काठमाडौं–७, दशकपछि कांग्रेसको आफ्नै उम्मेदवार, अरूलाई कति चुनौती ?

काठमाडौं–७, दशकपछि कांग्रेसको आफ्नै उम्मेदवार, अरूलाई कति चुनौती ?

काठमाडौं : काठमाडौं–७ को चुनावी मैदानमा १७ दल र १० स्वतन्त्र गरी २७ उम्मेदवार चुनावी मैदानमा छन्। प्रमुख शक्तिका रूपमा परिचित चार दलमा कांग्रेस र रास्वपाबाट गैरनेवार उम्मेदवार छन् भने एमाले र नेकपाबाट नेवार समुदायका उम्मेदवार छन्।

गठबन्धन बिनाको फागुन २१ को निर्वाचनले यस क्षेत्रको चुनावी भिडन्तलाई रोचक बनाउने देखिएको छ। यो क्षेत्रमा काठमाडौं महानगरका १६, १७, १८ र २५ नम्बर, नागार्जुन नगरपालिकाका १, २ र ३ र तारकेश्वर नगरपालिकाका ३, ४ र ५ नम्बर वडा छन्। काठमाडौं–७ मा प्रमुख चार दलमध्ये तीनवटाले पूर्वजनप्रतिनिधिलाई उम्मेदवार बनाउँदा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ। कांग्रेसबाट प्रमोदहरि गुरागाईं, एमालेका प्रकाश श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पराजुली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बसन्त मानन्धर चुनावी मैदानमा छन्।

कांग्रेसका गुरागाईं पहिलोपटक चुनावी प्रतिस्पर्धाका लागि तयार भएका हुन्। रास्वपाका उम्मेदवार पराजुली विघटित प्रतिनिधिसभाका सदस्य थिए भने एमालेका श्रेष्ठ र नेकपाका मानन्धर प्रदेशसभाबाट राजीनामा दिएर प्रतिस्पर्धामा उभिएका हुन्। औपचारिक रूपमाा फागुन ४ गतेबाट मात्र चुनावी अभियानलाई तीव्रता दिने बताउँदै गुरागाईंले अहिले मतदाता भेटघाट, अपिललगायतका गतिविधिहरू शान्त रूपमा गरिरहेको बताए।

मतदाताहरूसँग भेट्दै गर्दा आफूलाई अत्यन्त सकारात्मक प्रतिक्रिया आइरहेको पनि उनले बताए। यसपटक गठबन्धन नभएकाले कार्यकर्तादेखि मतदाता रूखमा भोट हाल्न पाइयो भनेर उत्साहित रहेको पाइएको जानकारी दिँदै गुरागाईंले भने, ‘मतदाताहरूले यसपटक वैचारिक मान्छे पाएका छौं भन्दै खुसी व्यक्त गरिरहनु भएको छ।’ उनले आफूले ‘विवेकशिल मतदाता, जवाफदेशी नेतृत्व’ को नारासहित चुनौवी मैदानमा रहेको पनि बताए।

रास्वपाका गणेश पराजुलीले अघिल्लो चुनावमा यस क्षेत्रमा जित हात पारेका थिए। निर्वाचन प्रचारका लागि सम्पर्क कार्यालय धमाधम खोलिरहेका पराजुलीले चुनावी नारा ‘भ्रष्टचार होइन, जवाफदेहिता हाम्रो प्रतिबद्धता’ बनाएका छन्। रास्वपा उम्मेदवार पराजुलीले  उम्मेदवारका रुपमा व्यक्तिगत वाचापत्रसहित मतदातासम्म आफु गइरहेको बताए। आफ्नो वाचापत्रमा पाँच वर्षभित्र गर्नुपर्ने विभिन्न कामहरू समेटिएको पराजुलीले जानकारी दिए। फागुन ७ गतेसम्ममा पार्टीको घोषणापत्र आउने जानकारी दिँदै पराजुलीले यसमा जेन–जी युवाहरूको माग, सुशासन, विकास र मुलुकको सवल अर्थतन्त्र निर्माणका मुद्दाहरू समेटिने जानकारी दिए। 

