‘स्विङ’ क्षेत्र काठमाडौं–८ : पुरानै उम्मेदवार आमने–सामने, बिराजभक्तले जोगाउँलान् बिरासत ?

‘स्विङ’ क्षेत्र काठमाडौं–८ : पुरानै उम्मेदवार आमने–सामने, बिराजभक्तले जोगाउँलान् बिरासत ?

काठमाडौं : काठमाडौंको ‘कोर ‘एरिया’ काठमाडौं निर्वाचन क्षेत्र नम्बर-८ आसन्न निर्वाचनका कारण एक पटक फेरि चर्चा र बहसको केन्द्रमा छ। २६ दिनपछि हुने प्रतिनिधिसभा निर्वाचनका लागि यस निर्वाचन क्षेत्रमा २०७९ का उम्मेदवारहरु फेरि मैदानमा उत्रिएका छन् ।

काठमाडौं–८ नेपालको काठमाडौँ जिल्लाको १० संसदीय निर्वाचन क्षेत्रमध्ये एक चर्चाको क्षेत्र हो । यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनपछि अस्तित्वमा आएको हो । २०६३ पछि काठमाडौंलाई १० निर्वाचन क्षेत्रमा विभाजन गरियो । काठमाडौं–८ संसदीय क्षेत्रमा काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ र नागार्जुन नगरपालिकाको ४ र ५ नम्बर वडा रहेका छन् ।

यो क्षेत्रलाई राजनीतिक रूपमा ‘स्विङ’ क्षेत्रका रूपमा हेरिने गरिएको छ । यस क्षेत्रका मतदाताको निर्णय प्रत्येक निर्वाचनपिच्छे बदलिने गरेको विगतका निर्वाचन परिणामहरुले देखाएका छन् ।  चुनावी इतिहास नियाल्दा काठमाडौं–८ मा कुनै एक दलको निरन्तर वर्चस्व कायम हुन सकेको देखिँदैन ।

अघिलो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ १० हजार ११२ मत ल्याउँदै काठमाडौं–८ बाट विजयी भएका थिए ।

यो पटक पनि उनी रास्वपाबाट उम्मेदवार छन् । सत्ता होइन, संस्कार बदल्न आफूले उम्मेदवारी दिएको श्रेष्ठ बताउँछन् । पुरानो अनुभव र नयाँ ऊर्जालाई जोड्दै, जनताको आत्मसम्मान, अपनत्व र आम नागरिकले भरोसा गर्नसक्ने प्रणाली स्थापित गर्न आफू  उम्मेदवारी रहेको श्रेष्ठले बताएका छन्। 

उनी यस पटक पनि जित दोहोर्‍याउने दाउमा छन् । श्रेष्ठले सम्पदा, संस्कृति संरक्षणमा जोड दिँदै आएका छन् । ०७९ को निर्वाचनमा श्रेष्ठका प्रतिद्वन्द्वी थिए, तत्कालीन हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी । उनले ६,१७९ मत ल्याएका थिए । सायमीले यस पटक दल फेरेर चुनावी मैदानमा उत्रिएका छन् । सायमी यस पटक करिब डेढ दर्जन कम्युनिष्ट घटकको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनावी प्रतिष्पर्धामा छन्।

सायमी पनि सम्पदा, संस्कृति संरक्षण, ऐतिहासिक बस्ती, जात्रा–पर्व, भाषा र मौलिक पहिचान जोगाउन सक्रिय युवा हुन् । यस पटक पनि यी दुई उम्मेदवारको प्रतिष्पर्धालाई मतदाताले चासोका साथ हेरेका छन् । गत चुनावमा काठमाडौं–८ बाट तत्कालीन एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ तेस्रो भएका थिए । उनले यो क्षेत्रबाट ४,८८१ मत पाएका थिए ।

यस पटक एकीकृत समाजवादी तत्कालीन माओवादी केन्द्रसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । दुई पार्टी मिलेकाले अघिल्लो चुनावको भन्दा यस पटक नेकपाको मत बढ्ने कार्यकर्ताको दावी छ । तर, रास्वपासँग पनि काठमाडौं महानगरमा पूर्व प्रमुख बालेन शाहले एकता गरेकाले रास्वपाका उम्मेदवार श्रेष्ठले मत बढाउने दाबी पार्टीको छ । त्यसैले यो क्षेत्रमा श्रेष्ठ र सायमीको प्रतिष्पर्धालाई चासोका साथ हेरिएको मात्रै छैन्, चुनावी भिडन्त रोचक हुन सक्ने अनुमान समेत गरिएको छ ।

यस्तै नेपाली कांग्रेसबाट सपना राजभण्डारी चुनावी मैदानमा निस्किएकी छिन् । उनी दिवंगत नेता नवीन्द्रराज जोशीकी धर्मपत्नी हुन् । २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक सांसद थिइन् । २०४८ सालदेखि नेपाली कांग्रेसको विभिन्न पदमा रही सक्रिय रुपमा काम गरेको अनुभव भण्डारीसँग छ । उनी नेपाली कांग्रेसका महासमिति सदस्य पनि हुन् । सपना पनि सांस्कृतिक सम्पदा, जात्रा, डबली तथा मठमन्दिरको संरक्षणका साथै जलवायु परिवर्तनका विषयमा निरन्तर वकालत गर्दै आएकी छिन् । 

