उत्साह छैन, तर चुनावी नतिजा पर्खिरहेको चितवन
चितवन : आसन्न प्रतिनिधिसभा निर्वाचनको फेरि केन्द्रमा छ चितवन। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सञ्चारकर्मबाट बिदा हुँदै राजनीति सुरु गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अप्रत्यासित रूपमा यही जिल्ला रोजेपछि चर्चामा रहेको चितवन अहिले पनि उस्तै छ।
रास्वपाका लामिछाने, सोबिता गौतम र हरि ढकाल तथा नेपाली कम्युनिस्ट पार्टीका रेणु दाहाललागतयका ‘सेलिब्रेटी’ नेताहरूको उम्मेदवारीले जिल्लामा चुनावी चर्चा प्रसस्त भए पनि रौनक खासै छैन। राजनीतिक रूपमा जिल्ला चर्चामा रहे पनि मतदाताका सुख दुःख अलग छन्। निकुञ्जका जनावरको दुःख, सौराहामा पर्यटकको कमीजस्ता अनेकन विषयलाई चुनावले समेट्न सकेको छैन।
माडीको वन्यजन्तु आतंक
पद्म ढकाल त एक प्रतिनिधिमात्र हुन्, यस्तो गुनासो, पीडा र दुःखका पोको हरेक निर्वाचनमा खोलिन्छन्। राजनीतिक फोरम र बहसहरूमा यहाँका स्थानीयले आक्रोश पनि पोखिरहन्छन्। चितवन राष्ट्रिय निकुञ्जका कारण दुःख पाएको गुनासो गरिरहन्छन्। तर, ठोस समाधान अहिलेसम्म हुन सकेको छैन। त्यसको प्रमुख कारण हो, मध्यवर्तीसम्बन्धी कानुन। ‘हामीले आफूखुसी व्यवसाय गर्न पाउँदैनौं। चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराबाट अनुमति लिनुपर्छ। निकुञ्जको सिफारिसबिना अन्य कुनै पनि निकायले व्यवसाय दर्ताको प्रमाणपत्र नै दिँदैनन्’, ढकाल गुनासो गर्छन्, ‘कसराबाट वनकट्टा जाने सडक धुलाम्ये भएर हिँडिनसक्नु छ। निकुञ्जकै कारण सडक कालोपत्रे हुन सकेको छैन। धुलाम्मे सडकमा यात्रा गर्नुपर्छ।’
सामाजिक अभियन्ता विनोल ढकाल राष्ट्रिय निकुञ्जको केन्द्रीय नीतिका विषयमै केन्द्रित हुनुपर्ने बताउँछन्। ‘राष्ट्रिय निकुञ्जबाट बाटो लानुहुँदैन। बिजुली लानुहुँदैन भन्ने परम्परागत सोचका विषयमा हामी केन्द्रित हुनु जरुरी छ। यसका लागि केन्द्रीय नीति नै परिवर्तन गर्नु आवश्यक छ’, उनी भन्छन्, ‘सिंगो नगरवासीलाई हिँडडुल गर्न रोक्ने र बिजुली बाल्न रोकेर पशु अधिकारका कुरा गर्नु सान्दर्भिक देखिँदैन। त्यसैले अब निर्वाचित हुने सांसदले यस विषयमा विशेष ध्यान पुर्याउनु आवश्यक छ।’
छैन उत्साह
आँगनमै चुनाव आइसक्दा पनि आम मतदातामा भने उत्साह देखिँदैन। मतदातामा उत्साह नभएको मात्रै होइन, उम्मेदवारहरूले पनि मतदातालाई फकाउन सकेको देखिँदैन। तर, राजनीतिज्ञ एवं सामाजिक अभियन्ता विनोद ढकाल देशभरमै सबैभन्दा बढी चुनाव चितवनमा लागेको बताउँछन्। ‘चितवन अहिले सबैको केन्द्रमा छ। यस हिसाबले भन्ने हो भने सबैभन्दा धेरै चुनाव यहाँ लागेको छ, त्यो पनि क्षेत्र नम्बर २ मा। काम केही नगर्ने र सेलेब्रेटीका रूपमा गाडीमा बसेर हात हल्लाउँदै हिँड्ने त्यसलाई चुनाव प्रचार भएको भन्दै हल्ला फिजाउने काम भइरहेको छ’, उनी भन्छन्, ‘सेलिब्रेटी उम्मेदवारले न जनताका सुख दुःख बुझ्न सकेका छन्। न त अरू कुनै काम नै गरेका छैन। खाली हल्ला फैलाउने काम मात्रै भइरहेको छ। उनी यसपटक गठबन्धन नभएकाले सबैले आफ्नै संगठन र उम्मेदवारलाई भोट हाल्न पाउने बताउँछन्।
माडी नगरपालिका–५ का पदम ढकाल विगतमा जस्तो यसपटक चुनावी रौनक नदेखिएको बताउँछन्। ‘माडीले वर्षौंदेखि विभिन्न पीडा सहँदै आएको छ। राष्ट्रिय निकुञ्जका कारण गाउँमा पुग्ने बाटो पिच हुन सकेको छैन। बस्तीमा जनावरको आतंक छ’, उनी भन्छन्, ‘यस्तो अवस्थामा कसरी यहाँका स्थानीयमा चुनावको उत्साह हुन्छ ? चुनावका बेला उम्मेदवारहरू भोट माग्न गाउँबस्तीमा आउँछन्। चुनाव सकिएपछि कता हराउँछन्, हराउँछन् ?’
पदम ढकालको जस्तै धारणा छ, भरतपुर महानगरपालिका–१७ हरैयाकी केवली महतोको पनि। उनी नेताहरू भोट माग्न आउँदा विभिन्न आश्वासन दिए पनि चुनाव सकिएपछि कसैले मुख नै नदेखाउने बताउँछिन्। ‘अहिले उम्मेदवारहरू बिहान बेलुकै घरदैलोमा आउने गर्छन। विभिन्न आश्वासन बाँड्छन्’, उनी भन्छिन्, ‘चुनाव सकिएपछि कहाँ जान्छन्, कहाँ ? वर्षौंसम्म कसैको नाकमुख नै देखिँदैन।’ उनी चुनाव आयो भनेर रमाउनुको कुनै तुक नभएको बताउँदै आफ्नो दुःख आफूसँगै हुने बताउँछिन्। ‘चुनाव पहिले पनि आउँथ्यो, अहिले पनि आएको छ। यसमा हामी रमाउनुको कारण छैन’, उनी भन्छिन्, ‘नेताले चुनावमा गरेका बाचा विरलै पूरा गर्छन्। त्यसैले हामी चुनाव आयो भनेर हौसिनु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु हो। चुनाव सकेपछि नेताको पनि नाकमुख देखिँदैन।’
चुनाव प्रचार–प्रसारमा पनि कमी
मंगलबार र बुधबार अन्नपूर्णको टोली चितवनका तीनवटै निर्वाचन क्षेत्रका विभिन्न स्थानमा स्थलगत रिपोर्टिङ गरेको थियो। दिनभर घुम्दा पनि राजनीतिक दलको न र्याली देखियो न त आमसभा नै। छिटपुट रूपमा उम्मेदवारहरू घरदैलोमा पुग्नुबाहेक पहिलेजस्तो व्यापक चुनावी प्रचार–प्रसार भएको देखिएन। भरतपुर महानगरपालिका–१७ हरैयाका कृष्णप्रसाद अधिकारी पनि यसलाई स्वीकार्छन्। ‘पहिले पहिलेजस्तो चुनावी रौनक अहिले छैन। पहिले जताजतै पोस्ट्र टाँसिन्थ्यो भने बाटैभरि पर्चा छरिन्थ्यो। उम्मेदवारको तडकभडक पनि धेरै नै हुन्थ्यो’, उनी भन्छन्, ‘यस पटक पहिलेजस्तो प्रचारप्रसार नै भएको छैन। उम्मेदवारहरू पनि घरदैलोमा पुगेको खासै देखेको छैन।’
मतदातालाई छुन नसकेको प्रचार शैली
पछिल्लो समय निर्वाचन प्रचारको शैली फेरिएको छ। केही उम्मेदवारले मतदाताको घरघरमा पुगेर काम सघाउने गरेको देखिएको छ। ती फोटो र भिडियो पनि भाइरल भइरहेका छन्। यसबाहेक उम्मेदवारले आफ्नो प्रचार–प्रसार गर्ने मुख्य माध्यम हो, सामाजिक सञ्जाल। तर, चितवनका दुर्गम स्थानका मात्रै होइन, महानगरपालिका भित्रकै मतदातालाई सामाजिक सञ्जालको विषयमा थाहा छैन।
भरतपुर महानगरपालिका–१७ हरैयाकी केवली महतो आफूलाई सामाजिक सञ्जालका विषयमा थाहा नै नभएको बताउँछिन्। ‘बुढासँग त मोबाइल छ। मसँग त त्यो पनि छैन। बिहानैदेखि घरको काम गर्नुपर्छ। मोबाइल चलाउने फुर्सद कहिले पाउनु’, उनी भन्छिन्, ‘मोबाइल नै नभएको मान्छेलाई त्यतातिर (सामाजिक सञ्जाल)को कुरा के थाहा हुनु ?’ महतोकै कुरालाई मान्ने हो भने उम्मेदवारले सामाजिक सञ्जालमा गरेको प्रचारप्रसार आम मतदातासम्म पुग्न सकेको छैन। कृष्णप्रसाद अधिकारी पनि उम्मेदवारको प्रचार–प्रसारको शैली फेरिएको स्वीकार गर्छन्। ‘पहिलेजस्तो प्रचार–प्रसार नै छैन। धेरैजसो घरदैलो कार्यक्रम पनि सहरबजारमा केन्द्रित छ। गाउँगाउँमा त उम्मेदवार नै आउँदैनन्’, उनी भन्छन्, ‘सायद चुनावको प्रचार गर्ने शैली फेरिएर पनि यस्तो भएको होला।’
