क्यान्सर विजेताको साहसिक साइकल यात्रा
‘याक एट्याक’ नामक संसारकै उच्चतम हिमालमय आयोजना गरिने अन्तर्राष्ट्रिय स्तरको साइकल प्रतियोगितामा सहभागी भएर फर्केका मेरा सहकर्मी हाडजोर्नी रोग विशेषज्ञ डा.विकास पराजुलीले एउटा प्रस्तुतिको क्रममा मध्यपहाडी लोकमार्गमा साइकल यात्रा अभियान गर्न लागेको सुनाए। उक्त जानकारीले म पुलकित थिएँ। तर, पनि यो यात्रामा सहभागी हुने कि नहुने भन्ने द्विविधामै थिएँ।
सन् २०२६ को जनवरी १ तारिखदेखि सुरु हुने साइकल अभियान यात्रामा दुईजना साइक्लिस्ट (जो लिड राइडर पनि) क्यान्सर विजेता रहेको थाहा पाएँ। यात्रा थप चुनौतीपूर्ण हुने महसुस गरें। एक्लो क्यान्सर विजेताले केही भूभागमा सहज खालको साइकल यात्रा गरेको जानकारी पाए पनि विश्वमै पनि यस्ता खाले साइकल यात्रा अभियान भए जस्तो लागेन। त्यसमाथि नेपाल जस्तो उबडखाबड एवं कच्ची सडकयुक्त १८०० किलोमिटर लामो लोकमार्गमा यसअघि एकै खेपमा साइकल अभियान पूरा गरेकै थिएनन्।
सामान्य नागरिक अर्थात् निरोगी मानिस (साइक्लिस्ट) का लागि त चुनौतीपूर्ण मानिन्छ, मध्यपहाडी लोकमार्गको साइकल यात्रा। क्यान्सर विजेता नै अर्थात् क्यान्सर रोगको उपचारपछि तंग्रिँदै गरेकाहरूले यति लामो साइकल यात्रा गर्ने अठोट गरेका थिए। साहसिपूर्ण भए पनि यात्राको क्रममा उनीहरूको स्वास्थ्यमा पर्न सक्ने असर र स्वास्थ्यको दृष्टिले समस्यायुक्त हुन सक्ने आँकलन गरी म यस साइकल अभियान यात्रामा सहभागी हुने निधोमा पुगें।
क्यान्सर विजेता एवं रिड राइडर हर्क लामालाई सन् २०२० मा पिसाबको थैलीको क्यान्सर पत्ता लागेपछि धुलिखेल अस्पतालमै उपचार गरिएको थियो। उपचार गर्ने क्रममा आफूलाई जस्तै अपरेसन गराउन, केमोथेरापी चलाउन आएका अन्य क्यान्सर प्रभावितहरूका आफन्तलाई पर्न गएको आर्थिक समस्या बुझेर कुनै दिन आफंै संलग्न भएर क्यान्सर प्रभावितहरूका लागि उपचार कोष खडा गर्ने योजना बुने। यस्तो पवित्र कार्य धुलिखेल अस्पतालसँग नै मिलेर गर्ने सोच बनाए। पर्यटन क्षेत्र अर्थात् टुर गाइडमा संलग्न हर्क लामाले आफ्नो प्यासन साइक्लिङमार्फत नै उपचार कोष संकलन गर्ने सिलसिलामा मध्यपहाडी लोकमार्ग छिचोल्ने निधो गरेका थिए।
यसैगरी, अर्की क्यान्सर विजेता एवं लिडराइडर हुन्, कविता चित्रकार । उनी पनि स्तन क्यान्सरको तेस्रो चरणको उपचारपछि तङग्रने क्रममा मानसिक चिन्ता एवं अवसादले निकै सताउँदै गर्दा उनका आत्मीय साथीले साइक्लिङ सिकाउन लगे। पछि साइकलिङमा रस बस्दै गयो। काठमाडौंवरिपरि राइडहरूमा निस्कन थालिन्। क्यान्सर उपचारपछिका शारीरिक एवं मानसिक समस्या दूर हुँदै गए। यसै सिलसिलामा आफ्ना गुरुसरह हर्क लामालाई साथ दिने निधो गरिन्। क्यान्सर तथा जीर्ण रोगबाट प्रभावित भई घरमै चिन्तित भएर बसेका महिला दिदीबहिनीहरूका लागि आफू नमुनाका रूपमा प्रस्तुत हुन कविता चित्रकारले यति लामो साइकल यात्रामा निस्कने अठोट गरिन्।
साइकल यडिकल डाक्टर भए पनि यात्रा दौरान ती क्यान्सर विजेताद्वयको स्वास्थ्यमा कुनै खराबी आएमा वा भवितव्य भएमा या त डा. विकास पराजुलीको आफ्नो साइकल यात्रा अपुरो हुन जान्थ्यो वा प्राविधिक रूपमा उनले क्यान्सर विजेताद्वयको हेरचाह गर्न सकिने अवस्था थिएन। यात्रा अभियानमा अर्का राइडरका रूपमा मेरै सहकर्मी विकास पराजुली मेयसरी साइकल कल्चर कम्युनिटीको आयोजनामा हुन लागेको यस साइकल अभियान यात्रामा म कार्यरत धुलिखेल अस्पतालको सहकार्य भएको कारणले मात्र नभई एक महिना लामो साइकल यात्रा अभियानका क्रममा मुख्यतः ती क्यान्सर विजेताद्वयको स्वास्थ्य चुस्तदुरुस्त राख्नुपर्ने आवश्यकताका कारण म एक महिना लामो साइकल यात्रामा सहभागी भएँ।
