ट्रान्सपोर्टमा छापा मार्न गएको सशस्त्रको टोलीमाथि आक्रमण
वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ट्रान्सपोर्टमा छापा मार्न गएका सशस्त्र प्रहरीको टोलीलाई व्यापारीहरूले कुटेर लखेटेका छन्। आदर्शनगरस्थित एक घरमा विनोद साह (कानु) सञ्चालक रहेको सबिता ट्रेडर्सको गोदाममा सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरीको टोली छापा मार्न गएको थियो।
त्यसक्रममा भेलामा भएका व्यापारीहरूले सशस्त्र प्रहरीको टोलीमाथि जाइ लाग्दै आक्रमण गरेपछि सशस्त्र प्रहरीको भागाभाग भएको थियो। व्यापारीहरूको आक्रमणबाट एकजना सशस्त्र प्रहरी घाइते भएका छन्। व्यापारीहरूले हानेको ढुंगाले लागेर सशस्त्र प्रहरीको गाडीको शीशा पनि फुटेको छ।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगन्ज भन्सारका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार राजश्व छलेर भित्र्याइएको सामान गोदाममा भण्डारण गरेर राखिएको सूचना सशस्त्र प्रहरीलाई प्राप्त भएको थियो। उक्त सूचनाको आधारमा सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीकै कमाण्डमा दुई वटा गाडीमा सशस्त्र प्रहरीको टोली आदर्शनगरमा पुगेको थियो। सशस्त्र प्रहरीले गोदाममा खानतलासी गर्नका लागि प्रकृया सुरू गर्न खोजेपछि व्यापारीहरूले बिलबिजक आफूहरूसँग भएपनि सशस्त्र प्रहरीले अनावश्यक रुपमा दुख दिन थालेको भन्दै विवाद गरेका थिए।
त्यसपछि सशस्त्र प्रहरीले गोदामको ढोकाको ताल्चा फुटाउन खोज्दा व्यापारीहरूले प्रतिवाद गर्दा अवस्था तनावग्रस्त बन्न पुगेको थियो। सशस्त्र प्रहरीले जबरजस्ति गर्न खोजेको भन्दै व्यापारीहरूले उनीहरू सवार दुईवटा गाडीमा बाँसको भाटा र ढुंगाले हान्न सुरू गरे गरेका थिए। त्यसपछि सशस्त्र प्रहरीको टोली गाडी लिएर त्यहाँबाट भागेको थियो।
सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले भने,‘गोदामको खानतलासी लिने क्रममा केहि समूहबाट आक्रमण हुँदा एकजना सुरक्षाकर्मी घाइते भएका छन्। उनको उपचार भइरहेकोछ । एउटा गाडीको शीशा पनि फुटेको छ। उक्त गोदामबाट केहि सामान नियन्त्रणमा पनि लिएका छौं । त्यो सामानको लगत विवरण संकलन गर्ने काम भइरहेको छ।’
खानतलासी लिएको गोदमको सञ्चालकको नाम खुल्न नसकेको भन्दै उनले यसबारेमा अनुसन्धान भइरहेको बताए । यता आदर्शनगरका ट्रान्सपोर्ट व्यापारीहरूले भने व्यापारीलाई दु:ख दिने नियतले सशस्त्र प्रहरीले पटकपटक गोदममा आएर छापा मार्ने र बिलबिजक भएकै सामानहरू उठाएर लिएर जाने गरेको आरोप लगाएका छन्।
एक ट्रान्सपोर्ट व्यापारीले भने,' सशस्त्र प्रहरीको यो रवैयाले हामी हैरान छौं। बिलबिजक देखाउँदा पनि बिनाकारण सशस्त्र प्रहरीले गोदामा फुटाएर सामान लिएर जान्छ। पछि राजश्व अनुसन्धान कार्यालयमा गएर हामीले सबै प्रमाण दिएपछि सफाई पाएर सामान फिर्ता लिएर आउँछौं।'
यदि छापा वा खानतलासी लिनैपर्ने भए प्रकृया पूरा गरेर लिनुपर्ने भन्दै उनले भने,'गोदाममा खानतलासी गर्ने अधिकार सशस्त्र प्रहरीसँग छैन। त्यो अधिकार राजश्व अनुसन्धान कार्यालयसँग मात्रै छ। तर, बारबार सशस्त्र प्रहरीले आएर गोदममा ताल्चा फुटाएर छापा मार्छ, बिलबिजक भएकै सामान उठाएर लैजान्छ । यो हर्कत हामीले कति दिनसम्म सहने त्यसैको परिणाम आजको घटना हुन पुग्यो।'
प्रतिक्रिया दिनुहोस !