अछाम–१ मा कांग्रेसको विरासत फर्काउने दाउ, एमाले र नेकपा एकअर्कालाई चुनौती दिँदै
अछाम : २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भीम रावलको चुनावी चिह्न थियो– सूर्य । एमालेका पूर्वनेता रावलले कांग्रेस र माओवादी उम्मेदवारलाई पछि पार्दै त्यस बेला चुनाव जिते । त्यतिबेला माओवादीका उम्मेदवार थिए– दीपक साउद । जसको चुनाव चिह्न थियो–गोलाकारभित्र हँसिया हथौडा । उक्त चुनावको १२ वर्षपछि अछाम–१ को चुनावमा रोचक दृश्य देखिएको छ ।
यसपटक साउदसँग एमाले चुनाव चिह्न सूर्य छ, रावलसँग माओवादीसमेत मिलेर बनेको नेकपाको चुनाव चिह्न– तारा । अर्थात् १२ वर्षअघि माओवादीबाट उम्मेदवार बनेका साउद एमालेका उम्मेदवार बनेका छन् । एमालेका पूर्वनेता रावल माओवादी सम्मिलित नेकपाका उम्मेदवार छन् । यहाँ कांग्रेस पनि उत्तिकै प्रतिस्पर्धी हो । कांग्रेसका तर्फबाट पूर्वजिविस सभापति भरत स्वाँर प्रतिस्पर्धी छन् । ०७४ को निर्वाचनमा कांग्रेस नेता स्वाँर एमालेका तत्कालीन नेता रावलसँग पराजित भएका थिए ।
अछाम–१ रावलका कारण मात्र चर्चित छैन । यहाँबाट चुनाव जितेका अधिकांश नेता मन्त्री बनेका छन् । कांग्रेसका गोविन्दबहादुर शाह, एमालेका पूर्वनेता शेरबहादुर कुँवर पनि मन्त्री बनिसकेका छन् । यसपटकको निर्वाचनमा अछाम–१ मा पुराना अनुहारसँगै केही नयाँ अनुहार पनि चुनावी मैदानमा छन् । जहाँ ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्र्टीका जिल्ला सभापति ओमप्रकाश रावल, भगेरा चुनाव चिह्नसहित स्वतन्त्र उम्मेदवार भीमबहादुर कुँवर, राष्टिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर शाह (हलो), नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाही (मादल), नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का लोकेन्द्रबहादुर शाही गुलाब चिह्नसहित चुनावी मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र नेकपाबीच नै हुने देखिएको छ ।
यसअघिका सबै निर्वाचन सूर्य चुनाव चिह्नबाट लडेका रावलको यसपटक भने तारा चुनाव चिह्न छ । सातवटा संसदीय निर्वाचनमध्ये ३ वटा निर्वाचनमा यहाँबाट उनी निर्वाचित भए । रावल ०५६ को आमनिर्वाचनमा कांग्रेसका उम्मेदवार गोविन्दबहादुर शाहसँग पराजित भएका थिए । उनले २०५१ सालको मध्यावधि निर्वाचन, २०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए । ०७९ को निर्वाचनमा उनलाई एमालेले टिकट दिएन । पछि उनलाई एमालेले पार्टीबाटै हटायो । अन्ततः मातृभूमि जागरण अभियानमार्फत नेकपाको सक्रिय राजनीतिमा प्रवेश गरे ।
अछाम–१, २०४८ र २०५६ को निर्वाचन बाहेक सबै निर्वाचन कम्युनिस्ट उम्मेदवारले जितेका छन् । ०४८ मा कांग्रेसका उम्मेदवार बलबहादुर कुँवरले जितेको यो क्षेत्र ०५६ को आमनिर्वाचनमा काग्रेसकै गोविन्दबहादुर शाहले जितेका थिए । चार निर्वाचनमा प्रत्यक्ष र २०६४ मा समानुपातिक रोजेका रावल छैटौँ सांसद हुने दौडमा छन् ।
०६४ मा एमालेका तत्कालीन नेता शेरबहादुर कुँवर विजयी भए । ०७९ को निर्वाचनमा पनि कांग्रेससहितको गठबन्धनका उम्मेदवार कुँवर नेकपा एकीकृत समाजवादीबाट विजयी भए । यसपटक रावलका दुई जना पुराना प्रतिस्पर्धा पनि चुनावी मैदानमा छन्। नेपाली कांग्रेसका स्वाँर र एमालेका साउदले मैदानमा छन् । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन हुँदा एमालेबाट चुनाव लडेका रावलले ०७४ मा स्वाँरलाई नै पराजित गरेका थिए ।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादीबाट रावलसँग चुनाव हारेका साउद अहिले एमालेबाट उम्मेदवार बनेका छन् । ‘यसअघि मैले सूर्य चिह्नसँग चुनाव हारेको थिएँ,’ साउदले भाषणमा भन्ने गरेका छन्, ‘१२ वर्षमा खोलो फर्किन्छ । यसपटक मसँग सूर्य चिह्न छ । त्यसैकारण जनताले मलाई जिताउनुहुन्छ भन्ने विश्वास छ ।’ जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका सुदूरपश्चिम अध्यक्ष साउदलाई एमालेले मनोनयन दर्ताको अन्तिम समयमा उम्मेदवार बनाएको हो । त्यसअघि एमालेले केन्द्रीय सदस्य झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता साउदसँग जनपक्षीय आधार बलियो रहेको भन्दै उम्मेदवार बनाइएको एमाले नेताहरू बताउँछन् । साउदले प्रगतिशील लोकतान्त्रिक पार्टीको जिल्ला कमिटी नै एमालेमा समाहित गरिसकेका छन् ।
