रुपन्देशी-२

एमालेको विरासत ढाल्ने दाउमा नयाँ अनुहार

एमालेको विरासत ढाल्ने दाउमा नयाँ अनुहार

बुटवल : देशभर सर्वाधिक चासोको रूपमा हेरिएको निर्वाचन क्षेत्रमध्येको एक हो, रूपन्देही–२। जहाँ एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित ३९ जना चुनावी मैदानमा छन्। यो एमालेको पकड क्षेत्र मानिन्छ। जहाँ पौडेलले २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्। विकास निर्माणका काम हेर्ने हो भने पौडेललाई यसपालि पनि चुनाव जित्न त्यति कठिन देखिँदैन। तर, यत्तिले मात्र मतदाताको मन तानिने माहोल छैन।

२०७९ कै निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग १ हजार ३ सय ७० मतको अन्तरले विष्णुले चुनाव जितेका थिए। विष्णुले २७ हजार १ सय ६५ र गणेशले २५ हजार ७ सय ९५ मत लिएका थिए। तर, समानुपातिक मत भने एमालेको भन्दा रास्वपाको ४ हजार ४ सय ९० ले बढी छ। एमालेको २१ हजार १ सय ८३ र रास्वपाको २५ हजार ६ सय ७३ आएको थियो। विगतको मत परिणाम हेर्ने हो भने यसपालि यस निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा तीव्र देखिन्छ। सबै पार्टी एक्लाएक्लै प्रतिस्पर्धा गर्नु र अघिल्लै निर्वाचनमा जित्न हम्मेहम्मे पर्नुले विष्णुलाई यसपालि जित सहजै हात पार्न कठिन छ।

तर, विगतमा गरेका विकास निर्माणको काम हेर्ने हो भने उनलाई जित निकाल्न समस्या नपर्ने यस क्षेत्रका मतदाताहरू सुनाउँछन्। यसपालि रास्वपाका शुलभ खरेल, नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेल र नेपाली कम्युनिस्ट पार्टीका सुवास पाण्डे (विश्वदीप) सहित चुनावी मैदानमा छन्। उनीहरू सबै नयाँ अनुहार हुन्। पहिलो पटक स्वतन्त्र रूपमा चुनाव लडेका डा. निकलश भुसाल पनि यही क्षेत्रबाट चुनाव लडेका छन्।

विकास देखेर मतदाताले मत हाल्लान् त ?       
कुनै समय यस्तो थियो बुटवलपारिका बस्तीमा तिनाउ र दानव नदी तर्ने पुल नहुँदा नागरिकको दैनिकी कष्टपूर्ण हुन्थ्यो। १० मिनेटको दूरी पार गर्न घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता थियो। तिनाउ पारिका बस्तीलाई यस क्षेत्रका नागरिकले ‘बुटवलको कर्णाली’को उपमा दिएका थिए। तर, समय विस्तारै फेरिँदै गयो। नागरिकका दैनिकी सहज बन्दै गयो, कारण तिनाउ र दानव नदीमा जताततै पक्की पुल बने। पुल नबनेर नागरिकले सास्ती पाएको क्षेत्र थियो पौडेलको। नागरिकका कष्टपूर्ण दैनिकी सहज बनाउन नेता पौडेलले नदीका मुख्य मुख्य क्षेत्रमा पक्की पुल बनाउने योजना अघि बढाए। पौडेललाई भेट्ने जो कसैले पनि खोलामा पुल चाहियो भनेर विकास माग्ने गर्दथे। 

अहिले यी दुईवटै नदीमा गरेर कुल १८ वटा पक्की पुलहरू निर्माण भइसकेका छन्। ‘अहिले रूपन्देही क्षेत्रका नागरिकले मसँग पक्की पुल चाहियो भनेर भन्नुहुँदैन’, नेता पौडेलले भने, ‘खोलाभरि पुल बनिसकेका छन्, मुख्य बजार क्षेत्र छिर्ने तिनाउ नदीमा सिग्नेचर पुल निर्माणको प्रक्रियामा छ।’ बुटवल उपमहानगरपालिका–१९ पत्थरगन्जमा २०३२ सालमा जन्मिएका ५० वर्षीय विनोद मरासिनीले कुनैबेला निकै दुर्गम क्षेत्र भनेर चिनिने आफ्नो ठाउँ अहिले सुगमको बाटोमा लम्किएको अनुभव सुनाए। अर्घाखाँचीको मालारानी गाउँपालिकास्थित मरेङबाट उनका बुवाआमा बसाइँ सरेर यहाँ आएका हुन्। ‘हामी बसेको ठाउँमा २०३८ सालमा तिनाउको बाढी आएको मलाई अझै पनि सम्झना छ’, मरासिनीले भने, ‘यहाँका जनताले पहिले धेरै दुःख पाए। अहिले यो ठाउँ यस्तो पनि हुँदोरहेछ भन्ने गरी नागरिकले महसुस गर्न पाएका छन्।’ पूर्वपश्चिम महेन्द्र राजमार्ग आफू बसेको ठाउँबाट बढीमा तीन किलोमिटर दूरीमा रहेको उनले बताए।

बुटवलका देवीनगर, मिलनचोक, ट्राफिकचोक र पुरानो बुटवल पनि बढीमा पाँच किलोमिटरकै दूरीमा पर्छन्। तर, खोलामा पुल नहुँदाको पीडा वर्षौंसम्म भोग्नुसम्मको दुःख भोगेको उनले विगत सम्झे। ‘हामीले कति दुःख पायौं, पायौं’,मरासिनी भन्छन्, ‘अहिलेका पुस्ताले हामीले जस्तो दुःख भोग्नुपरेको छैन्।’ बुटवलको विकास हुनुमा प्रमुख भूमिका एमाले नेता विष्णु पौडेल र कांग्रेस नेता बालकृष्ण खाँणको रहेको उनको प्रतिक्रिया छ। विकासकै गतिको मूल्यांकन गर्ने हो भने अहिले यस क्षेत्रका नागरिकले मत परिवर्तन गर्नुपर्ने अवस्था नरहेको उनी सुनाउँछन्। ‘मताधिकार नागरिकको गोप्य अधिकार हो’, उनले भने, ‘तर, विकासको अगुवाइ गर्ने व्यक्तिलाई नागरिकहरूले पनि साथ र हौसला दिनुपर्छ।’ एमाले नेता पौडेल अहिले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।

०६४ देखि पौडेलले यस क्षेत्रमा निरन्तर चुनाव जित्दै आएका छन्। उनको रूपन्देही क्षेत्रमा मात्र होइन्, देशभरमै विकासप्रेमी नेताको राष्ट्रिय छवि छ। मिठास बोली र क्षणभरमै नागरिकसँगको घुलमिलले उनलाई मतदाताहरूले आलोचना गर्ने ठाउँ भेटाएका छैनन्। पौडेललाई रूपन्देही क्षेत्रका नागरिकहरूले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी, दाङ क्षेत्रमा पुर्‍याएको बाहेक अरू गुनासो गर्ने ठाउँ देखेका छैनन्।

तर, नागरिकको उक्त गुनासोलाई मल्हम लगाउने गरी पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने योजना अघि सारेका छन्। पौडेल पटक–पटक उपप्रधान एवं अर्थमन्त्री हुँदा रूपन्देही क्षेत्रमा ल्याएको बजेटले यस क्षेत्रको मात्र होइन, सिंगो देशलाई चिनाउने बाटो देखाएको छ। मृत्युमार्गको रूपमा चिनिने सिद्धार्थ राजमार्गको पाल्पा तिनाउ गाउँपालिकामा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग उनकै अगुवाइमा अघि बढेको राष्ट्रिय योजना हो। जसको निर्माण कार्य अहिले अन्तिम चरणमा छ। पाल्पा, गुल्मीसहित अर्घाखाँची, बागलुङ, पोखरा र मुस्ताङसम्म पुग्ने यात्रुलाई सुरुङमार्गले ढुक्कसँग यात्रा गराउनेछ।

नेता पौडेलले देखेको सपनाको एउटा महत्त्वपूर्ण योजना हो, तिनाउ नदीमा बन्न लागेको सिंग्नेचर पुल। महेन्द्र राजमार्गकै मध्यखण्डमा पर्ने बुटवलको प्रमुख बजारभित्र छिर्ने तिनाउ नदीमा रहेको अहिलेको पुललाई हटाएर सिंग्नेचर पुल बन्नेछ। पुल निर्माणका लागि ठेक्का आह्वानसमेत भइसकेको छ। रात्रिकालीन बजार गर्न मिल्नेसहितको आकर्षक पुलले बुटवल क्षेत्रको मुहार बदल्न योगदान गर्नेछ।

रूपन्देही क्षेत्रमा देशलाई चिनाउने दर्जनौं योजना र खर्बौं बजेट पौडेलकै अगुवाइमा भित्रिएको छ। यस निर्वाचन क्षेत्रमा कुल १ लाख ३५ हजार ५० जना मतदाता छन्। २४ वटा मतदानस्थल र १ सय ३८ वटा मतदान केन्द्र छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.