एमालेको चुनावी एजेन्डा : जिते जलेश्वरमा सरकारी मेडिकल कलेज बनाउने
जलेश्वर : नेकपा एमालेले महोत्तरी क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन जितेपछि जलेश्वरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने प्रमुख राजनीतिक एजेन्डा सार्वजनिक गरेको छ। जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले स्वास्थ्य,कृषि,खानेपानी र पर्यटनलाई प्राथमिकतामा राख्दै विकासका प्रतिबद्धता जनाएको हो।
पत्रकार सम्मेलनमा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोजकुमार सिंहले करबाट देश चल्ने भएकाले प्राकृतिक स्रोत–साधनको प्रशोधन र सदुपयोग गरेर नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताए। नेपाल प्राकृतिक स्रोतमा धनी रहेको उल्लेख गर्दै उनले यसको सही उपयोग भए कसैलाई दुःखी हुनुपर्ने अवस्था नआउने दाबी गरे।
सिंहले बाढी र खडेरीका कारण किसान समस्यामा परेको भन्दै मल,सिँचाइ र खानेपानीको अभाव मतदाताको मुख्य गुनासो रहेको बताए। गर्मी बढ्दै जाँदा खानेपानीका मुहान सुकिरहेको अवस्थामा त्यसको संरक्षण र व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ। पानीका मुहान जोखिममा परेका स्थानमा रहेका भिक्सका रुख विस्थापित गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।
जलेश्वर प्रादेशिक अस्पताल रेफरल सेन्टर बने पनि पर्याप्त सेवा प्रवाह हुन नसकेको भन्दै सिंहले आफू निर्वाचित भए अस्पतालको सेवा प्रणालीलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। 'डाक्टर छन्, उपकरण छन्, तर सेवा छैन। म जितेपछि सेवा प्रवाहमा सुधार गर्छु,'उनले भने।
विश्वासकै आधारमा लोकतन्त्र चल्ने उल्लेख गर्दै सिंहले मतदातासँग विश्वास गरेर मत दिन आग्रह गरे। 'जनताले विश्वास गरे, मैले जनताको समस्या समाधान गर्छु,' उनले दाबी गरे।
एमालेले २०७० सालमा यस क्षेत्रबाट संविधानसभा निर्वाचन जितेको स्मरण गराउँदै उक्त जित फर्काउने तयारीमा रहेको जनाएको छ। यद्यपि, पार्टी नेता रामआधार कापर बागी उम्मेदवार बनेका छन्। यसबारे सिंहले नेता नभई व्यक्तिले बागी उम्मेदवारी दिएको दाबी गर्दै पूरा एमाले पार्टी आफ्नो पक्षमा रहेको बताए।
एमाले नेता रामदयाल मण्डलले एमाले जनताको लोकप्रिय पार्टी भएको दाबी गर्दै बागी उम्मेदवारीका विषयमा पार्टीले आवश्यक कारबाही गरिसकेको जानकारी दिए। उनले यसपटक महोत्तरी क्षेत्र नम्बर–३ को चुनाव एमालेले जित्ने दाबी गरे।
त्यस्तै,एमाले महोत्तरी–३ निर्वाचन परिचालन समिति संयोजक सिताराम झाले एमालेले राष्ट्र र भू–भागको सुरक्षाको ग्यारेन्टी लिएको उल्लेख गर्दै देशलाई स्थिर सरकार आवश्यक रहेको बताए। 'महन्थ ठाकुरलाई जिताउँदा पनि यहाँ विकास भएन, एमाले जितेपछि मात्रै विकास हुन्छ,'उनले भने।
एमालेले जलेश्वरलाई समेटेर पर्यटन क्षेत्र विकास,विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन, जलेश्वर क्याम्पको विकास र जलेश्वरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
प्रतिक्रिया दिनुहोस !