फेरिएला त जनकपुरको काँचुली, बन्ला त धार्मिक पर्यटन ‘हब’ ?
बर्सेनि १ करोड बढी धार्मिक पर्यटक भित्र्याएर जनकपुरको काँचुली फेर्ने नेताका आश्वासन र भाषण केवल बोली र कागजमा मात्रै सीमित छन्। यसपटक पनि ठूलादेखि साना दलका नेता र उम्मेदवारले जनकपुरलाई धार्मिक पर्यटनको हब बनाउने एजेन्डा अघि सारेका छन्, तर मतदाताले पत्याइसकेका छैनन्।
जनकपुरधाम : जनकपुरको पहिचान नै हो– प्राचीन, धार्मिक र सांस्कृतिक सहर। मिथिला संस्कृतिले सम्पन्न यो सहर धार्मिक तीर्थस्थलको रूपमा प्रख्यात छ। त्यसैकारण हरेक चुनावमा जनकपुरलाई धार्मिक पर्यटनको हब बनाउने प्रतिबद्धता गरिन्छ। तर, व्यवहारमा लागू हुँदैन। अरू त परै जाओस, यहाँको प्रसिद्ध जानकी मन्दिरको जीर्णोद्धारका लागि समेत बजेट छुट्ट्याउन कन्जुस्याइँ गरिन्छ। बर्सेनि १ करोड बढी धार्मिक पर्यटक भित्र्याएर जनकपुरको काँचुली फेर्ने नेताका आश्वासन र भाषण केवल बोली र कागजमा मात्रै सीमित छन्।
यसपटक पनि ठूलादेखि साना दलका नेता र उम्मेदवारले जनकपुरलाई धार्मिक पर्यटनको हब बनाउने एजेन्डा अघि सारेका छन्, तर मतदाताले पत्याइसकेका छैनन्। किनभने, यस्ता चुनावी नारा, भाषण र भोट तान्न नेताहरूले पटक–पटक ललिपप बाँड्ने गरेको यहाँका मतदाता बताउँछन्।
किन पहल हुँदैन त ?
प्राचीन मिथिलाको राजधानी जनकपुर धार्मिक र सांस्कृतिक सहर भएकाले धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको छ। वर्षमा १ करोड बढी धार्मिक पर्यटन भित्र्याउने नेताहरूले सपना पनि बाँड्ने गरेका छन्। तर, त्यसका लागि न संरचना निर्माणमा ध्यान दिन्छन्, न त नीतिगत निर्णयमा नै पहल गर्छन्। त्यसैकारण चुनावमा बेच्ने नारा मात्रै बनेको छ–जनकपुर धार्मिक पर्यटनको हब।
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने यस क्षेत्रलाई नेताहरूले आफ्नो मतका लागि उपयोग गर्ने गरे पनि निर्वाचित भएपछि नत यहाँको विकासका लागि ठोस पहल गर्छन्, नत यस क्षेत्रका जनताको जीवनस्तर अभिवृद्धिका लागि भूमिका नै निर्वाह गर्छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदासमेत जनकपुरले पुरानै भाषण र आश्वासन पाइरहेको छ। प्रमुख राजनीतिक दलहरूको घोषणापत्र विगतका जस्तै आश्वासनका पोकाले भरिएका छन्। शाब्दिक रूपमा केही फेरबदल भए पनि पुरानै वाचाहरू फेरि दोहोरिएका छन्।
कसका कस्ता छन् एजेन्डा ?
कांग्रेसका नेता एवं यस क्षेत्रका उम्मेदवार विमलेन्द्र निधिकोे चुनावी प्रतिबद्धता पत्रमा अधिकार सम्पन्न प्रदेशको एजेन्डालाई अघि सारेका छन्। यातायात र पूर्वाधारको क्षेत्रमा निकै महत्वकांक्षी योजना अघि सारेका निधिले हालको डिजेल रेललाई विस्थापन गरी रेल सेवाको विद्युतीकरण गर्ने र जनकपुरधाम अयोध्या सीधा हवाई सेवा सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन्।
त्यसैगरी रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण र सञ्चालनलाई उच्च प्राथमिकता दिने र राजर्षि जनक विश्वविद्यालयलाई भौतिक र शैक्षिक विस्तार गरी प्रभावकारी कार्यान्वयन गर्ने सहितका प्रतिबद्धताहरू अगाडि सारेका छन्। ‘मैले यो क्षेत्रमा जति काम गरेको छु अरू कसैले गरेको छैन,’ निधिले भने, ‘मधेस प्रदेशको राजधानी जनकपुरलाई नै बनाउन मैले निर्णायक भूमिका निर्वाह गरेको थिएँ। अर्को कुरा यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको लागि ढल्केबर,जनकपुर जटही ६ लेनको सडक निर्माणको पहल गरेको हुँ। यहाँको राजनीतिक विकास र भौतिक विकासमा मेरो सर्वाधिक उल्लेख्य भूमिका छ।’ निधिले यस्तो दाबी गरिरहँदा मतदाताहरूको राय भने अर्कै छ।
‘यहाँ जुन नेता जितेर गए आफ्नो विकास मात्रै हेरे। कताबाट कमिसन आउँछ त्यहीँ काम गराए। जनकपुरको विकासका लागि र यहाँको सबैभन्दा प्रमुख समस्या फोहोर व्यवस्थापनका लागि केही गरेनन्,’ जनकपुरका मतदाता तथा युवा व्यवसायी बसन्त साह भन्छन्, ‘जनकपुरको विकासका लागि यदि कांग्रेस प्रतिबद्ध हुन्थ्यो भने आज जानकी मन्दिर विश्वसम्पदा सूचीमा सूचीकृत भइसकेको हुन्थ्यो। जनकपुर धार्मिक पर्यटकहरूको केन्द्र हुन्थ्यो तर, त्यस्तो केही छैन।’
प्रतिनिधिसभाको गत निर्वाचनमा यस क्षेत्रबाट एमालेकी जुली महतो निर्वाचित भएकी थिइन्। महतो यसपटक पनि यस क्षेत्रबाट उम्मेदवार छिन्। यसअघिको निर्वाचनमा महिला सशक्तीकरण, भौतिक विकास, शैक्षिक प्रगति र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य काम गर्ने भन्दै मत मागेर निर्वाचित भएकी महासेठको यसपटक पनि पुरानै नाराहरू अघि सारेकी छन्। ‘अधुरा कामहरू पूरा गर्न’ उम्मेदवारी दिएको बताउँदै आएकी छिन्। ‘सुख र दुःखमा जनतासँगै छु। मैले शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण सबै पक्षमा काम गरेको छु,’ महतो भन्छिन्, ‘हिजोका दिनभन्दा यस क्षेत्रमा आजको अवस्था निकै फरक छ।
थुप्रै विद्यालयहरूमा पूर्वाधार र बजेट व्यवस्थापन गरेको छु। महिला सशक्तीकरणका लागि काम गरेको छु। तर,त्यक्तिले मात्रै पुग्दैन यसलाई अझ निरन्तर गर्नु आवश्यक छ।’ महतोको चुनावी नारा भाषण मात्रको रहेको र अहिलेसम्म पुरानै वाचाहरू पूरा नभएको हुँदा नयाँ पूरा हुने आशा कमै रहेको जनकपुरधाम उपमहानगरपालिका–४ का दिपु ठाकुर बताउँछन्। ‘यी नेताहरूको बोल्ने भाषण एकथरी र गर्ने काम अर्कै हुन्छन,’ ठाकुर भन्छन्, ‘उनीहरूले गरेका २० वटा पुराना वाचामध्ये दुईवटा पनि पूरा गर्न सकेका छैनन् अनि अब फेरि नयाँ प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्।’ जनकपुरको फोहोर व्यवस्थापनका लागि आफूले निजी स्तरमा दिनरात काम गरे पनि कुनै पनि नेता र सरकारबाट सहयोग नपाएको उनको भनाइ छ। ‘यस विषयमा समन्वय गरिदिनका लागि मैले यस क्षेत्रका निर्वाचित सांसद जुली महतोलाई हात जोडेरै अनुरोध गरेको थिए तर, कुनै सुनुवाइ भएन उल्टै उहाँ विरोधमा लाग्नुभयो,’ ठाकुरले भने, ‘जसले आफ्नो राजनीतिक फाइदाका लागि जनताको फाइदा बुझ्दैनन् तिनलाई फेरि कसरी विश्वास गर्ने ? ’
परिवर्तनको नारा दिएर अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झा भन्छन्, ‘स्कुलमा पढाइ नै, अस्पतालमे दबाइ नै, युवा सभके कमाई नै, खेतमे सिँचाइ नै, भ्रष्टाचारी सभके कारबाही नै आ यी चिजसभ ककरो कह जाउँ त ओइके सुनुवाइनै देश त ऐना नै चलैछै अई सबके सुधार कर परलै’ मैथिलीमा उनको भनाइ छ। यसको नेपाली अर्थ हो, ‘विद्यालयमा पढाइ छैन, अस्पतालमा दबाइ छैन, युवाहरूको कमाई छैन, खेतमा सिँचाइ छैन, भ्रष्टाचारीहरूलाई कारबाही छैन र यो सब भन्न जाँदा कतै कुनै सुनुवाइ छैन देश यसरी कसरी चल्छ ? यसको सुधार गर्नुपर्छ।’ झाका भाषण नौलो र आकर्षक भए पनि पुराना दलभन्दा खासै फरक नरहेको मतदाताहरू बताउँछन्।
‘संसदीय व्यवस्थाको गलत व्याख्या हामी समक्ष भएको छ। सांसदले निति बनाउने हो बाटो बनाउने होइन्। हामी बाटो, अस्पताल, ढल र विद्यालय भवन बनाउँछौं। ६ लेनको सडक बनाइदिएका छौं जस्ता बठ्याइँ कुरा उम्मेदवारहरूले गर्नुनै मुर्खता हो,’ जेन–जी युवा दिवाकर उप्रेती भन्छन्, ‘दलहरूको घोषणापत्र जतिसुकै पृष्ठका लामा–लामा आए पनि तिनीहरू घोषणामा मात्रै सीमित हुन्छन् किनभने उहाँहरूमा नीति निर्माणमा ध्यान नदिएर खोक्रा भाषण र झुटा आश्वासनमा सीमित हुने पुरानै रोग छ।’
धनुषा–३ का होटल व्यावसायी विजय झुनझुनवालाले जनताका मूल मुद्दा नेताहरूले उठाउनै नसकेको बताए। ‘कृषकलाई मल चाहिएको छ। युवालाई स्वरोजगार चाहिएको छ,’ उनले भने, ‘व्यवसाय गर्ने व्यावसायीलाई अड्चन बिनाको नीति चाहिएको छ। नीतिमा स्पष्टता चाहिएको छ। नेताहरूले त्यस्ता एजेन्डा ल्याउनै सकेका छैनन्। अहिले पनि हामीले त्यस्ता विषय नेताहरूले उठाउन सकेका छैनन्। खासमा विकास भनेकै त्यही हो।’
चुनावी एजेन्डा पनि बन्दैन जानकी मन्दिर
जानकी मन्दिर जनकपुरको मात्र नभई सिंगो नेपाल र भारतको पनि मुख्य धार्मिक आस्थाको केन्द्र हो। १ सय १५ वर्ष पुरानो मन्दिर पटक–पटक जीर्णोद्धार हुँदै आएको छ। जीर्णोद्धारका लागि पनि ठूलै रकम चाहिने भएकाले सरकारी बजेटकै अपेक्षा मन्दिर व्यवस्थापन समितिले राखिरहेको हुन्छ। तर, सिंगो मधेसको द्वारको रूपमा रहेको जानकी मन्दिर भने राजनीतिक दलहरूका एजेन्डाभित्र कहिले पनि पर्ने गरेको छैन।
मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास नेताहरूले चाहने हो भने जनकपुरलाई सीता सर्किट बनाएर पर्यटक भित्र्याउन सकिने बताउँछन्। ‘जस्तो भारतले रामायण सर्किट बनाएर नेपालको जनकपुरदेखि श्रीलंकासम्म समेटेको छ। नेपालले पनि भारतका विभिन्न स्थानलगायत सीता सर्किटमा जोड्न सक्छ,’ उनले भने, ‘तर यसमा नेपालका राजनीति दलले यो विषयलाई राष्ट्रिय एजेन्डा बनाउनै चाहँदैनन्।’
हाल नेपाल आउने धार्मिक पर्यटक नयाँ दिल्लीबाट सिधैं पशुपति आउने गरे पनि जनकपुरमा ल्याउन नसकिएको उनले बताए। ‘उहाँहरूलाई १ दिन पनि यहाँ ल्याएर घुमाउने हामी सँग एजेन्डा नै छैन,’ महन्थ दास भन्छन्, ‘यसमा राजनीतिक दलहरूले चासो दिनुपर्छ। नेपालको लागि धार्मिक पर्यटक भित्र्याउनुनै सहजको विषय हो। तर, यही विषयनै सबैको अपहेलनामा पर्दै आएको छ।’
कांग्रेसका सभापति गगनकुमार थापाले फागुन ६ गते बुधबार भएको कांग्रेसको प्रतिज्ञा सभामा राजा जनकले सीताको विवाहका लागि लिएको प्रतिज्ञा र भगवान रामले धनुष उठाएर गरेको विजयलाई स्मरण गर्दै कांग्रेसको आगामी यात्रा प्रतिज्ञामा आधारित हुने प्रतिज्ञा जनकपुरमा गरेका थिए। यो शक्तिको विजय मात्र होइन, यो प्रतिज्ञाको विजय हो, आज म जे बोल्दै छु, यो प्रतिज्ञा हो,’ थापाले भनेका थिए, ‘सरकारमा हुँदा होस् वा सडकमा, कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्ने छैन। जसरी राजा जनकले सीताको विवाहको लागि प्रतिज्ञा लिनुभएको थियो।’ त्यसो त नेपाली कांग्रेसले पनि जनकपुरका अन्य विकासका एजेन्डा समेटे पनि जानकी मन्दिरलाई भने कतै समेटेको छैन। तर, मौखिक रूपमै भए पनि थापाले जनकपुरलाई धार्मिक हब सँगै खेलकुद, र ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेस झरेको उल्लेख गरेका थिए।
- प्राचीन मिथिलाको राजधानी जनकपुर धार्मिक र सांस्कृतिक सहर भएकाले धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको छ। वर्षमा १ करोड बढी धार्मिक पर्यटन भित्र्याउने नेताहरूले सपना पनि बाँड्ने गरेका छन्। तर, त्यसका लागि न संरचना निर्माणमा ध्यान दिन्छन्, न त नीतिगत निर्णयमा नै पहल गर्छन्।
- प्रमुख राजनीतिक दलहरूको घोषणापत्र विगतका जस्तै आश्वासनका पोकाले भरिएका छन्। शाब्दिक रूपमा केही फेरबदल भए पनि पुरानै वाचाहरू फेरि दोहोरिएका छन्।
