अल्गोरिदमको निर्देशन कि विवेक प्रयोग ?
आसन्न निर्वाचनसँगै अल्गोरिदमको व्यापक चर्चा भइरहेको छ। डिपफेक, मिथ्या सूचना, तथ्यहीन सूचना र तस्बिर सामाजिक सञ्जालबाट बढी दुरुपयोग भइरहेका छन्। एआईमार्फत गलत सूचना, तस्बिर, भिडियो प्रयोग हुँदा चुनावमा उम्मेदवारका विषयमा भ्रम उत्पन्न गराउने, अल्गोरिदमका कारण त्यसलाई व्यापकता दिने कामसमेत भइरहेको छ।
चुनाव लक्षित सामग्रीहरू, जो इन्टरनेट प्लेटफर्म अर्थात् सामाजिक सञ्जालहरूमा आइरहेका छन्, त्यसले यो निर्वाचनमा नागरिकको विवेकपूर्ण मत प्रकट हुन्छ कि इन्टरनेटको कमाण्डले निर्देशित गरेको ठाउँमा मतदातालाई पुर्याउने हो भन्ने आशंका देखिएको छ। जसरी एउटा अम्मलीले चुरोट सिक्नेबेलामा तानेको पहिले सर्कोले उसलाई लत लगाएर फोक्सोको क्यान्सरसम्म पुर्याउँछ, त्यसरी नै हामीले प्रयोग गर्ने इन्टरनेटसँग जोडिएको डिभाइसले मित्थ्या सूचनाको लहलहैमा लागेर भ्रमलाई वा असत्यलाई नै सत्य मान्न बाध्य पार्ने खतराका बीचमा हामी उभिएका छौं।
विचार निर्माणको आफ्नै प्रक्रिया हुन्छ। मानिसले आफ्नो जीवनमा उपस्थित समस्याको समाधान खोज्ने गर्छ, आवश्यकता पूरा गर्नका लागि वा नयाँ सिर्जना गर्नका लागि घोत्लिने गर्छ। त्यसक्रममा उसको मस्तिष्कमा नवीन सोच आउँछ, जो उसका लागि नितान्त आफ्नो हुन्छ। त्यसरी आफ्नो लोग्ने नयाँ अवधारणा वा जुक्तिहरू उत्पादन गर्ने व्यवस्थित मानसिक प्रक्रियालाई विचार निर्माणको प्रक्रिया भन्न सकिन्छ।
अहिलेको हाम्रो समाज यसै दिशातर्फ उन्मुख हुन खोजेको चिन्ता जताततै जाहेर हुँदै छ। चुनावसँगै नागरिकमा नयाँ आशा, नयाँ निराशा र नयाँ भ्रमहरू जोडिँदै आएका हुन्छन्। पछिल्ला केही वर्षमा भने यी भ्रमहरूलाई अझ तीव्र बनाउने माध्यम बनेको छ–सामाजिक सञ्जाल। आजको मतदाता केवल राजनीतिक भाषण, घोषणापत्र वा प्रत्यक्ष जनसम्पर्कबाट मात्र प्रभावित हुँदैन, ऊ फेसबुकको टाइमलाइन, टिकटकको छोटो भिडियो, युट्युबका हेडलाइन र एक्स (टीटर) का ट्रेन्डिङ ह्यासट्यागबाट पनि निर्देशित हुन थालिएको छ। यही सन्दर्भमा प्रश्न उठ्छ–के हाम्रो मत निर्णय विवेकबाट हुँदैछ, कि अरू कसैद्वारा आफ्नो अनुकूलताका लागि बनाइएका धारणा र भावनाबाट ?
निर्वाचन लोकतन्त्रको मूल आत्मा हो। यो भनाइको अर्थ के हो भने स्वतन्त्र नागरिकले आफ्ना शासक चुन्नका लागि आफ्नो विवेकको उच्चतम प्रयोग गरेर आफूलाई सही ठाउँमा अभिव्यक्त गर्ने सबैभन्दा उपयुक्त बैधानिक प्रक्रिया वा स्थान भनेको निर्वाचन हो। त्यसैले यो कुनै एक दिनका लागिको मतदान प्रक्रिया मात्र होइन। निर्वाचनले नागरिक चेतनाको परीक्षण पनि गर्ने गर्छ।
तर, आज सामाजिक सञ्जालमा प्रदर्शन भइरहेका सामग्रीहरूका आधारमा भन्नुपर्दा निर्वाचन ‘विवेक प्रयोग गर्ने उत्सव’ भन्दा पनि ‘भावनात्मक रूपमा निर्देशित हुने क्षण’ बन्दै जान्छ कि भन्ने डर देखिन्छ। यसको मुख्य कारण हो–सामाजिक सञ्जालमा बनाइएका अरू कसैको अनुकूलको सामग्री।
एउटा उदाहरण हेरौं, काठमाडौं महानगरमा धेरै काम भयो, काठमाडौंले राम्रो नेतृत्व पायो भन्ने भाष्य बनेको छ। यो कुरामा सत्य पनि होला। तर, यो भाष्यसँग सहमत भएर प्रचारबाजी गर्नेहरूलाई त्यो महानगरको विकास बजेट कति खर्च भयो ? आफ्नो क्षत्राधिकारभित्र रहेर पालिकाले कति कानुन निर्माण तथा संशोधन गर्यो ? फोहोरका दृष्टिले छिमेकी ललितपुर महानगरभन्दा सफा छ कि कस्तो छ ? यो महानगरको बजेटको प्राथमिकता के हो ? यहाँका नागरिकका समस्याको सूचीमा शिक्षा, स्वास्थ्य कहाँनेर पर्छन् ? भन्ने जस्ता सामान्य सवालहरूको उत्तर बिनानै वाहवाही गरिँदैछ। यो प्रवृत्ति अन्यत्र मात्र छ, काठमाडौंको सन्दर्भ त एउटा उदाहरण मात्र हो।
त्यसकारण भन्न सकिन्छ कि सामाजिक सञ्जालले बनाइदिएको भाष्य तटस्थ नहुन सक्छ, त्यो कसैको इच्छा विशेषले बनाइएको हुन्छ। तिनको उद्देश्य सत्य खोज्नु होइन, प्रयोगकर्तालाई बढी समय प्लेटफर्ममा राख्नु हो। तथ्यांकहरूले देखाउँछन् कि रिस, डर, घृणा र अन्धसमर्थनजस्ता भावनात्मक सामग्रीहरू बढी चासोका साथ हेरिन्छ।
यो मानिसको विचार बदल्ने प्रक्रियाको प्रारम्भ हुन्छ। यसलाई अल्गोरिदम भन्छि। अल्गोरिदमले रमाइलोका लागि वा चासोले कुनै सामग्रीलाई पछ्याउँदा अन्ततः त्यसैलाई नै सम्पूर्ण रूपमा सत्य देखेर अनुशरण गर्ने अवस्थासम्म पुर्याइदिन्छ। अहिले निर्वाचनलाई लक्षित गरेर इन्टरनेटसँग जोडिएका डिभाइसहरूमा त्यस्तै सूचनातर्फ मानिसलाई धकेल्दै लैजाने कमाण्ड थिचिँदै छ। यो कमाण्डको पछिलाग्दै मतदाताहरू क्रमशः अरूले नै तय गरिदिएको चुनाव चिह्नसम्म पुग्ने अवस्था आउन सक्छ। जसरी चुरोटको अम्मिली पहिलो सर्कोबाट क्यान्सरको घरसम्म पुग्ने गर्दछ।
नेपालको सन्दर्भमा हेर्दा, चुनावी समयमा गलत सूचना प्रवाह गर्ने चलन नौलो त होइन, तर यो बेला अल्गोरिदमको कमाण्डका आधारमा मानिसलाई गलत र भ्रमपूर्ण सूचना तीव्र गतिमा फैलिँदै गरेका छ, जो घातक छ। इन्टरनेटको पहुँचको सदुपयोगभन्दा दुरुपयोगको क्षण हो यो। यसले मतदातालाई सूचित बनाइ विवेक प्रयोग गर्नका लागि उत्साहित होइन, बरु उत्तेजित बनाउँछ। यहाँ तथ्यांकले के भन्छ भने नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढ्दो छ। ५६ प्रतिशतभन्दा बढीले इन्टरनेट प्रयोग गर्ने गर्छन्, सामाजिक सञ्जालसँग जोडिन्छन्। सामाजिक सञ्जालमा जोडिएका १० जनामध्ये १ जनाले मात्र ती सूचनाको तथ्य जाँच गर्ने गरेको एक अध्ययनले देखाएको छ। यस्तो अवस्थामा सामाजिक सञ्जालमा अरू कसैको अनुकूलको सामग्री आउने, अल्गोरिदमले कमाण्ड गर्दै मतदातालाई त्यही अरूको कुरालाई पत्याएर धारणा बनाउन बाध्य पार्ने अवस्था छ। यो चुनावमा व्यक्ति विशेषको विवेकको स्वतन्त्र प्रयोग हुनसक्ला त ? गम्भीर र मननीय सवाल हो यो।
तर, पनि प्रश्न ‘सामाजिक सञ्जाल प्रयोग गर्ने कि नगर्ने’ होइन, ‘कसरी प्रयोग गर्ने’ भन्ने हो। अल्गोरिदमले मतदातालाई पार्न सक्ने प्रभावबाट जोगिन केही व्यावहारिक उपायहरू आवश्यक छन्, जसलाई अपनाउनतर्फ सबैलाई प्रेरित गर्न आबश्यक देखिएको छ।
बुँदागत रूपमा भन्नुपर्दा पहिलो, सूचनाको स्रोत जाँच्ने बानी। कुनै पनि राजनीतिक सामग्री हेर्दा–यो कसले बनाएको हो ? कुन उद्देश्यले बनेको छ ? तथ्य के हो र मत के हो ? भन्ने प्रश्न आफैंसँग सोध्ने अभ्यास आवश्यक छ। आधिकारिक समाचार माध्यम, तथ्य–जाँच गर्नका लागि प्लेटफर्मको प्रयोग र विभिन्न स्रोतसंग तुलना गर्नु विवेकशील नागरिकको जिम्मेवारी हो।
दोस्रो, भावनात्मक प्रतिक्रियालाई ब्रेक लगाउने अभ्यास। रिस उठाउने, डर जगाउने वा अत्यधिक उत्साह दिने सामग्री तुरुन्तै सेयर गर्नु
अल्गोरिदमको जित हो। केही क्षण रोकिएर सोच्नु– ‘यो सामग्रीले मलाई किन यस्तो महसुस गरायो ?’ यो प्रश्नले नागरिकलाई निर्देशित मतदाता हुनबाट जोगाउँछ।
तेस्रो, आफ्नो डिजिटल आहार सन्तुलित बनाउने। एउटै विचारधाराको सामग्री मात्र हेर्नु आत्मसन्तुष्टिको जालमा फस्नु हो। फरक दृष्टिकोण, आलोचनात्मक लेख र तथ्यमा आधारित विश्लेषण पढ्ने बानीले विवेक बलियो बनाउन मद्दत गर्छ।
चौथो, राजनीतिक बहसलाई व्यक्तिपूजाबाट नीति र परिणामतर्फ मोड्ने। अल्गोरिदमले अनुहार, नाराजस्ता सरल प्रतीकलाई प्राथमिकता दिन्छ। तर, मतदाताले सोध्नुपर्ने प्रश्न नीति, कार्यसम्पादन र भविष्यको दृष्टि हो। भावनात्मक अपिलभन्दा तथ्यलाई आधार बनाउनु नै विवेकको प्रयोग हो।
पाँचौं, विश्वसनीय सञ्चारमाध्यम हेर्ने बानी। इन्टरनेट जोडिएका हाम्रा डिभाइसहरूमा सम्पादकीय नीति सहित जिम्मेवार पत्रकारिता गरिरहेका समाचारका आउटलेटहरू सजिलै भेटिन्छन्। ती नखोज्ने, स्वार्थले बनाइएका सञ्जालका सामग्री मात्र हेर्ने बानीले हामीलाई हाम्रो आफ्नो लागि धारणा बनाउन मद्दत गरिरहेका छैन भन्ने बुझ्न जरुरी छ। जिम्मेवार सञ्चारमाध्यमको कमाण्डमा क्लिक गर्ने बानी बसाल्न जरुरी छ। निर्वाचन कुनै दल, नेता वा सामाजिक सञ्जालको जित–हार मात्र होइन। यो नागरिकको विवेकको प्रस्तुति हो। व्यावहारिक रूपमा यसो हुनसक्यो भने मात्र निर्वाचन साँच्चिकै लोकतन्त्रको उत्सव बन्छ।
अन्ततः, लोकतन्त्रको भविष्य मतपेटिकाभन्दा पहिले नागरिकको मनमा तय हुन्छ। सामाजिक सञ्जालमा कसैले आफ्नो स्वार्थका लागि बनाएको सामग्रीको आधारमा होइन, आफ्नै विवेकको आधारमा निर्णय गर्न सक्छु भन्ने आत्मविश्वास सबैमा जाग्रित हुनु नै आजको सबैभन्दा ठूलो राजनीतिक आवश्यकता हो। निर्वाचन निर्देशित हुने क्षण होइन–विवेक प्रयोग गर्ने उत्सव बनोस्।
पोख्रेल नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन्।
प्रतिक्रिया दिनुहोस !