यता, एमाले फुटेर रावलसहितका नेताहरू अलग पार्टीमा आबद्ध भएका बेला कांग्रेसले नेता स्वाँरलाई नै टिकट दिएको छ । एकपटक जिविस सभापति र दुईपटक अछाम कांग्रेसको जिल्ला सभापति भइसकेका स्वाँर कुशल संगठन निर्माताको रूपमा चिनिन्छन् । अछाम १ मा पार्टीको संगठन बलियो बनाउन स्वाँरको महत्त्वपूर्ण भूमिका रहेको नेता कार्यकर्ताहरू बताउँछन् ।
रावलले संसद्को मात्र हैन, थुप्रैपटक मन्त्रीको स्वाद पनि चाखिसकेका छन् भने स्वाँर र साउद यस विषयमा नयाँ अनुहार हुन् । तर, चुनाव लडेको अनुभव भने दुवै जनासँग छ । यसपटक नयाँ पार्टीगसु र नयाँ उम्मेदवारका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल चुनावी मैदानमा छन्। पहिलो पटक रास्वपाले आफ्नो उम्मेदवार खडा गरेको हो । उनले प्राप्त गर्ने मतका आधारमा पनि अछाम–१ को चुनावी परिणाम फेरवदल हुन सक्ने आंकलन गरिएको छ ।
अर्कोतर्फ राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकमा अछाम देशकै सबैभन्दा गरिब जिल्लामा सूचीकृत भएको छ । त्यसैकारण यहाँका मतदाताहरू विगतमा नेतृत्व लिइसकेका नेतासँग ‘अछाम जिल्ला देशकै गरिब किन बन्यो ? जिल्लाको विकास निर्माणमा किन ध्यान नदिएको भन्दै’ पटकपटक जिम्मेवारी बहन गरेका नेताहरूसँग प्रश्न गरिरहेका छन् । यसको ठोस जवाफको पर्खाइमा मतदाता रहेकाले चुनावी परिणाम पनि कस्तो आउला भनेर अनुमान गर्न गाह्रो छ ।
अर्कोतिर, रावलसँग न पुरानो चुनाव चिह्न रह्यो न अधिकांश पुराना नेता कार्यकर्ता नै छन् । उनको नयाँ पार्टीमा केही पूर्वमाओवादीहरू छन् । तर, माओवादीकै पूर्वनेता दीपक साउदको टिम नै एमालेमा प्रवेश गरेर सूर्य चिह्नबाट चुनाव लडेपछि रावललाई थप चुनौती थपिएको छ ।
अछाम–१ मा नेकपाबाट नेता कुलबहादुर कुँवरको टिकट पाउने चर्चा चलेको थियो । नेकपाका एक नेताका अनुसार रावल सल्लाहबिना नै टिकट ल्याएर अछाम पुगेका थिए । कांग्रेसभित्र विशेष र नियमित महाधिवेशन किचलोका कारण अछाम–१ मा कांग्रेस फुटको स्थितिमा रहेको मौका छोपेर आपूmलाई जित्न सहज हुने भन्दै रावलले टिकट लिएको नेकपाका एक नेताले बताए ।
अछाम १ मा साँफेबगर नगरपालिका, चौरपार्र्टी, रामारोशन, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिका पर्दछन् । २०७९ को निर्वाचनमा साँफेबगर, रामारोशन र बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसले पालिका प्रमुख, चौरपार्र्टी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै र मेल्लेखमा उपाध्यक्ष जितेको छ । अछाम–१ मा ८२ हजार ५ सय १३ मतदाता छन् । जसमा अधिकांश मतदाता गाउँमा छैनन् ।
मतदाता ल्याउनुपर्ने अहिलेका उम्मेदवारलाई प्रमुख चुनौती देखिएको छ । अछाममा २०७९ मा समानुपातिक मत कांग्रेसको १४ हजार ५२५, एमालेको १३ हजार ९६८, नेकपा माओवादीको ७ हजार २२८, एकीकृत समाजवादीको २ हजार ७४७, रास्वपाले ७७५ र राष्टिय प्रजातन्त्र पार्टी हलो ले १६३ मत प्राप्त गरेका थिए । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नं १ मा ४१ हजार ३९२ मत खसेका थिए । जसमध्ये एकहजार ९७७ मत बदर भएका थिए ।कांग्रेस आफ्नो मत जोगाउने रणनीतिमा छ भने नेकपा र एमाले एकअर्काको मत चोर्ने दाउमा छन् ।
प्रतिक्रिया दिनुहोस !