गगनले बिर्सेका देउवा, न भेटघाट, न सरसल्लाह
काठमाडौं : विशेष महाधिवेशनबाट गगनकुमार थापा कांग्रेसको पार्टी सभापति बने। त्यसपछि गगनको हस्ताक्षरमा पार्टीका उम्मेदवारलाई टिकट बाँडियो। पूर्वसभापति शेरबहादुर देउवा नजिकका केही नेताले पनि टिकट पाए। तर, अधिकांशले पाएनन्। विशेष महाधिवेशन नै अवैध भएको भन्दै आफू नै पार्टी सभापति रहेको दाबी गर्दै देउवाले सर्वोच्चमा मुद्दा हाले। तर, उक्त मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन। गगनले नै पार्टी हाँके। हुँदाखाँदाको पार्टी सभापति पद गुमाएर, डडेलधुरामा चुनाव लड्ने आकांक्षाबाट विमुख हुँदा पनि देउवा
चुपचाप छन्।
प्रतिनिधिसभा निर्वाचनले छपक्कै छोपिसक्दा पनि पार्टी सभापति गगन र पूर्वसभापति देउवाबीच भेटघाट भने भएको छैन। चुनावका विषयमा समेत कुनै सरसल्लाह नभएको देउवाको सचिवालयले जनाएको छ। देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘विशेष महाधिवेशनको अन्तिम दिन बिहान भेट भएको हो। त्यसपछि भेट भएको छैन। बाहिर मिडियामा भेट भयो भनेर आएका समाचार सबै भ्रामक हुन्।’
५ पटक प्रधानमन्त्री र २ पटक कांग्रेस सभापति बनेका देउवा स्वयं पनि मौन छन्। उनी निकट नेताका अनुसार देउवाले निर्वाचन अवधिभर कुनै प्रतिक्रिया दिन चाहेका छैनन्। देउवाले गगन सभापतिमा चुनिएसँगै बधाई शुभकामना पनि दिएका छैनन्। अझै भनौं उनले आफूलाई सभापति पदमै कायम राखेका छन्। कुनै चाडपर्व विशेषमा देउवाले पार्टी सभापतिकै नामबाट शुभकामना सन्देश दिइरहेका छन्।
‘चुनाव आइसकेकाले यतिबेला नकारात्मक कुरा गर्न हुँदैन,’ भनेर देउवाले आफू निकट नेताहरूलाई पनि सम्झाउने गरेको मीन विश्वकर्माले बताए। ‘उहाँ पर्ख र हेरको अवस्थामा हुनुहुन्छ,’ देउवा निकट नेता विश्वकर्माले भने, ‘कहिलेकाहीँ मान्छेसँग उपाय भएन भने समय बलबान हुन्छ भन्ने सिद्धान्तमा उहाँ अडिनुभएको छ।’
हुन त, देउवा निवासमा पहिला जस्तो नेता/कार्यकर्ताको खचाखच भीड पनि हुँदैन। उनी निकटका उम्मेदवारले ‘आशीर्वाद’ माग्दै सहयोग गरिदिन आग्रह गर्ने गर्छन्। जवाफमा देउवाले ‘मैले के गर्नुपर्यो’ भन्दै प्रश्न गर्छन् र आफूले सकेको सहयोग पनि गर्छन्। ‘उहाँ (देउवा)ले अहिलेको समग्र राजनीतिक अवस्था नै विषम परिस्थितिको उपज भएको र काबुबाहिर रहेकाले यसलाई हामीले पर्ख र हेरको रूपमा लिनुपर्छ भन्नुहुन्छ,’ विश्वकर्माले भने।
टिकट वितरणको अधिकांश देउवा निकट नेताहरू छुटे पनि देउवा मौन नै बसे। ‘गगन थापाको हस्ताक्षरमा बाँडिएका टिकटविरुद्ध जानु भनेको हामीले दाबी गरेको रूखको विरुद्ध जानु हो,’ विश्वकर्माले भने, ‘रूख चिह्न हाम्रो हो भन्ने अनि रूखमा मतदान नगर भनेर मतदातालाई भन्न सकिँदैन। सबै ठाउँमा उम्मेदवार उठाउँदा जित्ने उम्मेदवार उठाउनुपर्छ। बागी उम्मेदवारले जित्दैनन्।’
बागी उम्मेदवार उठाउँदा कांग्रेस दुई चिरामा विभाजन हुने भएकाले आफूहरू चुप बसेको देउवा निकट नेता विश्वकर्माले बताए। ‘यतिबेला हामी पछाडि हट्दा नै ठीक हुन्छ भनेर मैले नै शेरबहादुर दाइलाई सुझाव दिएको हुँ,’ विश्वकर्माले भने। नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासका हरेक मोडहरूको निर्णायक शक्ति हो।
मुलुकमा नागरिक अधिकार, राजनीतिक चेतनाको विद्रोहदेखि लोकतान्त्रिक बहुदलीय व्यवस्था, जनआन्दोलन, शान्तिसम्झौता र संविधान निर्माणको नेतृत्व गरेको पार्टीले अहिले निर्वतमान सभापति सँग औपचारिक भेटसम्म नगर्दा देउवा निकट नेता भने रुष्ट छन्। देउवा निकट एक नेता भन्छन्, ‘अभिभावकलाई बाहिर राखेर आफूमात्र दौडिने दाउमा उहाँहरू हुनुहुन्छ। यस्तो दौडले कोही काहीँ पुग्दैन।’
प्रष्ट रूपमा कांग्रेसमा दुई खाले कार्यसमिति रहेको विश्वकर्मा बताउँछन्। ‘एउटा १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति छ। अर्को भृकुटीमण्डपमा भएको विशेष भेलाबाट स्वघोषित कार्यसमिति,’ उनले भने,‘त्यसलाई निर्वाचित भन्नै मिल्दैन। त्यो एउटा भीडले समातेर कर्यापझ्याप पारेको नेतृत्व हो।’
गगन थापा जुन भेलाबाट सभापति बने, उनका पदाधिकारी र केन्द्रीय सदस्यको भाषण शैलीले निर्वाचनमा कांग्रेसलाई अत्यन्तै कमजोर बनाएको विश्वकर्माले बताए। ‘गगन थापाको नेतृत्वलाई सफल बनाएर भावी प्रधानमन्त्री गगन थापालाई बनाउन लाग्छु भनेर लागेका मानिसहरू र विद्रोह गरेका मानिसहरूको भाषा, शैली र अभिव्यक्तिको स्टाइलले निर्वाचनमा कांग्रेसलाई नै ठूलो असर गरेको छ,’ उनले अगाडि भने।
यद्यपि केही दिनअघि धनुषा–४ को चुनावी सभामा सभापति थापाले पार्टीका नेताहरूबीच मतभेद नरहेको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका थिए। ‘भर्खरै कांग्रेसको अधिवेशन गरेर नयाँ नेतृत्व आएका छौं,’ थापाले भनेका थिए,‘पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन। म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु। पार्टीका अरू नेताहरूसँग पनि संवादमा छु। हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौं। अहिले एक ढिक्का छौं।’
प्रतिक्रिया दिनुहोस !