स्याङ्जामा बढ्यो चुनावी सरगर्मी, त्रिपक्षीय प्रतिस्पर्धा
स्याङ्जा : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आउन पुग नपुग २ साता मात्र बाँकी छ। मतदानको दिन नजिकिदै गर्दा स्याङ्जामा उम्मेदवारको दौडधुप पनि तिव्र रुपले बढेको छ। आफ्ना मत संरक्षण गर्न र अरु दलका मत आफु तिर आर्कषित गर्न सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई भ्याई नभ्याई छ।
उम्मेदवारहरु आफैं र दलगत समूह बनाएर मतदाता फकाउने अभियानमै सक्रिय छन्। अघिल्ला निर्वाचनमा जस्तो यसपटक बढी तडकभडक भने देखिएको छैंन्। तछाड र मछाडको स्थिती पनि आएको छैंन।
उम्मेदवारहरु आ-आफना क्षेत्रमा पुगेर मतदाता रिझाउदै छन्। अघिल्ला निर्वाचनमा झैं उम्मेदवार र मतदाताका अपेक्षा उस्तै छन्। अघिल्ला चुनावमा २ पक्षिय चुनावी भिडन्त हुने स्याङ्जामा यसपटक आजसम्मको आंकलनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। यसअघिका निर्वाचनमा भने नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुदै आएको थियो। यहाँ उही पुरानै पार्टीका वर्चश्व कायम गर्दै पालै पालो नेपाली कांग्रेस र नेकपा एमालेले जित्दै आएका थिए।
तर यसपटक भने नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। स्याङ्जा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका भरतराज ढकाल, नेकपा एमालेका मिनप्रसाद गुरुङ र रास्वपाका धनञ्जय रेग्मीबीच प्रतिस्पर्धा देखिएको छ। र, क्षेत्र नं. २ मा कांग्रेसका भागवतप्रकाश मल्ल, एमालेमा खिमबहादुर थापा र रास्वपाका झविलाल डुम्रेबिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।
कांग्रेसका उम्मेदवार ढकाल पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन्। सहकारी, बैंक र कृषि सम्बन्धी उनमा राम्रो बिज्ञता छ। कृषि मार्फत स्याङ्जालाई आर्थिक क्रान्ति गर्न सकिनेमा उनले जोड दिदै आएका छन्। कृषिका माध्यमबाट स्याङ्जाको आर्थिक समृद्धि गर्न सकिने निती बनाउने तहसम्म पुगेर उत्पादन र किसानमुखी कार्य गर्ने पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
अर्थ र कृषि सम्बन्धी राम्रो दख्खल देखिन्छ उनीमा। सामाजिक सेवामा समर्पित उनी रोयल सहकारी हुँदै मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष समेत बनिसकेका छन्। सहकारी हुदै विकास बैंकसम्मको यात्रामा उनले तल्लो तहदेखि सर्वोच्च तहसम्मको अनुभूति गरेका छन्।
एमाले उम्मेदवार गुरुङ यसअघि २०७४ को गण्डकी प्रदेशसभा सदस्य हुन। उनी एमाले पूर्व जिल्ला अध्यक्ष हुन। विद्यार्थी राजनीतिबाट उदाएका गुरुङ २०३६ सालमा अनेरास्ववियु (पाँचौँ) स्याङ्जाका संस्थापक अध्यक्ष हुन। गुरुङ पनि मुक्तिनाथ बैंकका पूर्वअध्यक्ष हुन। हाल प्रदेश उपाध्यक्ष रहेका गुरुङको संघीय निर्वाचन भने उनको लागि पहिलो अनुभव हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले डा. धनञ्जय रेग्मीलाई उम्मेदवार बनाएको छ। रेग्मीले पनि पहिलो पटक चुनावको सामना गर्दैछन्। रेग्मी नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्। हिमाल, जलवायु परिवर्तन र पर्यटनसँग सम्बन्धित विषयका जानकारी रेग्मी पर्यावरणीय अध्ययन संस्था ‘हिमालयन रिसर्च सेन्टर’का संस्थापक अध्यक्ष पनि हुन्।
यसैगरी, क्षेत्र नं २ मा नेपाली कांग्रेसका भागवतप्रकाश मल्लको पनि संघिय निर्वाचन पहिलो पटकको उम्मेदवारी हो। यसअघि २०७४ सालमा गण्डकी प्रदेशसभा सदस्य थिए। कांग्रेसको भातृसंस्था तरुणदलदेखि प्रदेशसभा सदस्यसम्मको अनुभव लिएका मल्ल हरसमय जनतामाझ पुग्ने युवा नेता हुन। लामो समयदेखि पार्टीका हरेक गतिबिधि र संगठनलाई चलायमान बनाई सक्रिय सहभागी विकास निर्माणका कार्य गर्दे आएका छन्।
एमालेका खिमबहादुर थापा लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय छन्। अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी दुग्ध विकास संस्थानको पूर्वअध्यक्ष पनि हुन। कालीगण्डकी गाउँपालिकाको अध्यक्ष रहेकै बेला सो पदबाट राजीनामागरी संघिय निर्वाचनमा होमिएका हुन। गाउँपालिकामा उनी दोश्रो पटक अध्यक्ष भएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झविलाल डुम्रे पहिलो पटक चुनावी प्रतिस्र्धामा छन्। रास्वपाको गण्डकी इन्चार्ज हुदै केन्द्रिय संगठन विभाग सदस्य हुन्। सूचना र प्रविधिमा जानकार उनी नयाँ शक्तिका रुपमा आफुलाई उभ्याएको बताउछन्। डुम्रे ०७९ को प्रतिनिधिसभा चुनावमा समानुपातिक उम्मेदवार थिए।
स्याङ्जाका २ वटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी २४ जना चुनावी प्रतिस्पर्धामा छन्। दुबै क्षेत्रमा १२/१२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
यसैगरी, क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे, नेशनल रिपब्लिक नेपाल पार्टीबाट अर्जुनकुमार गुरुङ, मङ्गोल नेशनल अर्गानाइजेसनबाट यामबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुमबहादुर राना, उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल, नेकपा माओवादीबाट सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रनबहादुर विक, श्रम संस्कृति पार्टीबाट पिरन गुरुङ र स्वतन्त्र उम्मेदवारका रूपमा अशोक बिष्ट चुनावी दौडमा छन्।
यसैगरी, क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट हरिदेव थापा, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन पाठक, जय मातृभूमि पार्टीबाट धनबहादुर थापा, नेशनल रिपब्लिक नेपाल पार्टीबाट तेजबहादुर थापा, मङ्गोल नेशनल अर्गानाइजेसनबाट खर्कबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा एक स्वतन्त्र सहित १२ जना र क्षेत्र नम्बर २ मा तीन स्वतन्त्र सहित १२ जना उम्मेदवार मैदानमा छन्। स्याङ्जामा २ लाख ४८ हजार ८१६ मतदाता छन्। निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८८६ छन्। क्षेत्र नं २ मा १ लाख १७ हजार ९३० मतदाता रहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख श्रीराम थापाका अनुसार पुरुष १ लाख २२ हजार ४६४ मतदाता छन्। महिला १ लाख २६ हजार ३५१ र अन्यतर्फ १ जना मतदाता छन्। स्याङ्जामा १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !