सप्तरीमा हेभिवेट मैदानमा, दोहोरिएको छैन इतिहास
राजविराज : परिवर्तनको आन्दोलनको सदैव अगुवाई गर्ने सप्तरीमा प्रतिनिधिसभाको निर्वाचन दिनदिनै रोचक बन्दै गएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीमा पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
०५६ सालयता प्रतिनिधिसभा सदस्यमा दोहो¥याएर चुनाव नजितेको इतिहास बोकेको सप्तरी निर्वाचन क्षेत्र नं. २ मा नयाँ अनुहारले पुरानालाई दिएको चुनौतीले यसपालि चुनावी रौनकता बढेको हो।
यस क्षेत्रमा दोहोर्याएर निर्वाचन नजित्ने परम्पराले यहाँका उम्मेदवारमाथि मनोवैज्ञानिक दबाब रहेको अधिवक्ता अशोककुमार चौधरीले बताए। यस क्षेत्रमा कांग्रेसका रामकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट सूर्यनाथ यादव, एमालेका मो. जियाउल, जनता समाजवादी पार्टी नेपालबाट पूर्वमन्त्री उमेशकुमार यादव,राष्ट्रिय स्वतन्त्र पार्टीका ई. रामजी यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीबाट अध्यक्ष शरदसिंह यादव, नेपाल जनता पार्टीका महामन्त्री रञ्जु ठाकुर, स्वाभिमान पार्टीका मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यस्तै राष्ट्रिय मुक्ति पार्टीबाट पूर्वमन्त्री अनिश अन्सारी र उज्यालो नेपाल पार्टीका डा. दीपक चौधरी पनि चुनावी मैदानमा उत्रिएकाले प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
२०४८ र २०५१ सालको निर्वाचनमा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह निर्वाचित भएका थिए। यद्यपि मधेस आन्दोलनपछि सप्तरी निर्वाचन क्षेत्रको सिमांकन पहिलेभन्दा फेरबदल भएको छ। २०५६ सालको निर्वाचनमा सद्भावनाको गड मानिने २ नम्बर क्षेत्रबाट गजेन्द्रनारायण सिंह नेपाली कांग्रेसका उम्मेदवार रामकुमार चौधरीसँग मात्र १७ मतान्तरले पराजित भएका थिए। २०६४ को संविधान सभा निर्वाचनमा यस क्षेत्रबाट राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट महेश यादव, २०७० मा नेकपा माओवादीबाट उमेशकुमार यादवले यस क्षेत्रबाट चुनाव जितेका थिए।
०७४ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए। यादव २०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबाट पराजित भएका थिए। यस पटक अध्यक्ष राउत पुनः उम्मेदवार बनेका छन् भने यादवले निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका छन्।
जनमत पार्टीमै रहेर डा. राउतसँगै काम गरेका मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंह, पार्टीका प्रवक्ता रहिसकेका डा. शरदसिंह यादवले अध्यक्ष राउतलाई चुनौती दिइरहेका छन्। नेकपा माओवादी परित्याग गरेर जसपा नेपालबाट उम्मेदवारी दिएका उमेशकुमार यादव डा. राउत जस्तै चुनाव जितेर इतिहास बदल्ने दाउमा रहेका छन्। तालमेल र गठबन्धनका कारण कांग्रेसले १२ वर्षपछि यस क्षेत्रबाट उपसभापति रामकुमार यादवलाई चुनावी मैदानमा उतारेको छ।
यता परिवर्तनको नारा दिँदै रास्वपाका ई. यादव तथा उज्यालो नेपाल पार्टीका डा. चौधरी पनि नयाँ अनुहार जित्ने विश्वासका साथ घरदलै अभियानमा जोडतोडका साथ लागेका छन्। यस क्षेत्रमा १ लाख ५ हजार ९ सय २२ मतदाता छन्। सो क्षेत्रमा ३४ जना उम्मेदवार चुनावी मैदानमा छन्।
त्यसैगरी जिल्लामा तीन पार्टीका केन्द्रीय अध्यक्षसहित १ सय २ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। यस्तै निर्वाचन क्षेत्र नं १ मा दुई जना विगतको निर्वाचनमा दुई पटक तथा एक जना एकपटक पराजित भइसकेका उम्मेदवारहरू आफ्नो पहिलो जितको सुनिश्चितताका लागि चुनावी मैदानमा छन्। नेकपा एमालेका केन्द्रीय नेता एवं पुर्व राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल र नेपाली काँग्रेस सप्तरीका सभापति समेत रहेका रामदेव साह दुईपटक र जनमत पार्टीका केन्द्रिय नेता डा. जयकान्त राउत एक पटक पराजित भएका थिए।
उनीहरू तीनैजना आफ्नो पहिलो जित निकाल्न चुनावी मैदानमा होमिएका हुन्। यस्तै सोही क्षेत्रमा नेकपाका रवीन्द्र चौधरी, स्वाभिमान पार्टीका सुमित साह र रास्वपाका पुष्पा चौधरी लगायतका उम्मेदवार पहिलो पटक चुनावी मैदानमा उत्रेका छन्। स्वाभिमान पार्टीका उम्मेदवार साह पुर्व मन्त्री नवलकिशोर साहका पुत्र हुन्। यसअघिको निर्वाचनमा सुमितका बुवा साह यसै क्षेत्रबाट निर्वाचित भएका थिए। यस क्षेत्रमा २१ जना उम्मेदवार छन्।
यस्तै क्षेत्र नं. ३ मा जसपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव चुनावी मैदानमा छन्। उनलाई नेपाली काँग्रेस सप्तरीका पूर्वसभापति तथा निवर्तमान सांसद दिनेश कुमार यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीले कडा टक्कर दिने देखिएको छ। जसका कारण यस क्षेत्रको पनि चुनावी माहोल निकै तातिएको छ। जसपा नेपालका अध्यक्ष यादव यसअघि क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएपछि उपनिर्वाचनमा बाराबाट निर्वाचत भएका थिए। र, अहिले उनले पुनः सप्तरी नै रोजेका छन्। यसले गर्दा पनि यस क्षेत्रमा निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सहसचिव गजेन्द्र मंडल र रास्वपाका युवा नेता अमरकान्त चौधरीसमेत गरी २२ जना उम्मेदवार छन्।
क्षेत्र नं ४ मा जितको ह्याट्रिक लगाइसकेका निवर्तमान युवा तथा खेलकुदमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता तेजुलाल चौधरी चौथोपटक जित निकाल्न चुनावी मैदानमा उत्रिएका छन्। उनलाई केही दिन अघिमात्रै कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरी उम्मेदवारी दिएका सीताराम साहले कडा टक्कर दिने स्थानियको भनाइ छ। यस्तै उक्त क्षेत्रबाट जसपा नेपालकी नेतृ डा. बबि सिंह यादव समेतले चौधरीलाई टक्कर दिने देखिएको छ। उनी पनि राजनीतिक परिवेशकै परिवारबाट आएकी छिन्। उनी राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवकी पुत्री हुन्। उक्त क्षेत्रमा जनमत पार्टीबाट जितेन्द्र साह र नेपाली कम्युनिष्ट पार्टीबाट रुवी कुमारी कर्णसहित २५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
प्रतिक्रिया दिनुहोस !