टुँडीखेलमा मनाइयो सेना दिवस (फोटो फिचर)
काठमाडौं : नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस मनाएको छ। सैनिक मञ्च टुँडीखेलमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको हो।
सो अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो। त्यस्तै सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो।
कार्यक्रममा नेपाली सेनासहित भारत, बेलायत र अमेरिकाका सैनिक ब्याण्ड टोलीले साङ्गीतिक प्रस्तुति दिएको थियो। सैनिक प्रवक्ता राजाराम बस्नेतले मित्रराष्ट्रका सैनिकहरूद्वारा गरिएको प्रस्तुतीलाई नियमित प्रक्रिया भएको बताए।
त्यस्तै कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न क्षेत्रबाट सुरक्षा तथा सामरिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुऱ्याउने गैर सैनिकहरूलाई प्रधानसेनापति प्रशंसा निसान तथा कदर पत्रद्वारा सम्मान गरेका थिए। त्यस्तै ‘फ्रि फल जम्प’मा प्रथम भएका प्रमुख सेनानी विवेक विक्रम शाह र दोस्रो भएका रमेशकुमार चौधरीलाई पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित उच्चपदस्थ व्यक्तिहरूको सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस !