पोर्ट आर्थर : इतिहास जोगाउँदै पर्यटन

पोर्ट आर्थर : इतिहास जोगाउँदै पर्यटन

पोर्ट आर्थरको ‘मौन सजाय’ दि सेपरेट प्रिजन अन्य संरचनाभन्दा बिल्कुल फरक अनुभव दिने स्थान हो। यो यात्रामा सबैभन्दा गहिरो छाप छोड्ने स्थल यही बन्यो, जुन मनमा केन्द्रित थियो।

अस्ट्रेलियाको मुख्य भूमिबाट बास स्ट्रेटले अलग पारेको दक्षिणी समुद्रको काखमा अवस्थित तास्मानिया प्राकृतिक सौन्दर्य, जैविक विविधता र ऐतिहासिक महत्त्वका कारण ‘असीम सम्भावनाहरूको भूमि’का रूपमा चिनिन्छ। हरियालीले ढाकिएका पहाड, स्वच्छ समुद्री तट र वातावरण संरक्षणप्रतिको प्रतिबद्धताले यसलाई अस्ट्रेलियाको विशिष्ट र आकर्षक राज्य बनाएको छ।

सपरिवार तस्मानिया पुगेको पहिलो दिन हामीले कुनै सहर वा आधुनिक संरचना होइन, राज्यकै सबैभन्दा चर्चित ऐतिहासिक गन्तव्य पोर्ट आर्थर रोज्यौं। दण्ड, संघर्ष र पुनर्जागरणको लामो यात्राबाट गुज्रिएको यो स्थल आज अस्ट्रेलियाको सबैभन्दा जीवित सांस्कृतिक सम्पदामध्ये एक बनेको छ। कठोर दण्डस्थलदेखि विश्राम र अवसरको थलो हुँदै विकसित भएको पोर्ट आर्थरमा उपनिवेशकालीन इतिहास अझै ढुंगा–इँटामा धड्किन्छ।

बाहिरबाट हेर्दा हरियाली, नीलो समुद्र र खुला आकाशले पोर्ट आर्थर अत्यन्त रमणीय देखिन्छ। यति शान्त र मनमोहक परिवेशमा कठोर इतिहासले कहिल्यै आश्रय लिएको थियो भन्ने कुरा सोच्न पनि कठिन पर्छ। भत्किएका भवन, ढुंगाका पुराना पर्खाल र मौन उभिएका संरचनाबीच प्रवेश गरेपछि पोर्ट आर्थरको पीडादायी इतिहास विस्तारै मनमा भारी हुन थाल्यो। प्रकृतिको सुन्दरता र मानव निर्मित पीडाबीचको तीव्र विरोधाभासले यो स्थललाई केवल हेर्ने होइन, गहिरो अनुभूति गर्ने स्थान बनाइदिन्छ। हरेक पाइला चाल्दा इतिहास मौन तर शक्तिशाली रूपमा बोलिरहेको अनुभूति हुन्थ्यो। 

१९औं शताब्दीमा बेलायती साम्राज्यले स्थापना गरेको पोर्ट आर्थर तास्मेनियाको दक्षिण–पूर्वी तटमा रहेको एक कुख्यात कारागार थियो। समुद्रले घेरिएको भौगोलिक संरचनाका कारण यहाँबाट कैदीहरू भाग्नु लगभग असम्भव थियो, जसले यसलाई अपराधी नियन्त्रणका लागि उपयुक्त स्थान बनायो। हजारौं कैदीहरू यहाँ कठोर श्रम र कडा अनुशासनमा बाँधिन्थे। ढुंगा फुटाउनेदेखि भवन निर्माणसम्म उनीहरूको दिन कठोर परिश्रममै बित्थ्यो। 

आज पोर्ट आर्थर शान्त छ। चराहरूको आवाज र समुद्रको हल्का छालमात्र सुनिन्छ। तर यही शान्त वातावरणभित्र अतीतका पीडा, संघर्ष र मौन वेदनाका कथा अझै बाँचिरहेका छन्। यहाँका पर्खाल र इँटाहरू केवल संरचना होइनन्, मानव इतिहासका जीवित दस्तावेज हुन्, जसले सुन्दरताभित्रको कठोर यथार्थलाई निरन्तर स्मरण गराइरहेका छन्।

कारागारभित्रको कारागार : पोर्ट आर्थरको एक शान्त तर भयावह कुनामा रहेको ‘कारागारभित्रको कारागार’ रेसिडिविस्ट हवमा पुगेपछि वातावरण झन् असहज महसुस भयो। यो त्यही स्थान हो जहाँ पटक–पटक अपराध दोहोर्‍याएका कैदीहरूलाई कडा निगरानीसहित बन्दी बनाइन्थ्यो। साँघुरा कोठा, कठोर संरचना र सर्वत्र निगरानीले तत्कालीन दण्ड प्रणालीको कठोरता स्पष्ट देखाउँथ्यो। यस स्थानमा सुधारको सम्भावना भन्दा पनि डर, नियन्त्रण र दमन नै प्रमुख थियो जस्तो लाग्थ्यो।

कैदीहरूलाई कडा श्रम, कडा अनुशासन र कठोर सजायमा बाँधेर राखिन्थ्यो। अपराधको पुनरावृत्ति कुनै सामाजिक वा मानवीय त्रुटि होइन, असह्य अपराध हो। त्यही मौन वातावरणमा उभिँदा तत्कालीन न्याय प्रणालीको प्राथमिकता ‘मानव सुधार’ होइन, ‘पूर्ण नियन्त्रण’ थियो भन्ने कुरा महसुस हुन्थ्यो। चारैतिर फैलिएको मौनताले स्वतन्त्रताको कल्पनासमेत यहाँ अपराधसरह ठानिन्थ्यो भन्ने अनुभूति गराउँथ्यो। रेसिडिविस्ट हव केवल एउटा पुरानो भवनमात्र होइन। यो मानव अधिकार, दण्ड दर्शन र उपनिवेशकालीन कठोरताका अँध्यारा अध्यायहरूको सजीव प्रतीक बनेर आज पनि उभिएको छ।

मौन सजाय : पोर्ट आर्थरको ‘मौन सजाय’ दि सेपरेट प्रिजन अन्य संरचनाभन्दा बिल्कुल फरक अनुभव दिने स्थान हो। यो यात्रामा सबैभन्दा गहिरो छाप छोड्ने स्थल यही बन्यो। यहाँको दण्ड शरीरभन्दा बढी मनमा केन्द्रित थियो। कैदीहरूलाई साना, एकान्त कोठामा थुनेर राखिन्थ्यो र बाहिर निस्कँदा कुनै पनि प्रकारको मानवीय सम्पर्क नहोस् भनी उनीहरूलाई अनुहार छोपेरमात्र हिँड्न बाध्य पारिन्थ्यो। त्यस समय मौनता आत्मचिन्तन र पश्चातापको माध्यम बन्ने विश्वास थियो र मौनले अपराधीलाई सुधारतर्फ डोर्‍याउँछ भन्ने धारणा प्रबल थियो।

तर ती साँघुरा कोठाभित्र छिर्दा त्यो सिद्धान्तभन्दा वास्तविकता धेरै कठोर देखिन्थ्यो। त्यहाँ आत्मचिन्तनभन्दा बढी गहिरो एकान्त, मानसिक दबाब र मौन यातनाले मन थिचिरहेको अनुभूति हुन्थ्यो। आज ती कोठाहरू खाली छन्, तर त्यहाँको मौन अझै भारी लाग्छ। त्यो सन्नाटा केवल आवाजको अभाव होइन, विगतका पीडा, डर र टुटेका मनहरूको अदृश्य चिच्याहटजस्तै लाग्छ, जसले समय बितिसक्दा पनि आफूलाई सुनाइरहन्छ।

बाल्यकाल खोसिएको कथा : पोर्ट आर्थरबाट केही दूरीमा रहेको पोइन्ट प्युअर पुग्दा मन झन् भारी बन्यो। बालकहरूका लागि मात्र छुट्टै बनाइएको कारागार मानिने यो स्थलमा ९ देखि १७ वर्ष उमेरका केटाहरूलाई राखिन्थ्यो। अपराध सानो होस् वा ठूलो उमेरले यहाँ कुनै सुरक्षा दिँदैनथ्यो। खेल, माया, सिकाइ र सपनाका लागि हुनुपर्ने बाल्यकाल यहाँ डर, कठोर श्रम र निरन्तर सजायमा बित्थ्यो। यो स्थानमा उभिँदा कल्पनामा ती बाल अनुहारहरू झल्किन्थे, जसले खेल मैदान होइन, कारागारका पर्खाल देखेर हुर्कनुपर्‍यो। 

सुधारको नाममा उनीहरूलाई श्रम र अनुशासन थोपारियो, तर बाल मनको पीडा बुझ्ने प्रयास भएन। पोइन्ट प्युअर तत्कालीन समाजको कठोर सोच र बालअधिकारप्रतिको गम्भीर उपेक्षाको प्रत्यक्ष प्रमाणजस्तै देखिन्छ। यी केटाहरू अपराधीभन्दा पहिले पीडित थिए। उनीहरूको सबैभन्दा ठूलो ‘अपराध’ भनेको कुनै गम्भीर कसुर होइन, बाल्यकालमै अपराधी ठहरिँदै कठोर दण्डको सिकार हुनु थियो, एक यस्तो गहिरो घाउ, जसको असर समय बिते पनि सजिलै मेटिँदैन।

मृत्युपछि पनि विभाजन : समुद्रको शान्त पानीबीच देखिने सानो टापु मृतकहरूको टापु अर्थात् मृत्युद्वीप बाहिरबाट हेर्दा अत्यन्त शान्त देखिन्छ, तर यसको अर्थ गम्भीर छ। पोर्ट आर्थरको कारागार प्रणालीसँग जोडिएको यो टापु कैदी, सैनिक र कर्मचारीहरूको अन्तिम विश्रामस्थल थियो। यहाँ पुग्दा जीवनको अन्तिम सत्यसँग प्रत्यक्ष सामना भएको अनुभूति हुन्छ। 

टापुमा फैलिएका चिहानहरूले मृत्युपछि पनि समानता थिएन भन्ने एउटा कठोर यथार्थ उजागर गर्छन्। कतै ठूला, व्यवस्थित र नाम कुँदिएका चिहानहरू छन्, त कतै कुनै नाम वा चिनोविहीन साना ढिस्काहरू मात्र। सामाजिक हैसियतले जीवनमा मात्र होइन, मृत्युपछि पनि मानिसलाई विभाजित गरेको तथ्यले मन छोइरहन्छ। मृत्युद्वीप केवल समाधिस्थल होइन, यो मानव समाजमा गहिरो रूपमा गढिएको असमानताको अन्तिम र मौन प्रमाण हो। समुद्रको हल्का छालबीच उभिँदा जीवन र मृत्यु दुवैमा समानताको प्रश्न अझै उत्तरविहीन रहेको अनुभूति हुन्छ।

इतिहास जोगाउँदै पर्यटन : आजको पोर्ट आर्थर इतिहासलाई गहिरो सम्मानका साथ संरक्षण गर्दै पर्यटनसँग सफलतापूर्वक जोडिएको उत्कृष्ट उदाहरण बनेको छ। अत्यन्त व्यवस्थित र संवेदनशील ढंगले संरक्षित यो स्थल युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हुनु यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वको ठोस प्रमाण हो। पुराना संरचनाहरू मूल स्वरूपमै सुरक्षित राखिएका छन् भने आधुनिक व्याख्या केन्द्र, सूचनामूलक प्रदर्शनी र मार्गदर्शक टुरहरूले ती संरचनालाई अर्थपूर्ण रूपमा ‘बोल्ने’ बनाइदिएका छन्। यहाँ हिँड्दा पर्यटक केवल दृश्य अवलोकन गर्ने दर्शकमात्र हुँदैन; ऊ इतिहाससँग मौन संवाद गर्ने सचेत सहभागी बन्छ। 

शान्त वातावरण, स्पष्ट सूचना र संवेदनशील प्रस्तुतीकरणले विगतका पीडालाई सनसनी होइन, सिकाइ र आत्मबोधका रूपमा प्रस्तुत गर्छ। आर्थरमा पर्यटन मनोरञ्जनभन्दा धेरै स्मरण, आत्मचिन्तन र ऐतिहासिक चेतनाको यात्राजस्तै अनुभूत हुन्छ। विगतका गल्तीहरू नबिर्सी, तिनबाट पाठ सिक्दै भविष्यप्रति जिम्मेवार बन्ने चेतना यहाँ स्पष्ट देखिन्छ। यही कारण आर्थर केवल अतीतको अवशेषमात्र होइन, यो वर्तमान र भविष्यलाई जोड्ने चेतनाको जीवित पुलजस्तै उभिएको अनुभूति गराउँछ।

नबिर्सनुपर्ने स्मृति : पोर्ट आर्थरमा हिँड्दा उपनिवेशकालीन इतिहासको भारमात्र होइन, १९९६ को दर्दनाक गोलीकाण्डको स्मृतिले पनि मन गहिरोसँग छुन्छ। बाहिरबाट शान्त र सुरम्य देखिने यो स्थल एक समय ३५ निर्दोष मानिसहरूको ज्यान जाने र २३ जना घाइते हुने त्रासदीको साक्षी बनेको थियो। पुरानो इतिहास बोकेको स्थानमा आधुनिक युगको यस्तो हिंसात्मक घटना जोडिँदा यसको अर्थ अझ गहिरो र पीडादायी महसुस हुन्छ।

यो घटनाले अस्ट्रेलियाली समाजलाई गम्भीर आत्मचिन्तनमा धकेल्यो। तत्कालीन प्रधानमन्त्री जान हावर्डले घटनाको चार दिनमै बन्दुक नियन्त्रण कडा गर्ने प्रतिबद्धता जनाए, र १२ दिनभित्रै राष्ट्रिय स्तरको ‘नेसनल फायरआम्र्स एग्रिमेन्ट (एनएफए)’ लागू भयो। अर्ध–स्वचालित र स्वचालित हतियारहरूमा कडा प्रतिबन्ध, राष्ट्रिय स्तरको कानुन र ठूलो मात्रामा हतियार फिर्ता कार्यक्रम सुरु हुनु राष्ट्रको पीडाबाट सिक्ने साहसिक कदम थियो।

आज पोर्ट आर्थर शान्त छ। तर यो शान्ति सहजै प्राप्त भएको होइन; यसका पछाडि इतिहासका गहिरा घाउ, सामाजिक आत्ममन्थन र सुधारको लामो यात्रा छ। पोर्ट आथर आज पनि एक मौन चेतावनीजस्तै उभिएको छ। हिंसा कहिल्यै समाधान होइन। विगतका पीडालाई स्मरण गर्दै जिम्मेवार भविष्य निर्माण गर्नु नै मानवताको साँचो सम्मान हो। यहाँको अनुभवले इतिहास केवल अवलोकन गर्ने घटनाहरूको संग्रह होइन, बरु पीडा र पाठमार्फत चेतावनी दिने जीवित स्मृति हो भन्ने बोध गराउँछ।

इतिहासले दिएको पाठ : पोर्ट आर्थरबाट फर्कंदा मनमा इतिहासको गहिरो पाठ बोकेर फर्किएँ। मानव सभ्यताको यात्रा सजिलो थिएन; यसमा पीडा, कठोर अनुशासन र असमानताका अध्यायहरू भरिएका छन्। समाजले अघि बढ्न, सुधार गर्न र समानतापूर्ण भविष्य निर्माण गर्न विगतका गल्तीबाट सिक्नैपर्छ भन्ने सत्य यही इतिहासले सम्झाउँछ। तास्मेनियाको सम्भावनाको भूमिमा पोर्ट आर्थर केवल पुरानो कारागार वा पर्यटकीय गन्तव्य होइन, यो चेतनाको ठाउँ हो। 

यहाँका मौन पर्खाल, गहिरो सन्नाटा र समुद्रका छालहरूले विगतका पीडाका कथा आज पनि सुनाइरहन्छन्। हाम्रो वर्तमान निर्णयले भविष्यमा कस्तो समाज निर्माण हुन्छ भन्ने प्रश्न निरन्तर उठाइरहन्छन्। विगतलाई बिर्सिने होइन, त्यसबाट सिकेर अघि बढ्नु नै जिम्मेवार समाजको पहिचान हो भन्ने सन्देश यहाँबाट प्राप्त हुन्छ। आर्थरले इतिहास सम्झाउनेमात्र होइन, यात्रुका मनमा जिम्मेवारी, संवेदनशीलता र मानवताको मूल्य पनि गहिरोसँग अंकित गरिदिन्छ। यही कारण यो स्थल यात्रामात्र होइन, अनुभूति, शिक्षा र आत्मचिन्तनको गहिरो यात्रा बनेर मनमा बस्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.