भरतपुर–१९ का माधव पौडेलको अनुभव पनि पहिलेको निर्वाचनभन्दा यसपटक फरक छ। भड्किलो प्रचारशैली र तडकभडककै भरमा भोट हाल्ने पुरानो परम्परा र शैली फेरिएको उनी बताउँछन्। ‘भोट कसलाई हाल्ने भन्ने मनस्थिति सबैले बनाइसकेका छन्। त्यही कारण पनि बाहिरी तडकभडकको असर मतदातालाई नपरेको हुनसक्छ’, उनी भन्छन्, ‘पहिलेभन्दा अहिले मतदाता पनि सचेत छन्।’ उनी पहिलेजस्तो भिडभाड देखाउने र होहल्ला गर्ने अवस्था अहिले नरहेको बताउँछन्।
अहिलेको युद्ध नै सामाजिक सञ्जालको युद्ध रहेकाले पछिल्लो समय यसको दुरुपयोग ब्यापक भइरहेको अभियन्ता विनोद ढकाल बताउँछन्। ‘केही वर्ष पहिले माओवादीले सशस्त्र युद्ध चलाएको थियो। अहिले सामाजिक सञ्जालको युद्ध भइरहेको छ। यति धेरै फेक समाचार र प्रचार–प्रसार भइरहेका छन कि सामाजिक सञ्जालको सदुपयोगभन्दा पनि दुरुपयोग भइरहेको छ। यसलाई नियन्त्रण गर्न जरुरी
छ’, उनी भन्छन्।
यसैगरी कालिका नगरपालिका–६ खोलेसिमलका पुरुषोत्तम कँडेल पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेको बताउँदै यसलाई सही रुपमा सदुपयोग गर्नु जरुरी भएको बताउँछन्। ‘अहिलेको निर्वाचन वैचारिकभन्दा पनि लहरका रुपमा भइरहेको छ। सरसर्ती हेर्ने हो भने सामाजिक सञ्जालले डोहोर्याइरहेको देखिन्छ। सबै अल्गोरिदमको पछिपछि लागेका छन्’, कँडेल भन्छन्।
सहरबजारका व्यवसायीमा भने उत्साह
चुनावी प्रचारका कार्यक्रम गाउँगाउँमा पुग्न नसके पनि सहरबजारमा भने यसको रौनक भिन्नै छ। साँझ÷बिहानै उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त हुने गरेका छन् भने बजार क्षेत्रमा मानिसको चलपहल बढ्नुका साथ व्यापार व्यवसाय पनि फस्टाएको व्यवसायीहरू बताउँछन्। ‘चुनाव नजिकिएसँगै सहरबजारमा मानिसको चहलपहल बढेको छ। उनीहरूमा उत्साह पनि बढेको देखिन्छ। व्यापारमा पनि धेरै नै सुधार आएको छ’, विगत ४५ वर्षदेखि नारायणगढको सहिद चोकमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका गोविन्दप्रसाद तिवारी भन्छन्। उनी केही समय अघिसम्म यहाँका व्यवसायीहरू विस्थापित हुनुपर्ने अवस्था रहेकोमा चुनावी गतिविधि बढेसँगै व्यवसायमा पनि सुधार आएको बताउँछन्। ‘चुनावी गतिविधि बढेसँगै व्यापारमा पनि धेरै नै सुधार आएको छ। मानिसहरूको जमघट पनि बढेको छ’, तिवारी भन्छन्।
रत्ननगर नगरपालिका–६ का रामकुमार अर्याल भने चुनावले व्यवसायमा प्रभाव पारेको बताउँछन्। चुनावका कारण चितवनमा पर्यटन आगमनमा निकै कमी आएको बताउँछन्। ‘सबै जनता चुनावमा केन्द्रित भएका कारण पर्यटकको संख्या कमै हुन्छ। सबैजना आफ्नै गाउँठाउँमा हुन्छन्। घुम्न खासै ननिस्किने भएकाले पनि होटल व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ’, उनी भन्छन्। उनी चितवनलाई समृद्ध बनाउन पर्यटनका विषयमा दीर्घकालीन नीति रहेको बताउँदै सबै दलका उम्मेदवारलाई यही कुरा भन्दै आएको बताउँछन्।
सडक फराकिलो हुनु मात्रै विकास होइन !
