पोखरा गोल्डकप : सहारा च्याम्पियन
पोखरा : आयोजक सहारा क्लब पोखरामा शनिबार सम्पन्न २५औं संस्करणको आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २—० गोलले पराजित गर्दै सहाराले प्रतियोगिताको २५ वर्षे इतिहासमा दोस्रो पटक उपाधि जितेको हो । सहराले यसअघि १२औं संस्करणमा पहिलो पटक उपाधि जितेको थियो ।
प्रतिस्पर्धात्मक खेलको २५औं मिनेटमा मुकुन्दकुमार निउरेले गोल गर्दै सहारालाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेपछि जावलाखेल दबाबमा परेको थियो । ७३औं मिनेटमा सहाराका विदेशी खेलाडी डेनियल बडारुले गोल गर्दै अग्रता फराकिलो पारेका थिए । सुशील लामाको पासमा बडारुले बललाई विपक्षी पोस्ट्को जाली चुमाएका थिए । १४ वर्षपछि फाइनलमा पुगेको जावलाखेल युथ क्लब अन्तिम समयसम्म खेलमा फकर्ने लक्ष्यका साथ प्रतिस्पर्धामा प्रयासरत रहे पनि गोल गर्न चुक्दा पहिलो पटक उपाधि जितेर इतिहास रच्ने अवसरलाई सदुपयोग गर्न सकेन ।
उज्वेकिस्तानको आभा एफसीलाई पराजित गर्दै जावलाखेल युथ क्लब १४ वर्षपछि फाइनलमा पुगेको थियो । आयोजक सहाराले भने ६ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथमा पराजित गर्दै जावलाखेलसँगको भेट पक्का गरेको थियो ।
२५ औं संस्करणको प्रतियोगितामा आभा फुटबल क्लब उज्वेकिस्तानले फेयर प्ले पुरस्कार पायो । उदयीमान खेलाडीको पुरस्कार सहाराका मुकुन्द्रकुमार निउरेले पाए । उत्कृष्ट गोलरक्षक सहरा क्लबकै टिकेन्द्र थापाले भए । उत्कृष्ट मिडफिल्डरको पुरस्कार जावलाखेलका खेलाडी बोउबाकरले पाए । उत्कृष्ट फरवाड जावलाखेल युथ क्लबका धमेन्द्र कुँवर भए भने उत्कृष्ट प्रशिक्षकको पुरस्कार सहाराका सुनिल रानामगरले पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सहारा क्लबका मुकुन्दकुमार निउरेले स्कुटर पुरस्कार पाए । विधागततर्फका खेलाडीले नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गरे ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको आहा रारा पोखरा गोल्डकपको विजेता सहाराले १४ लाख एक हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता जावलाखेल युथ क्लबले सात लाख एक हजारमा चित्त बुझायो ।
प्रतिक्रिया दिनुहोस !