प्रतिनिधिसभा सदस्य निर्वाचन

काठमाडौं–९ : एमाले ‘किल्ला’ मा रास्वपा र कांग्रेसको ‘धावा’

झिनो मतान्तरलाई जितमा बदल्ने रणनीतिमा उम्मेदवारहरु

काठमाडौं–९ : एमाले ‘किल्ला’ मा रास्वपा र कांग्रेसको ‘धावा’

काठमाडौं : विगतको निर्वाचनमा झिनो मतान्तरले हार–जितको नतिजा दिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ को पनि बेग्लै चर्चा सुरू भएको छ । यस पटक निर्वाचन क्षेत्र नम्बर–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोरप्रसाद अर्याल (डीपी) नयाँ उम्मेदवारका रुपमा भित्रिएसँगै फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा चुनावको चर्चा र बहस बढेको छ ।

काठमाडौं–९ नेपालको काठमाडौं जिल्लाको १० संसदीय निर्वाचन क्षेत्रमध्ये सधैं चर्चामा रहने एक क्षेत्र हो । यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनपछि अस्तित्वमा आएको हो । काठमाडौं–९ संसदीय क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा रहेका छन् ।

२४ दिनपछि हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका १८ र ६ जना स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। रास्वपाले यस पटक धादिङ जन्मथलो छाडेर आएका उपसभापति अर्याललाई काठमाडौं–९ मा उम्मेदवार बनाएर प्रतिष्पर्धामा उतारेको छ । बदलिँदो समयसँगै यस क्षेत्रको राजनीतिक भूगोलमा यतिबेला ठूलो हलचल पैदा भएको छ ।

एकातिर एमालेले आफ्ना पुराना र अनुभवी नेता कृष्णगोपाल श्रेष्ठलाई टिकट नदिइ नयाँ अनुहार अघि सारेको छ भने अर्कोतिर वैकल्पिक शक्ति रास्वपाले पार्टीका बलिया नेतालाई मैदानमा भिडाएको छ । रास्वपा सभापति रवि लामिछाने हिरासत र जेलमा रहँदा कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिसकेका उपसभापति अर्याल पहिलो पटक चुनावी घरदैलोमा छन् । ५१ वर्षीय अर्यालले ‘तपाईं मत बदल्नुस् । हामी देश बदल्ने छौं’ चुनावी नारा बनाएका छन् । मतदातासँग साक्षात्कर गर्दै हिंडिरहेका अर्यालले आफूलाई ‘रवि लामिछानेको पार्टीको दोस्रो मान्छे’ भनेर चिनाइरहेका छन् । काठमाडौं महानगरका पूर्व मेयर बालेन शाह पक्षसँग एकता गरेपछि दोस्रो व्यक्ति भने हाल उपसभापति अर्याल छैनन् । पार्टीमा दोस्रो वरीयतासहित वरिष्ठ नेतामा बालेन शाह छन् ।

२०७४ सालमा फराकिलो मतान्तरले प्रतिष्पर्धीलाई हराएका नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठसँग गत निर्वाचनमा रास्वपाका उम्मेदवार टेकबहादुर पोखरेल ९९५ मतको अन्तरले हारेका थिए । गत निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ निर्वाचित हुँदा रास्वपाका पोखरेलले १० हजार ९६१ मत पाएका थिए । 

०७४ को निर्वाचनमा कृष्णगोपालले २२ हजार ८५२ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जित दोस्रो भएका थिए । गत निर्वाचनमा प्रत्यक्षतर्फ मतान्तर न्यून हुनु र समानुपातिकतर्फको मतमा रास्वपा पहिलो भएका कारण पनि यो क्षेत्र रास्वपाका लागि अनुकूल नै रहेको यस पार्टीका नेताहरू दावी गर्छन् । २०७९ को निर्वाचनमा समानुपातिकतर्फ रास्वपाको पक्षमा सबैभन्दा बढी मत खसेको थियो । समानुपातिकमा रास्वपाले ११ हजार ५०२, एमालेलाई ९४०७, कांग्रेसको पक्षमा आठ हजार पाँच मत खसेको थियो ।

संविधानसभाका दुवै निर्वाचन जितेको कांग्रेसले त्यसपछि यो क्षेत्रमा जित्न सकेको छैन । २०६४ र २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितले जितेका थिए । २०७४ मा उनै उम्मेदवार ध्यानगोविन्द पराजित भए भने २०७९ सालको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएन । यस पटक कांग्रेसले महिला अनुहारलाई अघि सारेको छ ।

विशेष महाधिवेशबाट केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्य नानु बाँस्तोलालाई पहिलो पटक कांग्रेसले संघीय संसदको लागि उम्मेदवार बनाएको छ । अघिल्लो केन्द्रीय समितिमा समेत रहेकी बाँस्तोलाले गत निर्वाचनमा प्रदेश सभामा प्रतिष्पर्धा गरेकी थिइन् । काठमाडौं– ९ (क) बाट उम्मेदवार बनेकी बाँस्तोला त्यसबेला निर्वाचित भने भइनन् ।

नेपाल विद्यार्थी संघमा हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी बास्तोलाले काठमाडौं–९ को माटोले आफूलाई चिनेको दावी गर्छिन् । ‘परिवर्तित कांग्रेससहित निर्वाचनमा छौं । नेता र नेतृत्व परिवर्तन गरेका छौं । हामी सामाजिक सञ्जालले निर्माण गरेका नेता होइनौं, वडाहरुमा फरक–फरक समस्या छन् । ती समस्यालाई नीतिगत तहबाट समाधान गर्ने मेरो चुनावी एजेण्डा हो’, बास्तोला भन्छिन् ।

पार्टीले केही दिनमा सार्वजनिक गर्ने १० भिजनसहित मतदाताको घरघरमा पुग्ने उनले बताइन् । कांग्रेस १० भिजनसहितको संकल्प–पत्र ल्याउँदैछ । ‘संविधानको रक्षा र अग्रगमनको यात्रा सिङ्गो काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ को विकास र समृद्धिका लागि’ चुनावी नारासहित उनी मतदाताकहाँ पुगिरहेकी छन् ।

गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणाम केलाउँदा यस क्षेत्रमा पर्ने वडाहरूको मत विश्लेषण गर्दा कांग्रेस पहिलो देखिन्छ । काठमाडौं महानगरका चार, नागार्जुन नगरपालिकाका पाँच र चन्द्रागिरि नगरपालिकाका पाँच गरी १४ वडा यस क्षेत्रमा पर्दछन् । ती मध्ये बहुमत (८ वटा) वडामा कांग्रेसले जितेका वडाध्यक्ष छन् । काठमाडौँ–९ मा काठमाडौँ महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा पर्दछन् ।

महानगरको वडा नम्बर १२, १४ मा कांग्रेस, वडा नम्बर २१ र २२ मा एमालेले जितेको छ । यस क्षेत्रमा परेका चन्द्रागिरि नगरपालिकाका पाँच वडामध्ये कांग्रेसले वडा नम्बर १, १३ र १५ जितेको छ भने एमालेले वडा नम्बर १२ र १४ जितेको छ । नागार्जुन नगरपालिकाको ६, ९ र १० कांग्रेसले जितेको छ भने एमालेले ७ र ८ वडामा जितेको छ ।

लगातार दुई पटक निर्वाचत भएका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई यस पटक एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएनन् । उनको ठाउँमा डा. अजयक्रान्ति शाक्यलाई मैदानमा उतारिएको छ । ५७ वर्षीय शाक्यले भू–गर्भ, भौतिक, अर्थशास्त्र, सामाजिक र संगीतमा स्नातक गरेका छन् । बौद्ध दर्शनमा विद्यावारिधि गरेका शाक्य संगीतकर्मी समेत हुन् । उसु र मार्सलआर्टको खेलाडी समेत रहेका शाक्यले ‘इन्द्रजात्रा, बुद्धका मौलिक दर्शन, द शाक्यज्’, ‘म मैनझैँ पग्लिरहें’ लगायतका पुस्तक लेखेका छन् ।

