मानव–वन्यजन्तु द्वन्द्व : ६ महिनामा गयो १० जनाको ज्यान
दाङ : लुम्बिनी प्रदेशमा मानव–वन्यजन्तु द्वन्द्व मुख्य चुनौतीका रूपमा देखिएको छ । विभिन्न कारणले हुने मानव वन्यजन्तु द्वन्दले छ महिनाको अवधिमा लुम्बिनी प्रदेशमा १० जनाले ज्यान गुमाएका छन् । वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका अनुसार बर्दियामा सबैभन्दा धेरै आठ जनाको ज्यान गएको छ । कपिलवस्तु र बाँकेमा एक÷एक जनाको ज्यान गएको छ ।
मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले द्वन्द्व समाधानका ठोस कार्ययोजना बनाउने तयारी गरेको छ । ६ महिनामा वन्यजन्तुको आक्रमणबाट लुम्बिनीमा १० जनाको मृत्यु भएपछि त्यसलाई गम्भीर रूपमा लिएर प्रदेशस्तरीय विशेष नीति बनाउन लागेको वन मन्त्रालयले जनाएको छ ।
प्रदेश वन निर्देशनालयले चितुवा, पाटेबाघ र जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति बढ्दै गएको पुष्ठि गरेको छ । यस अवधिमा वन्यजन्तुको आक्रमणबाट १४ जना मानिस घाइते भएका छन् । बर्दियामा १२ जना र पश्चिम नवलपरासीमा दुई जना घाइते भएका हुन् । वन्यजन्तुको आक्रमणबाट ९७ वटा पशुचौपाया मरेका छन् । सबैभन्दा धेरै बर्दियामा ८३ वटा, अर्घाखाँचीमा चार वटा, पश्चिम नवलपरासीमा छ वटा र गुल्मीमा चार वटा पशुचौपाया मरेको तथ्यांक रहेको छ । यस्तै, तीन सय १५ वटा घाइते वन्यजन्तुको उद्धार गरिएको छ । १७ वटा वन्यजन्तु मरेका छन् ।

राहतमा करोडौं रकम
वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई बर्दियामा २५ जनालाई एक करोड २२ लाख ५३ हजार आठ सय रुपैयाँ राहत वितरण गरिएको छ भने मानवीय क्षति भएका ११ जनाका परिवार र १४ जना घाइतेलाई उपचार खर्च उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षमा मृत्यु भएका आठ जनाका परिवार र गत आर्थिक वर्षमा मृत्यु भएका तीन जनालाई पनि चालु आर्थिक वर्षमै राहत उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । बाँकेमा तीन लाख ९० हजार राहत उपलब्ध गराइएको छ ।
वनमन्त्री देवकरणप्रसाद कलवारले मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै जानु चिन्ताको विषय भएको भन्दै समाधानका ठोस योजना बनाउन लागिएको बताए । वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले मानव–वन्यजन्तु द्वन्द्वका घटना न्यूनीकरणका लागि सामूहिक पहल आवश्यक रहेको उल्लेख गरेका छन । वरिष्ठ वन अधिकृत टोलकराज चापागाईंले लुम्बिनी प्रदेशमा विपतका घटनाका कारण मृत्यु हुनेको संख्या बढेको भए पनि वन्यजन्तुको आक्रमणबाट भएको क्षति तुलनात्मक रूपमा न्यून रहेको बताए ।
किन ? बढदै छ मानव–वन्यजन्तुबीचको टकराव !
बस्ती विस्तार, वन क्षेत्र सीमित हुँदै जानु र संरक्षण क्षेत्र आसपास बसोबास बाक्लिदा मानव–वन्यजन्तुबीचको टकराव बढेको सरोकारवालाहरूको भनाइ छ । प्रदेशमा रहेका बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज, सामुदायिक वन तथा मध्यवर्ती क्षेत्र आसपास हात्ती, बँदेल, निलगाई र बाघका कारण किसानका बाली नष्ट हुनुका साथै मानवीय क्षति समेत हुने गरेको छ ।
वन क्षेत्र टुक्रिनु, जंगलभित्र पानी र आहारको अभाव हुनु तथा अवैध कटानी जस्ता कारणले वन्यजन्तु बस्ती र खेतबारीतर्फ आउने अवस्थाले पनि द्वन्द बढाएको छ । जलवायु परिवर्तनको असरले जंगलभित्रका पानीका मुहान सुक्दै जानु र खडेरी बढ्नु अर्को कारण हो । यसले वन्यजन्तुको आवागमन मार्ग परिवर्तन भई जोखिम बढेको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जोखिम क्षेत्रमा विद्युतीय तारबार, जैविक बार र सोलार फेन्स विस्तार गर्ने योजना बनाउनुपर्ने आवश्यकता सरोकारवालाहरू देखाएका छन् ।
जंगलभित्र पानी पोखरी निर्माण, घाँसे मैदान विकास तथा वन्यजन्तुको आहार क्षेत्र सुधार गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने विज्ञहरुको सुझाव छ । द्वन्द्व सम्भाबित क्षेत्रमा पूर्व सूचना प्रणाली लागु गर्ने र समुदायस्तरमा निगरानी समूह गठन गर्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा उनीहरुले तर्क छ ।
प्रतिक्रिया दिनुहोस !