महोत्तरी–३ मा ‘बागी’ र ‘बैगुनी’को पिरलो

महोत्तरी–३ मा ‘बागी’ र ‘बैगुनी’को पिरलो
सुन्नुहोस्

महोत्तरी : मधेस आन्दोलनको केन्द्र रहेको महोत्तरी–३ मा प्रतिनिधिसभा निर्वाचन फागुन २१ नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बनेको छ। मधेस विद्रोहबाट स्थापित नेतादेखि नयाँ अनुहारसम्म चुनावी मैदानमा उत्रिएका छन्। विकास, सम्मान, वंशवादको विरोध, सुशासन र स्थिर सरकारजस्ता एजेन्डाले यसपटकको प्रतिस्पर्धा रोचक बनेको छ। महोत्तरी सदरमुकाम जलेश्वरको केन्द्र रहेको क्षेत्र हो महोत्तरी ३। जहाँ ०७९ र ०७४ मा महन्थ ठाकुरले चुनाव जितेका थिए। ठाकुर राष्ट्रियसभामा निर्वाचित भएसँगै खाली रहेको महोत्तरी ३ मा एमाले र जनता समाजवादी पार्टीले बागीको सामना गरिरहेका छन् भने कांग्रेसले ठाकुरको साथ खोजिरहेको छ।

महोत्तरी क्षेत्र नम्बर–३ मा एमालेले प्रतिनिधिसभा सदस्यमा मनोजकुमार सिंहलाई टिकट दिएसँगै नेता रामआधार कापर बागी उम्मेदवार भएका छन्। कापरले पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए। कापरले आफू जनताको नजिकको नेता भएको दाबी गरे। ‘जनताले मलाई बुझेका छन्, मैले जनतालाई बुझेको छु। यो क्षेत्रको धर्तीले विकासको बाटो हेर्दैछ, तर यहाँ विकास देखिएकै छैन,’ उनले भने। 

उनका अनुसार मधेसको नाममा पटक–पटक जनतालाई प्रयोग गरिएको छ। ‘कहिले ‘जय मधेस’ भनेर ठगियो, कहिले मधेसको नाराले मलाई हराइयो, कहिले मेरो नाम टिकटका लागि जिल्लाबाट सिफारिस हुँदा बाटोबाटै हटाइयो। मधेसी जनतालाई सिंहदरबार पुग्ने भर्‍याङ मात्रै बनाइयो,’ कापरले आरोप लगाउँदै सुनाउँछन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट आफू एकल सिफारिसमा परे पनि अन्तिम समयमा टिकट खोसिएको दाबी गर्दै उनले त्यसलाई अन्यायपूर्ण निर्णयको संज्ञा दिए। ‘मेरो एमालेबाट एकल सिफारिस भएको थियो, तर बाटोमै मेरो 

नाम हटाइयो। 

त्यसैले सत्यका लागि लड्न उम्मेदवारी दिएको हुँ,’ उनले बताए। एमालेले भने बागी उम्मेदवारीबारे पार्टीले आवश्यक निर्णय गरिसकेको जनाएको छ। महोत्तरी–३ मा एमालेका आधिकारिक उम्मेदवार र कापरबीचको प्रतिस्पर्धाले मत विभाजनको सम्भावना बढाएको विश्लेषण गरिएको छ।

जसपामा बागी र वंशवाद विरोध
जनता समाजवादी पार्टी नेपालले मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएको छ। मिनाक्षी पार्टीको संरक्षक महन्थ ठाकुरकी पुत्री हुन्। छोरीलाई टिकट दिएपछि मधेस विद्रोहबाट स्थापित नेता हरिनारायण यादवले बागी उम्मेदवारी दिए। उनलाई पार्टी सधारण सदस्य नरहने गरी पार्टीबाटै निष्कासन गरिसकेको छ। आफूलाई टिकट नदिई वंशवादलाई प्राथमिकता दिएको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवारी दिएका नेता यादवले जनाए। ‘पार्टी निर्माणमा खुन–पसिना सिँचेको’ दाबी गर्दै आफ्नो उम्मेदवारी वंशवादविरुद्धको संघर्ष भएको उनले बताएका छन्। उनले अध्यक्ष महन्थ ठाकुरले आफूलाई उत्तराधिकारी बनाउने आश्वासन दिए पनि अन्ततः छोरीलाई उम्मेदवार बनाएको सुनाए।

