्थी आन्दोलन हुँदै सशस्त्र संघर्षसम्मको पृष्ठभूमि बोकेका शर्मा ‘जेनजी प्रतिनिधित्व’ को दाबी गर्छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उद्धवराज भेटवाल राजसंस्था र स्वदेशी मुद्दासहित मैदानमा उत्रिएका छन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले इन्द्रकुमारी बज्राचार्य, राष्ट्रिय जनमोर्चाले जगतप्रसाद रेग्मी, प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गिरीराज अर्याल, जय मातृभूमि पार्टीले रोमलाल गिरी र श्रम सँस्कृति पार्टीले लवली थापालाई काठमाडौं-६ मा उम्मेदवार बनाएको छ। त्यस्तै नेकपा (माओवादी)ले शुक्रबहादुर लामा, उज्यालो नेपाल पार्टीले वारिस धरेल, प्रजातान्त्रिक पार्टी नेपालले उद्धवप्रसाद मिश्र, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) ले इन्दिरा थापा र आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट सफलता बोगटी चुनावी मैदानमा छन्। त्यस्तै अम्बिकाकुमारी कार्की, बलबहादुर केसी, रामकुमार घिमिरे, संगम अर्याल र सरोज थपलिया पनि स्वतन्त्र रूपमा चुनावमा भिडिरहेका छन्।
वामपन्थी विरासतदेखि नयाँ शक्तिसम्म
२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ मा भएको पहिलो संसदीय निर्वाचनदेखि नै काठमाडौं-६ (त्यतिबेला फरक नम्बरमा विभाजित) वामपन्थी प्रभावको क्षेत्र मानिन्थ्यो। भूमिगत राजनीति, आन्दोलनको इतिहास र काँठ क्षेत्रको राज्यविरोधी मनोविज्ञानले यहाँ सहाना प्रधान, पद्मरत्न तुलाधर, राजेन्द्र श्रेष्ठ, मंगलसिद्धि मानन्धरजस्ता वाम नेताहरूलाई स्थापित गराएको इतिहास छ।
२०४८ मा सहाना प्रधानको विजय, २०५१ मा पुनः उनको जित र २०५६ मा एमालेका मंगलसिद्धि मानन्धरको जितले यो क्षेत्रलाई ‘कम्युनिष्ट गढ’ का रूपमा चिनियो। तर, समयसँगै भूगोल र समाज बद्लियो। सडक सञ्जाल विस्तार भयो, आवादी बढ्यो, खेती प्रणाली व्यावसायिक बन्दै गयो र बाहिरी जिल्लाबाट बसाइँ सर्नेहरूको संख्या नसोचेको रूपमा बढ्यो। यही परिवर्तनले राजनीतिक झुकाव पनि विस्तारै रूपान्तरण गयो।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता हितमान शाक्यको जित अप्रत्याशित भए पनि त्यसपछि माओवादीको प्रभाव क्रमशः फितलो बन्दै गयो। २०७० र २०७४ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले लगातार जित निकालेर कांग्रेसको पुनरागमन गराए। विशेष गरी २०७४ मा एमाले-माओवादी वाम गठबन्धन हुँदाहुँदै पनि कांग्रेसले यो क्षेत्र जोगाउनु राजनीतिक रूपमा महत्वपूर्ण मानिन्छ।
नयाँ दलको उदय
२०७९ सालको निर्वाचनले भने काठमाडौं-६ को पुरानो चिनारीलाई फेरिदियो। पहिलो पटक संसदीय चुनावमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यहाँबाट प्रत्यक्षतर्फ जित निकाल्यो। रास्वपाका शिशिर खनाल १४ हजार २२१ मतसहित निर्वाचित हुँदा कांग्रेस र एमाले दुबै अपेक्षाकृत कमजोर देखिए। समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो शक्ति बन्यो।
काठमाडौं-६ मा अहिले स्पष्ट त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। रास्वपा विरासत जोगाउने प्रयासमा छ, कांग्रेस पुरानो पकड फर्काउने दाउमा र एमाले विकास र संगठनको बलमा पुनरागमनको जमर्कोमा छ।
स्थानीय चुनावको नतिजाले के देखाउँछ?
यो क्षेत्रमा गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा कांग्रेस अघि छ। कांग्रेसका वडाध्यक्षहरूले १७ हजार २७७ मत पाएका थिए। नेकपा एमालेका वडाध्यक्षले १४ हजार ३०३ मत पाएका थिए। त्यस्तै माओवादी (तत्कालीन)का उम्मेदवारले २,४६२ मत प्राप्त गर्दा तत्कालीन एकीकृत समाजवादीका उम्मेदवारले १,८५९ मत प्राप्त गरेका थिए। राप्रपाका उम्मेदवारले एक हजार १६ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस !