सत्ता र शक्तिको दुुरुपयोग, ६ दशक पुुरानो विद्यालय संकटमा

सत्ता र शक्तिको दुुरुपयोग, ६ दशक पुुरानो विद्यालय संकटमा

बर्दिबास(महोत्तरी) : प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा मतदातालाई रिझाउन उम्मेदवार गाउँ–गाउँ पुगिरहेका छन्। तर, मत माग्ने भाषण र विकासका नाराबीच महोत्तरी–१ स्थित बर्दिबास नगरपालिका–१३, डाँडाटोल बिजलपुराको जनता माध्यमिक विद्यालयको कक्षाकोठाले भने अर्कै व्यथा सुनाइरहेको छ  :  मतको दरुपयोग र राजनीतिक हस्तक्षेपले थिलथिलो बनेको सामुदायिक शिक्षाको कथा।

विद्यालय पुग्दा जोकोहीलाई लाग्न सक्छ, यस्तो पनि विद्यालय हुन्छ ? कक्षा १ मा दुईवटा बेन्च, दुई जना विद्यार्थी, एउटा कुर्सी र एक जना शिक्षिका छन्। यसैले दर्साउँछ विद्यालयको बेहाल अवस्था। धुलाम्य कोठामा शिक्षिका पुनिताकुमारी महतोले बालबालिकालाई पढाइरहेकी छन्। विद्यालय नजिकैका गाउँमा उम्मेदवार भोट मागिरहेका छन्। कक्षा १ का ६ वर्षका शिवम् सहनीले आफ्नो नामसम्म बताउँछन्। तर, अर्का विद्यार्थीले नामसमेत भन्न जान्दैनन्। यहाँबाट पटकपटक भोट पाएर नेता जिते। जित्नेका पार्टीका सरकार पनि बने। तर, कुनै बेला भरिभराउ हुने बर्दिबास नगरपालिकाको पहिलो हाइस्कुल बन्द हुने अवस्थामा पुगेको छ। 

कक्षा १ की शिक्षिका पुनिता भन्छिन्, ‘स्कुलमा धेरै विद्यार्थीको नाम लेखाइएको छ तर, उनीहरू सबै बोर्डिङ स्कुलमा भेटिन्छन्। हामीले के गर्ने, डेक्स—बेन्चलाई पढाउने कि विद्यार्थीलाई ? ’ जनता माध्यमिक विद्यालय डाँडाटोल पूर्वविद्यार्थी मञ्चका सदस्य वीरेन्द्रकुमार महतोका अनुसार कुनै समय यही विद्यालयमा एउटै कक्षामा १५० जनासम्म विद्यार्थी हुन्थे। विद्यालय भरिभराउ हुन्थ्यो। एसएलसीको नजितामा जिल्लाकै उत्कृष्ट नतिजा ल्याएर विद्यालयले पुरस्कारसमेत पाएको थियो। तर, चरम राजनीतिककरणका कारण विद्यालय ध्वस्त बन्दै गएको छ। विद्यालयका एक शिक्षक भन्छन्, ‘अहिले मुस्किलले विद्यालयमा ३ सय हाराहारीमा विद्यार्थी होलान्। भवन पक्की छ, डेस्क–बेन्च छन्, शिक्षकहरू छन्। तर, कक्षाकोठा रित्तिँदै गएका छन्। सबै पार्टीको गलत राजनीतिले गर्दा यस्तो भयो। जो जितेर आउँछन, उनैले स्कुलमा हैकम चलाउँछन्। हामीले के गर्ने ? ’ 

यो केवल विद्यार्थी घटेको कथा होइन। नेताले चुनावमा मतदातासँग गरेकोे वाचा तोडेर दिएको पीडाको सत्य कथा हो। विकृत राजनीतिको अभ्यासले एउटा समुदायका बालबालिका पढ्ने स्कुल कसरी बन्द हुँदैछ, त्यसको ज्वलन्त उदाहरण हो। स्थानीय रामवृक्ष चौधरी भन्छन्, ‘गाउँको स्कुल ध्वस्त बनेपछि ४५ डिग्री तापक्रममा खाडीमा काम गर्दै स्थानीय बालबालिकालाई निजी स्कुलमा पढाउन बाध्य छन्। उनीहरूका बालबालिका बाख्रा—भैंसी चढाइरहेका छन्। के गर्ने ? गाउँ बनाउने नेता नै भेटिएन अहिलेसम्म, कैयौं पटक भोट हालिसकें। अब कसलाई हाल्ने विश्वास पनि मर्दै गयो।’