महोत्तरी–३ मा मधेस आन्दोलनको भावनात्मक प्रभाव अझै बलियो रहेकाले यो मुद्दाले मतदातामाझ प्रभाव पार्ने विश्लेषण गरिएको छ। जसपाकी उम्मेदवार मिनाक्षी ठाकुरले मधेसको संघर्ष सत्ता होइन, सम्मान र अधिकारका लागि भएको भन्दै भावनात्मक अपिल गरेकी छिन्। ‘अरू दलले भोट लिएर भाग्ने प्रवृत्ति अन्त्य हुनुपर्छ, मधेसको विकास मधेसी आफैंले गर्छ,’ उनले भनिन्, ‘मेरो परिचय कसैको छोरी मात्रै हुन् होइन्। मधेसको संघर्ष सत्ताका लागि होइन् सम्मानका लागि। सम्मान र अधिकार दिने बेला भोट लिएर भाग्छन्। मधेस मधेसीको छ, रहन्छ, मधेसको विकास हामी आफै गर्दछौं, दिल खोलेर मलाई भोट दिनुस्।’

महन्थ बैगुनी बनेको आरोप
नेपाली कांग्रेसका उम्मेदवार बजरंग नेपालीले पार्टीले आफूलाई परिमार्जन र रूपान्तरण गरेर अघि बढाएको दाबी गरेका छन्। सभापति गगन थापाले पार्टीको नेतृत्व समाहालेपछि क्षेत्रमा नयाँ भरोसा सिर्जना भएको उनको भनाइ छ। अघिल्ला दुई निर्वाचनमा गठबन्धनका कारण उम्मेदवारी फिर्ता लिँदै जसपाका संरक्षक महन्थ ठाकुरलाई जिताउन सघाएको नेपाली बताउँछन्। त्योे स्मरण गराउँदै उनले यसपटक कांग्रेसले जिताउन ठाकुरलाई गुण लगायो। अब उनले कांग्रेसले लगाएको गुण चुकाउने बेला आयो। तर, अहिले राजनितिक अवस्था नै फेरिएको समेत सुनाए। कांग्रेसले सुशासन र विश्वासको राजनीतिलाई मुख्य एजेन्डा बनाएको जनाएको उनको भनाइ छ।

रास्वपालाई युवाको भर
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट इन्जिनियर उज्ज्वल झा चुनावी मैदानमा छन्। हालै पार्टीका नेताले जलेश्वरसहितका क्षेत्रमा रोड–सो गर्दै प्रचार तीव्र पारेका छन्।युवापुस्ताको समर्थन र परिवर्तनको नारालाई आत्मसात् गरेको दाबी झाको छ। ‘जनता खुसी छन्, परिवर्तनको नारालाई आत्मसात गरेको पाइन्छ,’ उनी भन्छन्, ‘जनता र सरकारबीचको सम्बन्ध बिग्रेको पाइन्छ। यसले जनता असन्तुष्ट छन्। मैले अब यो सम्बन्ध जोड्छु, जनताले मलाई विश्वास गर्छ।’

४१ उम्मेदवार चुनावी मैदानमा
महोत्तरी क्षेत्र नम्ब ३ मा मा दल र स्वतन्त्र गरि ४१ जना उम्मेदवार छन्। २ जना महिला र ३९ जना पुरुष उम्मेदवार छन्। दलका १५ र स्वतन्त्र २६ गरी ४१ उम्मेदवार चुनावी मैदानमा छन्। जहाँ जम्मा मतदाता १ लाख १० हजार ४ सय ३६ छन्। पुरुष मतदाता ५९ हजार ९ सय ५० र महिला मतदाता ५० हजार ४ सय ८६ रहेका छन्। महोत्तरी–३ मा विकासको ठोस खाका, मधेस आन्दोलनको विरासत, वंशवादविरुद्धको असन्तुष्टि र स्थिर सरकारको बहसबीच मतदाता कता मोडिन्छन् भन्ने चासो बढेको छ। निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल झनै तातिने देखिएको छ। यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले महोत्तरी क्षेत्र नम्बर–३ मा जित हात पारेपछि जलेश्वरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोजकुमार सिंहले स्वास्थ्य, कृषि, खानेपानी र पर्यटनलाई प्राथमिकतामा राख्दै विकासका कार्यक्रम अघि सारेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.