०७९ सालको निर्वाचनमा रास्वपाका उम्मेदवार पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याएका थिए। पराजुलीसँग एमालेका उम्मेदवार श्यामकुमार घिमिरे पराजित भएका थिए। दोस्रो स्थानको मत पाएका घिमिरेले ६ हजार ८ सय मत पाउँदा माओवादी केन्द्रको उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मतसहित तेस्रो स्थान बनाएकी थिइन्। समानुपातिकमा सबैभन्दा बढी रास्वपाले १० हजार ५ सय ८८ मत प्राप्त गर्दा एमालेले ६ हजार २ सय ९९, कांग्रेसले ६ हजार ४० मत पाएको थियो।

यो निर्वाचनमा कांग्रेसका शुभेच्छुकले एक दशकपछि आफ्नो पार्टीकै उम्मेदवारलाई मत हाल्ने मौका पाएका छन्। संविधानसभाका दुई निर्वाचन २०६४ र २०७० सालको निर्वाचनपछि काठमाडौं–७ मा कांग्रेसले आफ्नो दलको उम्मेदवार खडा गरेको छैन। २०७४ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारलाई समर्थन गरेको थियो। कांग्रेसले पूर्वप्राध्यापक गुरागाईंलाई अघि सारेको छ। उनी सरस्वती क्याम्पसका पूर्वप्राध्यापक हुन्। विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका गुरागाईं नेविसंघका पूर्वनेतासमेत हुन्। महामन्त्री प्रदीप पौडेल नेविसंघको अध्यक्ष रहँदा गुरागाईं उपाध्यक्ष थिए। ५१ वर्षीय गुरागाईंले स्नातकोत्तर तहको अध्ययन सकेका छन्।

गत निर्वाचनमा यस क्षेत्रमा दोस्रो शक्ति बनेको एमालेबाट प्रकाश श्रेष्ठ उम्मेदवार बनेका छन्। २०७४ र २०७९ सालमा बागमती प्रदेश सभा सदस्य बनेका श्रेष्ठ मन्त्री पनि बनेका थिए। काठमाडौं–७ को (२) मा ५ हजार २ सय १८ मतसहित जितेका उनी उद्योग र कृषिमन्त्री बनेका थिए। लगातार दुईपटक प्रदेश सांसदबाट बनेका श्रेष्ठलाई सांसदको पदावधि बाँकी रहँदै राजीनामा गरी संघीय सदनमा प्रवेश गर्न मैदानमा उत्रिएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पनि प्रदेशसभा जितेका व्यक्तिलाई उम्मेदवार बनाइएको छ। श्रेष्ठले फागुन ४ गतेअघिसम्म आफू र पार्टीले आन्तरिक रूपमा कार्यकर्ता र मतदातालाई भेट्ने काम गरिरहेको बताए। उनले अहिले पनि निर्वाचन आयोगको आचारसंहितालाई पालना गर्दै उम्मेदवारले गर्नुपर्ने चुनावी गतिविधिहरू निरन्तर अगाडि बढाइरहेको बताए। पार्टीको घोषणापत्र केही दिनपछि तयार हुने जानकारी दिँदै उनले अहिले आफूले उम्मेदवारका रूपमा स्थानीयस्तरका एजेन्डाहरू बोकेर मतदाता समक्ष गइरहेको बताए। 

विगतमा विभाजन र गठबन्धनका कुराहरूले निर्वाचन परिणाम सोंचे अनुरूप आउन नसकेको भए पनि यसपटक सबै दलका उम्मेदवारहरू एक्ला–एक्लै मैदानमा रहेकाले यसपटक नेकपा एमाले र आफ्नो पक्षमा नतिजा आउनेमा आफू विश्वस्त रहेको पनि श्रेष्ठले बताए। निर्वाचन अघि पार्टी र संगठन र आफू स्वयंले समेत काठमाडौं निर्वाचन क्षेत्र नम्बर–७ मा धेरै नतिजामुखी कामहरू गरेका कारण एमालेप्रति मतदाताको विश्वास बढेर गएको पनि उनले दाबी गरे। हिजो नयाँले केही गरिहाल्छन् कि भनेर मतदाता वरपर भए पनि अब नयाँलाई पनि जनताले चिनिसकेकाले हिजो र आजको परिस्थिति विल्कुल फरक रहेकाले यसपटक आफ्नो जित हुनेमा ढुक्क रहेको उम्मेदवार श्रेष्ठ बताउँछन्। उनले भने, ‘हामी तामझाम गर्दैनौं, यहाँ हाम्रो पार्टी र संगठनको आधार बलियो छ, यस पटक नतिजा हाम्रो पक्षमा हुन्छ।

नेकपाका उम्मेदवार वसन्त मानन्धर तत्कालीन एकीकृत समाजवादीबाट काठमाडौं–७ (क) बाट ५ हजार ८ सय ६६ मतसहित निर्वाचित भएका थिए। ५४ वर्षीय मानन्धरले स्नातक तहको अध्ययन गरेका छन्। सर्वाधिक मतदाता काठमाडौं महानगरपालिकाको वडा–१६ मा छन्। यस क्षेत्र चार उम्मेदवारमध्ये तीन जनाका लागि संयोग वडा यही बनेको छ। यस वडामा रास्वपाको केन्द्रीय कार्यालय पनि पर्छ। नेकपाका उम्मेदवार मानन्धरले पार्टीको घोषणापत्रको मस्यौदा गर्ने काम अन्तिम चरणमा पुगेको र केहि दिनमै छपाइ हुने जानकारी दिँए। आफ्नो क्षेत्रका मतदाताका समस्या सुन्ने, सुझाव लिने र आफ्ना प्रतिबद्धताहरू व्यक्त गर्नलगायतका काम तीव्र रूपमा भइरहेको जानकारी दिए।  यस्तै, काठमाडौं–७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लालकुमार लामा र राष्ट्रिय जनमोर्चाबाट दिल्लाकुमार श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्। यस्तै नेकपा संयुक्तका गुणबहादुर बन्जारा क्षेत्री, नेमकिपाकी गणेशमाया डंगोल, जसपाका बाबुराम लामा, आम जनता पार्टीका प्रदीप भट्टराई, प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिनरत्न ताम्राकार, राष्ट्रिय एकता दलका विनोदकुमार गुरुङ, जय मातृभूमि पार्टीका बैकुण्ठ फुयाल उम्मेदवार छन्। 

श्रम संस्कृति पार्टीका मणिरामबहादुर प्रधान, नेकपा माओवादीका दीपक मानन्धर, उज्यालो नेपाल पार्टीबाट विमला लामा, राष्ट्रिय मुक्ति पार्टीबाटा दिपिन पन्त चुनावी दौडमा छन्। यस्तै स्वतन्त्रतर्फ रामशरण थपलिया, सविता गमाल, सुजिता श्रेष्ठ, अन्जला बज्राचार्य, पुष्प बानियाँ, शर्मिला फुयाल, सुमन महर्जन, अमन श्रेष्ठ, बुद्धिप्रसाद रेग्मी, भरत पौडेल, प्रकाश कुँवर उम्मेदवार छन्। काठमाडौं–७ को निर्वाचनमा सबैभन्दा रोचक पक्ष निवर्तमान सांसद रास्वपाका गणेश पराजुलीविरुद्ध कांग्रेसका गुरागाईंसँगै एमालेका प्रकाश श्रेष्ठ र नेकपाका वसन्तप्रसाद मानन्धरबीचको प्रतिष्पर्धा हो। २०७४ र २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका प्रकाश र वसन्त दुवै नेता विगतमा एमालेका सहयात्री थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.