- यहाँ जुन नेता जितेर गए आफ्नो विकास मात्रै हेरे। कताबाट कमिसन आउँछ त्यहीँ काम गराए। जनकपुरको विकासका लागि र यहाँको सबैभन्दा प्रमुख समस्या फोहोर व्यवस्थापनका लागि केही गरेनन्।
- जस्तो भारतले रामायण सर्किट बनाएर नेपालको जनकपुरदेखि श्रीलंकासम्म समेटेको छ। नेपालले पनि भारतका विभिन्न स्थानलगायत सीता सर्किटमा जोड्न सक्छ। तर यसमा नेपालका राजनीति दलले यो विषयलाई राष्ट्रिय एजेन्डा बनाउनै चाहँदैनन्।
- रास्वपा वरिष्ठ नेता बालेनले १ करोड पर्यटक जानकी मन्दिरमा भित्र्याउन सकिन्छ भनेर सार्वजनिक आश्वासन दिए तापनि १ करोड पर्यटक कसरी भित्र्याउन सकिन्छ? दीर्घकालीन ठोस एजेन्डा भने उनीसँग पनि छैन।
जसले जिते, उनैले बिर्से
धनुषा–३ मा मुखियापट्टी मुसहरनिया, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, विदेह नगरपालिकाका–९ र जनकपुर उपमहानगरपालिकाका वडा नम्बर १ देखि ८ सम्म तथा वडा नम्बर १०, १२, १५, १६ र २० सम्म र वडा नम्बर २३, २४ र २५ समावेश छन्।
निर्वाचन आयोगका अनुसार यहाँ मतदाता संख्या एक लाख २५ हजार ९२७ छ। १५५ मतदान केन्द्र तोकिएका छन्। २०७९ को निर्वाचनमा धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो विजयी भएकी थिइन्। महतोले ३३ हजार ३८८ मत प्राप्त गरेर विजयी भएकी थिइन्। त्यस्तै दोस्रो भएका लोसपाका अनिल कुमार झाले २३ हजार ६८६ मत प्राप्त गरेका थिए भने जनमत पार्टीका शम्भु नाथ शाहले ७ हजार ३७४ मत पाएका थिए।
त्यसैगरी २०७९ को समानुपातिकतर्फ धनुषा ३ मा नेपाली कांग्रेसले सबैभन्दा बढी २५ हजार १९५ मत प्राप्त गरेको थियो। यसपटक धनुषा ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर ४५ जना उम्मेदवार चुनावी मैदानमा छन्। यो चुनावमा भने हाइप्रोफाइल नेताहरूको भिडन्त रहेको छ। अघिल्लो पटक समानुपातिक सांसद रहेका कांग्रेसका विमलेन्द्र निधि पनि उम्मेदवार बनेका छन्। त्यस्तै एमालेले यस पटक पनि जुली कुमारी महतोलाई उम्मेदवार बनाएको छ।
त्यस्तै यसअघि समानुपतिक सांसद रहेका रास्वपा प्रवक्ता मनिष झा यस क्षेत्रबाट उम्मेदवार बनेका छन्। त्यस्तै नेकपाले यस क्षेत्रमा राम ललित मण्डललाई उम्मेदवार बनाएको छ भने जनमत पार्टीले गोपाल प्रसाद शाहलाई उम्मेदवार बनाएको छ। त्यसैगरी जसपा नेपालले परमेश्वर साह सुडीलाई मैदानमा उतारेको छ।
निधि, झा र महतो जस्ता नेताहरूको उम्मेदवारीले यस क्षेत्रलाई निकै रोचक बनाएको छ। यसपटक गत निर्वाचनको भन्दा समीकरण बदलिएको छ। यस क्षेत्रका मतदातासँग कुरा गर्दा उनीहरू ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन्। उनीहरूले कसलाई मत दिने भन्ने निर्णय लिइ नसकेको अन्नपूर्णसँग बताएका छन। स्थानीय लक्ष्मी भण्डारी भन्छिन्, ‘सबैलाई हेरियो। सबैलाई हेरियो भन्दैमा नयाँलाई आखाँ चिम्लिएर मत हाल्न सकिदैन हेर्नु।