हर्क लामालाई पिसाबको थैलीको क्यान्सर भएका कारण एक महिनासम्मको लामो यात्राको क्रममा जल वियोजन अर्थात् डिहाइड्रेसनका कारण उनको मिर्गाैलाको स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्थ्यो। त्यसैगरी, महिना दिनसम्मको निरन्तर साइकल यात्राले कविता चित्रकारको स्तन क्यान्सरको दौरान सल्यक्रिया गरेको छातीको घाउ एवं वरिपरिका मांसपेसीमा पीडा हुने, जलन हुने समस्या हुन सक्थ्यो। यसको अलावा यात्राका दौरान यी दुवैजनाको पोसिलो खाना एवं आराममा पनि उत्तिकै ध्यान दिनुपर्ने जरुरत थियो।
हामीले पाँचथरको चिवा भन्ज्याङबाट साइकल यात्रा थाल्ने क्रममा वा थाल्दै गर्दा ती साइकल यात्री क्यान्सर विजेताहरूको आराम एवं खानामा कति पनि कम्प्रमाइज गरेनौं। एक महिना लामो साइकल यात्राका दौराउने हामी सम्भवतः २८, ३० ठाउँमा बास बस्यौं। एकाध ठाउँमा बाहेक खासै खान, बस्न समस्या भएन। तिनीहरूको स्वास्थ्यको दृष्टिले खानेकुरामा कार्बोहाइड्रेट, प्रोटिन एवं ठिक्क मात्रामा चिल्लो पदार्थको संयोजनमा ध्यान दिइयो। र, बिहानदेखि अर्थात् दिवा समयमा साइकल यात्रा गर्दै गर्दा अधिकतर समयमा ती साइक्लिस्टहरूले नै आफ्नो स्वास्थ्यको ख्याल राखे तर पनि तिनीहरूलाई आवश्यक पुनर्जलीय पदार्थ, शक्तियुक्त पेय पदार्थ एवं इनर्जी बारहरू ठाउँठाउँमा थपिदिने कार्य गरियो। नियमित अन्तरालमा साँझको समयमा यिनीहरूको स्वास्थ्य स्थिति, मांसपेसीको अवस्थाको, समग्रमा थकान एवं अन्य समस्याबारे सरसल्लाह गर्ने गरियो।
क्यान्सर साइक्लिस्ट कविता चित्रकार
एक महिना यात्राका दौरानमा हर्क र कविताको स्वास्थ्यमा खासै ठूलो समस्या आएन। आशा छ, यो साइकल यात्रा अभियानका क्रममा म र डाक्टर विकास साथमा भएका कारण प्रत्यक्ष, अप्रत्यक्ष रूपमा मानसिक ढाडस मिलिरह्यो। यसैकारण पनि दैनिक जसो आफ्नो पर्फर्मेन्स र साइकल यात्रा निरन्तर जारी रहन सम्भव भयो। त्यसो त साइकल यात्राको तयारीका क्रममा धुलिखेल अस्पतालबाटै मेडिकल उपकरणहरू एवं आवश्यक औषधिहरूको जोरजाम यथेस्ट मात्रामा गरेका थियौं। त्यस्तै परे हेली लिफ्टसम्मको विकल्प पनि तयारी अवस्थामा थियो। सञ्चारमाध्यममा लेखिरहने र सञ्चारकर्मीहरूसँग निकट सम्बन्ध भएकाले अभियानमा संलग्न हुने निधो गरें। क्यान्सर प्रभावित भइकन यति ठूलो दुस्साहस गर्ने यी क्यान्सर विजेताद्वय एवं लिड राइडर हर्क लामा र कविता चित्रकारलाई जनमानससमक्ष पनि उपयुक्त प्लेटफर्म एवं हाइलाइट दिनुपर्ने खाँचो महसुस भयो। हामी पुगेको ३०–३५ जिल्लाका पत्रकार साथीहरूसँग समन्वय गरें। क्यान्सरपछिको जीवन र साइकल अभियान थाल्नुको उद्देश्यबारे जिल्ला जिल्लाबाट प्रकाशित हुने सञ्चारमाध्यमका विभिन्न प्लेटफर्ममा प्रकाशन ÷प्रसारण गराउन सफल भइयो।
एक दक्ष चिकित्सकको नाताले कतिपय क्यान्सर प्रभावित व्यक्तिहरू उपचारपछि आफूलाई निरीह, मानसिक रूपमा दुर्बल एवं हतोत्साही हुने गरेको प्रत्यक्ष अनुभव छ। तर, कविता चित्रकार र हर्क लामाको साहस एवं अठोट एकदम उदाहरणीय लाग्यो। सारांशमा, मानिसहरूले चाह्यो भने, अठोट गरियो भने क्यान्सर प्रभावित नै किन नहुन् यस्ता साहसिक कार्य गर्न सकिने रहेछ। आगामी दिनमा नेपालको साइकल यात्रा इतिहासमा कविता चित्रकार र हर्क लामाको यो प्रयास स्वर्ण अक्षरले लेखिने छ।
प्रतिक्रिया दिनुहोस !