२०७४ सालमा यसै क्षेत्रको ९ (क) बाट प्रदेश सभामा निर्वाचित शाक्य संघीय संसदका लागि उम्मेदवार बनेका छन् । बागमती प्रदेश सदस्य रहँदा शाक्यले छोटो समय आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको मन्त्री बनेका थिए । एमाले अध्यक्ष ओली २०७२ सालमा प्रधानमन्त्री हुँदा शाक्य उनको  विज्ञान–प्रविधि, सामाजिक, सांस्कृतिक र विकास सल्लाहकार भएर समेत काम गरेका थिए । क्षेत्रका विकास, संस्कृति- सम्पदाको संरक्षण, सम्र्वद्धनलाई शाक्यले चुनावी एजेण्डा बनाएका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका अन्य क्षेत्रमा पराजय व्यहोर्दा नेकपा एमालेका लागि बीउ जोगाउने ‘एउटा मात्र किल्ला’ काठमाडौं–९ बनेको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसको साथ पाएर तेस्रो शक्ति बनेको तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) नेकपाले राधाकृष्ण महर्जनलाई उम्मदेवार बनाएको छ ।  ५४ वर्षीय महर्जनले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि नेकपालाई मतदान गर्न आग्रह गर्दै चुनावी प्रचार गरिरहेका छन् ।

कांग्रेससँग चुनावी गठबन्धन गरेर गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेकी कल्पना धमलाले ६,४०२ मत पाएकी थिइन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट एकीकृत समाजवादीका पूर्व नेता रामेश्वर श्रेष्ठलाई काठमाडौं–९ मा उम्मेदवार बनाएको छ । एमाले हुँदै एकीकृत समाजवादी र हाल उज्यालो नेपालमा रहेका श्रेष्ठ प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका हुन् । श्रेष्ठ गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको उपमेयरको प्रत्यासी भई पराजित भएका थिए ।

यस क्षेत्रमा मतदाताको संख्या ७८ हजार ४९५ जना छन् । महिला मतदाताको संख्या पुरुषको तुलनामा बढी छ । महिला मतदाता ४० हजार २७८ हुँदा पुरुष मतदाताको संख्या ३८ हजार २१७ जना छन् । भदौं २३ र २४ गतेको आन्दोलनपछि यस पटक राजनीतिक परिस्थिति बदलिएको छ । दलहरू यस पटकको चुनावमा एक्ला–एक्लै मैदानमा उत्रिएका छन् । जसका कारण पुराना दलहरूको मत यस पटक बाँडिने सम्भावना पनि देखिएको छ ।   

काठमाडौँ–९ को फागुन २१ गतेको भिडन्त केवल एउटा सिटको हारजित मात्र होइन । एमालेका लागि यो क्षेत्र गुम्नु काठमाडौंको आफ्नो अन्तिम किल्ला गुम्नु पनि हो । तर, रास्वपाको लहरले काठमाडौँमा काम गर्छ कि गर्दैन भनेर फागुन २१ नआई थाहा हुँदैन । काठमाडौँका शहरी मत अधिकांश ‘छनौंटको’ हुने भएकाले रास्वपाका डीपी अर्याललाई कसरी हेर्छन् भनेर सजिलै भन्न सकिँदैन ।

अर्कोतिर एमालेका स्थानीय र बौद्धिक मानिने डा. अजयक्रान्ति शाक्यले एमालेको विरासत जोगाउन कतिको सक्छन् भनेर हेर्न चुनावकै दिन पर्खिन पर्ने देखिन्छ । यस पटकको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिलकुमार (दिलिप) कार्की, जनता समाजवादी पार्टी, नेपाल रणवीर क्षेत्री सिंह, नेपाल मजदुर किसान पार्टीबाट शान्त महर्जन चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट रोशन दानी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजु रोक्का, मंगोल नेशनल अर्गनाइजेशनबाट धर्मराज गुरुङ प्रतिष्पर्धामा छन् ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का एन्जिसराज प्रसाई, जय मातृभूमि पार्टीका अनुपमुनि बज्राचार्य, श्रम संस्कृति पार्टीका बलराम श्रेष्ठ, मितेरी पार्टी नेपालका मदन पोखरेल पनि चुनावी दौडमा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का माइला लामा, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मदन डंगोल, आम जनता पार्टीबाट ईरश श्रेष्ठ पनि चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । जुद्धबहादुर कार्की, पुनमाया महर्जन, पंचकुमारी मानन्धर, मधुसुदन शर्मा, सुमित्रा श्रेष्ठ, हरिप्रसाद घिमिरेले स्वतन्त्र रुपमा चुनावमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.