‘कांग्रेसको नेतृत्वमा अधुरा योजना पूरा गर्ने मेरो संकल्प हो,’ उनी सुनाउँछिन् । काठमाडौंलाई १० निर्वाचन क्षेत्रमा विभाजन गरिएपछि २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशी यस क्षेत्रबाट निर्वाचित भएर पहिलो संविधान सभामा प्रतिनिधित्व गरेका थिए । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा पनि जोशी नै निर्वाचित भए । २०७४ मा भने नेकपा एमालेले कांग्रेसलाई पराजित गर्दै सिट आफ्नो पक्षमा पारेको थियो । यस निर्वाचनमा जीवनराम श्रेष्ठ निर्वाचित भए । यी नतिजाले कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा यस क्षेत्रमा लामो समयदेखि चल्दै आएको देखिन्छ ।

एमालेबाट क्षेत्र नम्बर–८ मा राजेश शाक्य चुनावी भिडन्तका लागि तम्तयार भएका छन् । उनी २०५४ स्थानीय निर्वाचित कामनपा–१९ वडाको सदस्य र २०७४ बागमती प्रदेशको प्रदेशसभाका सदस्य हुन् । उनले २०७९ को प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका राज्यलक्ष्मी श्रेष्ठलाई १,७७४ मतको अन्तरले पछि पार्दै विजयी भएका थिए ।

यी नतिजाले कांग्रेस र एमालेबीचको प्रतिष्पर्धा यस क्षेत्रमा लामो समयदेखि चल्दै आएको देखिन्छ । यस पटक प्रतिनिधिसभामा पनि जितलाई निरन्तता दिने रणनीति अनुसार आफू मैदानमा उत्रिएको उनी बताउँछन् । ‘सोचमा स्पष्टता, काममा प्रतिबद्धता,’ शाक्यले भनेका छन् । एमालेले गत २०७९ को चुनावमा यो क्षेत्रबाट ३,८९१ मत ल्याएको थियो । त्यसबेला एमालेका शिवसुन्दर राजवैद्य उम्मेदवार थिए ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण कार्यमा शाक्य सक्रिय रूपमा संलग्न हुँदै आएका थिए ।जनतासँग प्रत्यक्ष रूपमा काम गर्दै आएको अनुभवका कारण आफ्नो जित पक्का रहेको उनको दावी छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाही पनि यो क्षेत्रमा प्रतिष्पर्धामा छन् ।

अघिल्लो चुनावमा यो क्षेत्रमा राप्रपाका प्रकाश रिमालले ४,३८८ मत ल्याएका थिए । त्यस्तै नेमकिपाका बन्दना श्रेष्ठ, उज्यालो नेपाल पार्टीका राजन खड्गी लगायतका २२ जना उम्मेदवार यस पटकको चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । काठमाडौं–८ मा ५७ हजार ८११ मतदाता छन् । जहाँ २३ मतदानस्थल र ६५ वटा मतदान केन्द्र छन् ।

हाल यस क्षेत्रमा पर्ने अधिकांश स्थान विगतमा नेकपा एमालेकी साहना प्रधानले जितिरहेको क्षेत्र पर्दछ । २०४८ र ०५१ मा गरेर दुई पटक प्रतिनिधि सभा सदस्यमा प्रधानले जित हासिल गरेकी थिइन् । ०५६ मा भने एमालेकै अष्टलक्ष्मी शाक्य विजयी भएकी थिइन् । काठमाडौ–८ मा यस पटक पनि कडा प्रतिष्पर्धा हुने लगभग पक्का जस्तो देखिएको छ ।

परम्परागत दलहरू आ–आफ्नो संगठन बलियो बनाउन प्रयासरत छन् । नयाँ र वैकल्पिक शक्तिहरूले अघिल्लो निर्वाचनको सफलतालाई निरन्तरता दिन खोजिरहेका छन् । सबै दलले यस क्षेत्रका मतदाताको मन जित्न विकास, सुशासन र सहरी व्यवस्थापनजस्ता मुद्दा मुख्य एजेण्डालाई अगाडि बढाइरहेको पाइएको छ । 

मुख्य दलहरुबाहेक राजेन्द्रप्रसाद शाहले नेपाल कम्युनिष्ट पार्टी संयुक्त र शिव सुन्दर कर्माचार्यले श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएका छन् ।  यस्तै सलामसिंह लामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी,  राजन खड्गी उज्यालो नेपाल पार्टी, विजय डंगोल नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिन्ह), छत्रकुमार पाख्रिन राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, मुक्तिनाथ शर्मा राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) र खगेश रंजितकार आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट चुनावी मैदानमा छन् । यस्तै मुना न्यौपाने पाण्डे, तुलसा श्रेष्ठ महर्जन, विकास खड्गी, सुनिता महर्जन र सुशीला नेपालीले स्वतन्त्र उम्मेदवारी दिँदै प्रतिष्पर्धामा उत्रिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.