बैतडी : बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । मेलौली नगरपालिका–०६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार भट्ट ईलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए । हिजो साँझ ड्युटी सकेर घर फर्किएका उनी घरमै एक्कासी बेहोस भएका थिए।
बेहोस भएपछि उनलाई उपचारका लागि एम्बुलेन्समार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। तर स्वास्थ्य केन्द्रमा पुर्याउँदा डाक्टरले राति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बैतडीमा यसअघि दुई निर्वाचन प्रहरीको मृत्यु भएको छ । यहीँ फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको हो । वड पनि घरमै अचेत अवस्थामा फेला परेका थिए ।
यसैगरी यही माघ २० गते दशरथचन्द नगरपालिका-४ का ३२ वर्षीय प्रकाश चन्दको तालिम सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !