गुप्ता र झाको ‘घेराबन्दी’मा पूर्वप्रधानमन्त्री नेपाल
रौतहट : रौतहट क्षेत्र नम्बर १ मा निर्वाचनको वातावरण रोचक बन्दै भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कांग्रेस उम्मेदवार पूर्वमन्त्री अनिल झा र एमाले उम्मेदवार पूर्वमेयर अजय गुप्ताले चुनावी ‘घेराबन्दी’ गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक नेपाल र एमालेका गुप्ता र सद्भावना छाडेर कांग्रेसका उम्मेदवार बनेका अनिल झाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
एमालेका उम्मेदवार अजय गुप्ता गौर नगरपालिकाका पूर्वमेयर हुन्। विगतका निर्वाचनमा माधवकुमार नेपालसँग दुईपटक झिनो मतले पराजित भए पनि जनताबाट टाढा नहटेर निरन्तर संघर्षमा रहेको कारण यसपटक मतदाताको भरोसा गुप्तामाथि देखिएको छ।
नेपाल निर्वाचित भएर देशको प्रधानमन्त्री बन्दासमेत आज पनि रौतहटको अवस्था विकासको नाममा निराशा,बेरोजगारी र उपेक्षामै सीमित भएको भन्दै गुप्ताले चुनावी एजेन्डा बनाएका छन्। विगतमा भएका ससाना र छरपस्ट विकासका कामलाई मात्रै घिसार्दै चुनावी मैदानमा उत्रिनु माधव नेपालको राजनीतिक दिवालियापन भएको उनको टिप्पणी छ।
नेपालको नाम जोडिएको पतञ्जली जग्गा प्रकरणको भ्रष्टाचार आरोपलाई पनि विपक्षीले चुनावी एजेन्डा बनाएका छन्। पछिल्लो चुनावमै ‘अन्तिम पटक’भन्दै मत मागेका नेपालका लागि उही घोषण भारी परेको छ।
२०५६,२०७० र २०७९ मा यस क्षेत्रबाट विजयी नेता नेपाल २०६४ मा नेकपा माओवादका उम्मेदवार देवेन्द्रप्रसाद पटेलसँग रौतहटकै क्षेत्र नम्बर ६ मा पराजित भएका थिए। २०७९ मा कांग्रेस–माओवादी गठबन्धनको समर्थनमा ३३ हजार ५ सय २२ मत ल्याएर विजयी भएका नेता नेपाल यसपटक गठबन्धनविहीन प्रतिस्पर्धामा छन्। उनलाई एमाले र कांग्रेससहित जसपा नेपालका योगेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरीले टक्कर दिएका छन्।
मधेस केन्द्रित दलबाट राजनीतिमा नेकपा एमालेका अजय गुप्ता २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट तत्कालीन नेकपा एमालेका उम्मेदवार नेपालसँग ३ सय ३८ मत अन्तरले पराजित भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी भने २०७४ मा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट र ०७९ मा पनि नेपाली कांग्रेसबाट प्रदेशमै टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराई चुनाव लड्दा पराजय भोगेका थिए।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार अनिल झा पुनः आफ्नै पुरानो क्षेत्र रौतहट १ मा चुनाव लड्दै छन्। २०६४ को पहिलो संविधानसभामा झा समानुपातिक निर्वाचन प्रणालीमार्फत संविधानसभा सदस्य चयन भएका थिए।
२०७४ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टी रौतहट क्षेत्र नम्बर १ बाट २१ हजार ४ सय ७२ मत ल्याएर नेता झा विजयी भएका थिए। अनिल झाले २०७९ मा नेपाली कांग्रेसले पाएको मत र आफू लोसपामा हुँदाको मतको जोडनै विजयी हुने आधार रहेको बताउँछन्।
उम्मेदवारहरूले घरदैलो,कोणसभा र आमसभामार्फत मतदातालाई आकर्षित गर्ने प्रयास जारी राखेका छन् भने विशेषगरी रोजगारी, कृषि,सडक पूर्वाधार,शिक्षा स्वास्थ्यलाई नै विकासको मुख्य चुनावी एजेन्डाका रूपमा मतदाताहरू माझ उम्मेदवारहरूले पु¥याइरहेका छन्। मधेसी समुदायको मतदाताको बाहुल्य रहेको यो क्षेत्रमा रोचक भिडन्त छ भने कसले बाजी मार्छन् भन्ने आंकलन गर्न कठिन छ।
प्रतिक्रिया दिनुहोस !