करिब ९ हजार जनसंख्या भएको बिजलपुराको माझमा छ, जनता माध्यमिक विद्यालय। अहिले आफंैलाई रूपान्तरण गरिदिने नेताको खोजीमा मतदाता मात्रै होइन, विद्यालय पनि छ। विद्यालयमा पुग्दा यस्तै भान हुन्छ, कक्षाकोठा हेरेर। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही विद्यालयमा मतदान केन्द्र तोकिएको छ। प्रहरी–प्रशासन र निर्वाचन अधिकृतको टोली तयारीमा जुटेको छ। महोत्तरी–१ मा २५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। गिरिराजमणि पोखरेल, लक्ष्मी महतो कोइरी, मुकेशराज काफ्ले, प्रमोदकुमार महतो, योगनारायण महतो र वीरेन्द्र महतो प्रमुख प्रतिस्पर्धी छन्।

०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट लक्ष्मी महतो विजयी भएका थिए। त्यसअघि यही क्षेत्रबाट मत लिएर गिरिराजमणि पोखरेल पटक–पटक मन्त्री बने, शिक्षा र स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि बहन गरे। ०७४ यता प्रदेश तहमा सारदा देवी थापा निरन्तर निर्वाचित भइन्, राज्य मन्त्रीसमेत बनिन्। स्थानीय तहमा २०७४ मा माओवादीका विदुर कार्की र कांग्रेसका (बागी)प्रह्लादकुमार क्षेत्री विजयी भए। तर, बिजलपुराका करिब ६ हजार मतदाताको प्रश्न एउटै छ—देशकै शिक्षामन्त्री बनाउने निर्वाचन क्षेत्रका स्कुल पनि सुधार गर्ने नीति, विधि किन बनाएनन् ? बनाएको नीति पनि किन लागू नगराएको ? अब फेरि बर्दिबासलाई शिक्षाको हब बनाउन मत दिनुपर्ने ती नेताहरूलाई।’ मतदाताहरू गम्भीर छलफलमा जुटेको स्थानीय रामपूजन महतो सुनाउँछन्।

चिया पसलमा भेटिएका ६४ वर्षीय बलबहादुर श्रेष्ठ भन्छन्, ‘हेर्दाहेर्दै स्कुल त राजनीतिले खाएर ध्वस्त बनायो। हाम्रा बाबुनानीलाई पढाउने स्कुल सुधार गर्छु भनेर भोट दिन्छौं तर जितेपछि कसैले फर्केर हेर्दैनन्।’ उनका अनुसार विद्यालय व्यवस्थापन समिति, शिक्षक छनोट, सेवा सुविधा सबैमा पार्टीगत भागबन्डा हुने गर्छ। ‘नेताहरू जितेपछि खाउबादी कार्यकर्तालाई जिम्मा दिन्छन् अनि स्कुल कमाउने थलो बन्छ,’ उनी स्कुलको व्यथा यसरी सुनाउँछन्।
विद्यालय अनुशासनहीनता र मनोमानीको सिकार भएको बताउँछन्, स्थानीय राजकुमार महतो। ‘जो जित्यो उसैले आफन्त र कार्यकर्ता भर्ती केन्द्र बनायो। यस्तो अवस्थामा स्कुलले कसरी गुणस्तरीय शिक्षा दिन्छ ? ’ उनको प्रश्न छ, ‘ माध्यमिक तहमा स्थानीय सरकारले चारवटा दरबन्दीका शिक्षक अरू स्थानमा पठायो। त्यो ठाउँमा रिक्त राख्यो अनि आसेपासेलाई शिक्षकका रूपमा भर्ना ग¥यो। स्कुलमा अभिभावक र बच्चाको पढाइप्रति विश्वास नै खस्कियो। राम्रा शिक्षक भए भने नि स्कुलमा पढाइ राम्रो हुने हो।’

विद्यालयसँग करिब २० बिघा जग्गा रहेको स्थानीय बताउँछन्। तर, हिसाब–किताब पारदर्शी छैन। सूचना माग्दा दुव्र्यवहार सहनुपरेको आरोप छ। त्यसमा नेताहरू नै हाबी हुने गरेको मतदाता महेन्द्र महतो सुनाउँछन्।  अर्का मतदाता रामचन्द्र महतो भन्छन्, ‘पैसा हुनेले बच्चा बोर्डिङमा पढाउँछन्। नेताहरू आफ्ना बच्चाको नाममा राजनीति गर्न र समितिका बस्नका लागि सरकारी स्कुलमा मात्रै राख्छन्, बच्चा निजीमा पठाउँछन्। सरकारी स्कुल राजनीति गर्ने अखडा भयो।’

अभिभावकको विश्वास गुम्दा निजी विद्यालय भरिभराउ छन्। गाउँका सामुदायिक विद्यालय रित्तिँदै गएको छ। यसले गरिब तथा विपन्न बच्चाहरू गुणस्तरीय शिक्षाबाट वञ्चित भएका छन्। 

२०१६ सालमा स्थापना भएको यो विद्यालय बर्दिबास नगरपालिकाको पहिलो हाइस्कुल हो। कुनै समय बास र खरको छानोमुनि पढाइ हुन्थ्यो। भुइँमा बसेर पढेका हजारौं विद्यार्थी देश–विदेशमा सेवा गरिरहेका छन्। २०६० सालमा एसएलसीमा महोत्तरी जिल्लाभर प्रथम भई एक लाख पुरस्कार जितेको विद्यालय २०८१ सालको एसईईमा ६६ जना सहभागीमध्ये २२ जना (३३.३ प्रतिशत) मात्र नतिजा हात लाग्यो। करिब ६७ प्रतिशत नतिजा राजनीतिको दुष्चक्रमा नै परेको स्थानीय विश्लेषण छ। २२ वर्ष अघिको गौरव र आजको परिणामबीच आकाश–जमिनको फरक छ।

यतिखेर चुनावमा उम्मेदवारहरूले फेरि पुरानै कुरा दोहोराइरहेका छन् मतदाताहरूसँग— सामुदायिक शिक्षा सुधार्न आफ्नो पार्टीको सत्ता चाहियो। तर, मतदाताले यसअघि भोट दिएर सत्तामा पु¥याउँदा पनि विद्यालयजस्ता महŒवपूर्ण संस्था सुधार गर्न नेताहरूले काम नगरेकोमा आक्रोशित बनिरहेका छन्।

विद्यालयले विद्यार्थीलाई तीन कुरा दिनुपर्छ—ज्ञान, सीप र आचरण। तर, कक्षामा विद्यार्थी छैनन्। व्यवस्थापनमा पारदर्शिता छैन। समुदायमा विश्वास छैन। स्कुलमा पार्टी राजनीति धमिरासरी सरेर सखाप बनाएको मतदाता श्याम पासमानले बताए। उनले भने, ‘अब कुन नेता आउँछन् ? कुन पार्टी आउँछ ? जसले हाम्रो स्कुल बनाउँछ, उसैलाई खोजेर भोट हालेर जिताउँछौं।’ चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरू विकासका भाषण गरिरहेका छन्। तर, यही विद्यालयको अवस्था उनीहरूकै राजनीतिक संस्कारको ऐना बनेको छ। मतदाताहरू अब छलफलमा जुटिरहेका छन्। भन्दै छन्, ‘अब पार्टी होइन, स्कुल बनाउने उम्मेदवार रोज्नेछौं।’

स्थानीय स्तरमा ‘बिजलपुरा रूपान्तरण अभियान’ सञ्चालन गरिरहेका युवाहरूले उम्मेदवारहरूसँग राजनीतिक हस्तक्षेपबाट विद्यालयलाई मुक्त बनाएर सुधार गर्नुपर्ने माग राखिरहेका छन्। अभियानी ज्ञानेन्द्र महतो सुनाउँछन्, ‘जनता माध्यमिक विद्यालय डाँडाटोलको पीडा एउटा विद्यालयको मात्रै होइन, देशैभरिको हो। यो मतको दुरुपयोग, राजनीतिक भागबन्डा र कमजोर शैक्षिक नेतृत्वको परिणामले गर्दा भयो। अब हामीले उम्मेदवार छान्ने बेलामै ध्यान दिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.