पछिल्लो समय भरतपुर महानगरपालिकाका अधिकांश क्षेत्रमा सडक सुविधा पुगेको छ। सहरी र बजार क्षेत्रमा मात्रै होइन, भित्रि बाटो पनि पिच छ। तर, यहाँका स्थानीयहरू भने सडक फराकिलो र चिल्लो हुनु मात्रै विकास नहुने बताउँछन्। ‘सडक पराकिलो हुनु मात्रै विकास होइन। विकास हुनका लागि यहाँका मानिसले गरिखान पाउनुपर्यो। अर्थात् उद्योगधन्दा खुल्नुपर्यो।
रोजगारी बढ्नुपर्यो। अनि पो विकासले सार्थकता पाउँछ’, व्यवसायी तिवारी भन्छन्, ‘मानिसले काम गरेर कमाउन सक्यो भने न बाटोको काम लाग्छ। मानिसले आम्दानी गर्ने वातावरण भएन भने बाटो भएर मात्रै केही हुँदैन। सबैभन्दा पहिले यहाँका जनतालाई आयस्रोतको व्यवस्था बनाउनु आवश्यक छ।’ आफ्नै ठाउँमा रोजगारीको व्यवस्था भए मात्रै फराकिलो बाटो र विकासले सार्थकता पाउने उनी बताउँछन्।
सामाजिक अभियन्ता विनोद ढकाल बाटोघाटोलगायतका पूर्वाधारको विकास भइसकेको बताउँदै जिल्लालाई आर्थिक रूपमा सम्पन्न बनाउनका लागि लाग्नुपर्ने आवश्यकता रहेको औंल्याउँछन्। ‘चितवनमा विकासका काम भइसकेका छन्। अब आर्थिक रूपमा सम्पन्न हुनका लागि के–के काम गर्नुपर्ने हो, त्यो काम हुनुपर्छ। अब जितेर जाने सबै सांसदले यसलाई मुख्य एजेन्डा बनाउनु आवश्यक छ’, उनी भन्छन्।
७८औं जिल्ला, ढुक्क छैनन् उम्मेदवार
तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनलाई ७८औं जिल्ला पनि भनिन्छ। विभिन्न पहाडी, हिमाली र तराईका जिल्लाबाट बसाइँ सरेर आएकाले पनि चितवनलाई ७८औं जिल्ला भनिने सामाजिक अभियन्ता विनोद ढकाल
बताउँछन्। ‘चितवनमा एउटै भूगोलका मानिसहरू छैनन्। पहाडी, हिमाली तथा मधेसका जिल्लाबाट समेत बसाइँ सरेर चितवनलाई बासस्थान बनाएका छन्। त्यही कारण पनि यसलाई ७८औं जिल्ला भनिन्छ’, राजनीतिमा पनि सक्रिय ढकाल भन्छन्, ‘विकासका हिसाबले चितवन सम्पन्न छ। बसोबासका रुपमा हेर्ने हो भने काठमाडौं पोखराभन्दा सस्तो छ। तराई, पहाड र हिमालका मानिस अटाउन सक्ने भएकैले चितवनलाई ७८औं जिल्ला भनिएको हो।’
सबै क्षेत्रका बासिन्दा भएको र भिन्नभिन्न सोच बोकेका व्यक्तिहरू भएका कारण त्यसलाई मिलाउनचाहिँ केही कठिन रहेको उनी बताउँछन्। ‘जातीयता, भौगोलिक र धार्मिक रूपमा भिन्नभिन्न समुदाय रहेकाले सबैलाई एकै ठाउँमा मिलाउन भने कठिन छ’ उनी भन्छन्, सामुदायिक रूपमा कसैको पनि पक्कड छैन। तर, केही भाइब्स भने आएको देखिन्छ।’ भिन्न विचार, भिन्न परिवेश र भिन्न सोच बोकेका व्यक्तिहरूको जमघटको स्थल चितवन भएकाले जोसुकै उम्मेदवार पनि जितका लागि ढुक्क नरहेको उनको विश्लेषण छ। ‘अन्यत्रजस्तो पकेट क्षेत्र यहाँ कसैको पनि छैन। त्यसैले कोही पनि उम्मेदवार जितका लागि ढुक्क छैनन्। सबैले मतदातालाई फकाउनु पर्ने अवस्था छ’, उनी भन्छन्।
प्रतिक्रिया दिनुहोस !