६१ वर्ष माथिका उम्मेदवार १२ प्रतिशत
४१ कटेका र ८० वर्षसम्मका पाका उम्मेदवारहरूको यसपालि पनि हालिमुहाली छ। पार्टीभित्र जहिल्यै चल्ने गरेको पुस्तान्तरणको मुद्दाले अझै मूर्तरूप पाउन सकेको छैन।
बुटवल : फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा १२ दशमलव ४७ प्रतिशत उम्मेदवार ६१ वर्ष माथिका छन्। १ सय ६५ निर्वाचन क्षेत्रका लागि ३ हजार ४ सय ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये ४ सय २५ जना उम्मेदवार ६१ वर्ष उमेर माथिका हुन्।
४१ देखि ६० वर्षसम्मका १ हजार ९ सय २५ अर्थात् ५६ दशमलव ५१ प्रतिशत छन्। युवा उम्मेदवारको रूपमा रहेका २४ देखि ४० वर्षसम्मका १ हजार ५६ अर्थात् ३१ प्रतिशत छन्। देशभरका उम्मेदवारहरूको तथ्यांक केलाउँदा अझै पनि युवालाई उम्मेदवार बनाउनेतर्फ पार्टीहरूले ध्यान दिएका छैनन्।
४१ कटेका र ८० वर्षसम्मका पाका उम्मेदवारहरूको यसपालि पनि हालिमुहाली छ। पार्टीभित्र जहिल्यै चल्ने गरेको पुस्तान्तरणको मुद्दाले अझै मूर्तरूप पाउन सकेको छैन। वर्षौंदेखि संसदीय चुनाव लड्दै आएका नेताहरू यसपालि पनि चुनावी दौडधुपमा छन्।
कांग्रेसभित्र गगन थापा पक्षधरको विद्रोहले केही पाका नेता यसपालि चुनाव लड्न पाएनन्। अझै पनि पार्टी सभापति दाबी गर्ने शेरबहादुर देउवासहित दिलेन्द्र बडू, प्रकाशमान सिंह, मीनबहादुर विश्वकर्मा, रामनाथ अधिकारी, विश्वप्रकाश शर्माले चुनाव लडेनन्।
कांग्रेसका नेता विजयकुमार गच्छदार ७२ वर्षका भए। सुनसरी दुहवी नगरपालिका पचिरा निवासी उनी सुनसरी निर्वाचन–३ बाट चुनाव लडेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदार अहिले आठौं पटक चुनाव लड्दैछन्।२०४८ सालदेखि उनी निरन्तर चुनाव लडिरहेका छन्। संसदीय राजनीतिका चतुर खेलाडीको रूपमा चिनिने उनी २०७९ को निर्वाचनमा पहिलो पटक एमालेकी भगवती चौधरीसँग पराजित भएका थिए।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ७४ वर्षका भए। झापा ५ बाट उनले निरन्तर चुनाव जितेका छन्। उनीसँगको प्रमुख प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह चुनावी मैदानमा छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) पूर्वीरुकुमबाट चुनावी प्रतिस्पर्धामा छन्। भरतपुर महानगरपालिका चितवन निवासी दाहाल ७० वर्षका भए। बीएससी (एजी) पढेका प्रचण्ड निर्वाचन क्षेत्र फेरिफेरि निरन्तर चुनाव लडिरहेका छन्। सुरक्षित जिल्ला खोज्दै उनी यसपालि तत्कालीन माओवादीको आधार क्षेत्र मानिने रुकुमपूर्व पुगेका हुन्। प्रचण्डसँगको प्रतिस्पर्धामा एमालेका सिस्ने गाउँपालिका निवासी ३८ वर्षीय युवा नेता लीलामणि गौतम छन्। उनले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन्।
गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट निरन्तर चुनावी प्रतिस्पर्धामा रहेका एमाले नेता प्रदीपकुमार ज्ञवाली र कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी एउटै उमेरका छन्। दुवै जना ६४ वर्षका भए। उनीहरूबीच यस निर्वाचन क्षेत्रमा सौहार्दपूर्ण प्रतिस्पर्धा हुने गर्छ। ज्ञवालीको शिक्षा स्वअध्ययन हो भने भण्डारीले पीएचडी गरेका छन्।
उनीहरूको प्रतिस्पर्धामा रास्वपाका युवा नेता ३४ वर्षीय सागर ढकाल छन्। ढकाल गुल्मीकै सत्यवती गाउँपालिका पीपलनेटा निवासी हुन्। उनको ऊर्जा तथा जलस्रोत क्षेत्रमा १० वर्ष लामो अनुभव छ। ढकालले यूकेको अक्सफोर्ड युनिभर्सिटीबाट एमएससी उत्तीर्ण गरेका छन्। यस निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व लुम्बिनी प्रदेशका मन्त्री सुदर्शन बराल चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा एमालेका ज्ञवाली, कांग्रेसका भण्डारी र रास्वपाका ढकालबीच हुने अनुमान गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेका सिन्धुली–२ का मुकुन्दप्रसाद गजुरेल ७६ वर्षका भए। कमलामाई नगरपालिका ढुंग्रेवास निवासी उनले पीएचडी गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट सर्लाही–२ को चुनावी प्रतिस्पर्धामा रहेका महिन्द्र राय यादव ८८ वर्षका भए। विभिन्न पार्टी फेरबदल गरी उनी २०५१ सालदेखि निरन्तर चुनाव लडिरहेका छन्। सोही वर्ष उनी पहिलोपटक सांसद् बनेका हुन्। २०५६, ०७० र ०७४ सालमा समेत उनी निर्वाचित भएका थिए।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट चुनाव लडेका कांग्रेसका नेता विनोद चौधरी ७० वर्षका भए। व्यापारिक घरानाबाट राजनीतिमा सक्रिय भएका चौधरीले स्नातक तहसम्मको पढाइ पूरा गरेका छन्। यसअघि पनि चौधरी यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। चौधरीसँगको प्रतिस्पर्धामा एमालेका ५१ वर्षीय रामप्रसाद पाण्डेय, रास्वपाका ५५ वर्षीय विक्रम खनाल र नेपाली कम्युनिस्ट पार्टीकी ५६ वर्षीय सिन्धु जलेशा बुढाथोकी छिन्।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पनि मुलुकका राजनीतिक दलले नयाँ पुस्ताको आवाजलाई सम्बोधन गर्न नसकेको नेपाल पत्रकार महासंघ प्यूठानका सचिव बासुदेव गिरीले बताए। ‘युवा पुस्ताले देशको नेतृत्व गर्न सक्दैनन् भन्ने दलहरूमा कताकता शंका र भर नभएको जस्तो देखिन्छ’, उनले भने, ‘अहिलेका उम्मेदवारको तथ्यांक हेर्दा युवा पुस्ताहरूको उपस्थिति निराशाजनक देखिन्छ। जेन-जी आन्दोलनपछि मुलुकको राजनीति नयाँ कोर्समा गएको छ। त्यसैले दलहरू पुरातन सोचबाट माथि उठ्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस !