दाङमा अनुसन्धानात्मक राष्ट्रिय सम्मेलन हुने
दाङ : दाङको तुलसीपुरमा अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन हुने भएको छ। दाङको शैक्षिकस्तरलाई अनुसन्धानमुखी बनाउन राप्ती बबई क्याम्पस तुलसीपुरले आगामी चैत ६ र ७ गते अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन गर्ने भएको हो।
राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धेले दाङ र आसपासमा अनुसन्धानको क्षेत्रमा ठूलो उपलब्धि हुन नसकिरहेको अवस्थामा क्याम्पसले दुई दिनसम्म अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन गर्न लागेको बताए। सम्मेलनमा काठमाडौं, पोखरा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूका साथै अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय र भारतका प्रतिष्ठित प्राज्ञिक वक्ताहरूको सहभागिता रहनेछ।
अनुसन्धानमूलक सम्मेलनले आगामी दिनमा अनुसन्धानको क्षेत्रमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ। क्याम्पसका उपप्राध्यापक तथा सम्मेलनका सह-संयोजक सूर्यप्रसाद शर्माले एमफिल र पिएचडी गर्न चाहने तथा अध्ययनबाहेक अनुसन्धानात्मक लेख लेख्ने व्यक्तिहरुका लागि यस सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले शिक्षा प्रणालीमा नवपर्वतन, वर्तमान शैक्षिक विधिहरुमा नयाँपन र सुधारका लागि क्याम्पसले प्रथम अनुसन्धानमूलक राष्ट्रिय सम्मेलन गर्न लागेको बताए। सम्मेलनमा १ सय बढी सहभागी हुनेछन्। शिक्षा, विज्ञान र प्रविधि, नेपाली र अंग्रेजी भाषा लगायतका क्षेत्रको अनुसन्धान हुने सम्मेलनमा विद्यालयमा पढाइरहेका शिक्षक, समाजका प्रमुख व्यक्ति, स्नातकोत्तर गरिरहेकाहरूका विद्यार्थी सहभागी हुन पाउनेछन्।
प्रतिक्रिया दिनुहोस !