हामी सँगै हाम्रा सन्तानको भविष्य पनि जोडिएको छ। जो सँग जनकपुर सँगै संसद्मा गएर जनकपुरको हितका निमित्त बोल्न सक्ने एजेन्डा अगाडि सार्न सक्ने, बजेट पारेर आपूmले घोषणा गरेका काम गर्न सक्ने क्षमता छ। उसैलाई भोट दिने हो।’ केही मतदाता परिवर्तनको पक्षमा देखिएका छन् भने वर्षौंदेखि स्थानीय रूपमा सहयोग गरिरहेका नेताहरूलाई एकै पटक छोड्दा पछि परेको बेला सहयोग पाइन्छ या पाइदैन भन्ने डर पनि मतदातामा यदाकदा भने देखिन्छ। कोही भने नितान्त मत र व्यक्ति परिवर्तकै पक्षमा छन्। यसरी अहिलेसम्मको अवस्था हेर्दा यस क्षेत्रमा एमाले, कांग्रेस र रास्वपाबीच नै प्रमुख प्रतिष्पर्धा हुने देखिन्छ।
१ करोड पर्यटक कसरी भित्र्याउने ?
गत माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले जनकपुर आमसभामा पुगेर रामजानकी मन्दिरको विषयमा भाषण गरे। उनले भने, ‘विश्वकै सबैभन्दा प्रसिद्ध जोडी रामजानकीको विवाह स्थलमा विवाह हुन्छ, तर आज हामी मधेसी र नेपालीहरू ‘डेस्टिनेसन वेडिङ’ विवाह उत्सवका लागि जयपुर जान्छौं। जहाँ स्वयं रामचन्द्रको विवाह भयो, त्यो मिथिलालाई छोडेर हामी बालीमा जान्छौँ ? किन यहाँ डेस्टिनेशन वेडिङ हुँदैन ? यो सरकारको कस्तो नीति हो ? मिथिलाको व्यवस्थापन, सरसफाइ र आकर्षण किन बढाइँदैन ? यो कुन नीति हो ?’ जनकपुर आएर मौखिक भाषण सार्वजनिक समारोहमा गरे तापनि उनै बालेन्द्र शाहको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भने घोषणापत्रमा जानकी मन्दिरको स्तरोन्नतिको विषय समेटेको छैन।
बालेनले १ करोड पर्यटक जानकी मन्दिरमा भित्र्याउन सकिन्छ भनेर सार्वजनिक आश्वासन दिए तापनि १ करोड पर्यटक कसरी भित्र्याउन सकिन्छ ? दीर्घकालीन ठोस एजेन्डा भने उनीसँग छैन। यद्यपि शाहले भनेको सानो अंश अर्को पनि छ, आज मिथिला र जनकपुरका पोखरी, मन्दिर र पाटीपौवाहरू कसैले आएर संरक्षण गरिदेला कि भनेर पर्खेर बसेका छन्। मिथिलाको यो पावन भूमिमा एउटा कुरा भन्न चाहन्छु— पूरा देशमा वार्षिक जम्मा १० लाख पर्यटक आउँछन्। तर, भारतको अयोध्यामा वर्षमा १० करोड पर्यटक पुग्छन्। जानकी मातासँग एक्लै १ करोड पर्यटक तान्ने क्षमता छ।’
नेकपा एमालेकी धनुषा क्षेत्र नम्बर ३ की उम्मेदवार जुली महतोले सीताको जन्मभूमि भएको हुनाले महिला सम्मान र सशक्तीकरणका विषय जोड्दै आएकी छन्। तर, जानकी मन्दिरका विषयमा भने उनका पनि ठोस एजेन्डा छैनन्।
प्रतिक्रिया दिनुहोस !