प्रचण्ड–माधव सिन्धुली आउँदै
सिन्धुली : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल शनिबार एकैसाथ सिन्धुली आउँदै छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारीका विषयलाई लिएर सिन्धुली पार्टीमा आन्तरिक विवाद भएपछि त्यसलाई सुल्झाउन र अगुवा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड र नेपाल एकैसाथ सिन्धुली आउने भएका हुन् ।
उनीहरु हवाई यात्रामार्फत जनकपुर हुँदै सिन्धुली आउने कार्यक्रम तय भएको नेकपाका केन्द्रीय सदस्य लेखनाथ दाहालले जानकारी दिए । शनिबार सिन्धुलीमाढीमा प्रचण्ड र नेपालले एकै मञ्चबाट अगुवा नेता–कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा नेकपाका तर्फबाट क्षेत्र नम्बर–१ मा डेकेन्द्रप्रसाद सुवेदी र २ मा लेखनाथ दाहाल चुनावी मैदानमा छन् । तर, सिन्धुली क्षेत्र नम्बर–२ मा पार्टीको टिकट वितरणलाई असन्तुष्टि जनाउँदै नेकपाकै केन्द्रीय सदस्य महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीभित्र विवाद चर्किएको हो ।
पार्टीले लेखनाथ दाहाल (राजन) लाई आधिकारिक टिकट दिएपछि त्यसको विरोधमा नेकपाका तत्कालीन उपमहासचिव तथा कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेलको प्रस्ताव र नेकपा सिन्धुलीका संयोजक पानिराज बम्जनको समर्थनमा महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो विषयलाई लिएर पार्टीका संयोजक प्रचण्डले गजुरेल र महेश्वर दाहाललाई यसअघि नै पार्टीबाट निष्काशन गरेका छन् ।
त्यसपछि जिल्लामा पार्टीभित्र थप समस्या देखिएको छ । सिन्धुली प्रतिनिधि सभा २ तत्कालीन माओवादीको आधार क्षेत्र हो । यस क्षेत्रमा २०६४ देखि लगातार माओवादीले जित्दै आएको छ । पार्टीबाट निष्कासनमा परेका हरिबोल गजुरेल यसै क्षेत्रबाट २०७० र २०७४ मा संसद निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा लेखनाथ दाहाल निर्वाचित भएका हुन् ।
पार्टीका तत्कालीन केन्द्रीय उपमहासचिव गजुरेल र महेश्वर दाहाललाई गरिएको कारबाही र बागी उम्मेदवारका कारण यस पटकको निर्वाचनमा माओवादीको आधार क्षेत्र गुम्ने हो कि भन्ने चिन्ता पार्टी र नेता कार्यकर्तामा परेको छ । पार्टीको आन्तरिक विवाद मिलाउन नेता कार्यकर्ताहरुबाटै चौतर्फी दवाव परेका बेला पार्टीका संयोजक र सहसंयोजक दुबै एकै पटक सिन्धुली आउनुलाई महत्वका साथ हेरिएको छ । पार्टीले कारबाही गरेका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पनि सिन्धुलीमै छन् ।
तर, प्रचण्ड सिन्धुली आउने विषयमा आफूलाई जानकारी नभएको नेता हरिबोल गजुरेलले जनाएका छन् । उनले पार्टीले आफूहरुमाथि गरेको कारबाही अबैधानिक भएको समेत प्रतिक्रिया दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि माघ ६ गते भएको उम्मेदवारी दर्ता अनुसार क्षेत्र नम्बर १ मा १२ जनाको र क्षेत्र नम्बर २ मा १६ जनाको उम्मेदवारी परेको हो । जसमा १ जना महिला र ६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस !